बुधबार, २१ जेठ २०८२

ओलीकै शैलीमा प्रचण्डलाई अछाममा स्वागत, भीम रावल प्रति सहानुभूति, वाम एकताको उद्घोष

धनगढी : यतिबेला नेकपा माओवादी केन्द्र मध्यपहाडी लोकमार्ग केन्द्रीत जनजागरण अभियानमा जुटेको छ । बैतडीको पाटनबाट सुरु गरेको अभियानको दोस्रो दिन प्रचण्ड नेतृत्वको माओवादी नेताहरुको अभियान टोली अछाम पुगेको छ । हुलाकी राजमार्ग केन्द्रीत अभियानबाट हौसियतका प्रचण्डले यो अभियानको दोस्रोदिन आइपुग्दा पनि तामझाम सहीतको भव्य स्वागत र समर्थन पाइरहेका छन् । 

प्रचण्ड अछाम पुग्दा नेता कार्यकर्ताबाट कुनै स्वागत सत्कारमा कमिदेखिएन् । जनताको समर्थन र सहभागि पनि सोचेभन्दा राम्रो देखियो । माओवादीले थालेको यो अभियान र प्रचण्डको यो उत्साह जनक यात्राले गएको वर्ष नेकपा एमालेले थालेको समृद्धिका लागि संकल्प यात्रा सम्झाइदिएको छ । 

एमालेले अभियान थाल्दा प्रचण्ड प्रधानमन्त्री थिए । केपीशर्मा ओली प्रतिपक्ष दलको नेता । प्रचण्डले अभियान थाल्दा ओली प्रधानमन्त्री छन् । प्रचण्ड प्रमुख प्रतिपक्ष दलको नेता । अभियान र यात्रा, अनि उत्साह र सहभागिको संयोग नै देखिन्छ । जुन शैलीमा ओलीले यात्राको सुभारम्भ गरेका थिए ।

प्रचण्डले पनि त्यही शैली अपनाए । भलै ओलीले नेपाल भारत सीमा झुलाघाटबाट सुभारम्भ गरे, प्रचण्डले सीमा जोडिएकै जिल्ला बैतडीको पाटनबाट । 
शैली एउटै देखियो । माओवादीले एमालेकै फोटोकपी नै अपनायो । एमालेले अछाम पुग्न तीन दिन लगाएको थियो । माओवादी दुई दिनमै अछाम पुग्यो । तर अछाम पुग्दा प्रचण्डलाई स्वागत र सत्कार ओलीकै शैलीमा गरे । ओली अछाम सीमा नाका चौखुट्टे पुग्दा सिंगो अछामको सँस्कृति र मौलिकता झल्किने गरि स्वागत गरिएको थियो । 

प्रचण्डलाई पनि त्यही शैलीले नेता कार्यकर्ताले स्वागत गरे । ओलीको यात्रामा तत्कालिन सहयोद्धा भीम रावल थिएनन्, जुन कुराले एमालेको यात्रामा अछाम पुग्दा अवरोध हुने अनुमान थियो । तरपनि विरामी शैयाबाट अक्सीजन सिलिण्डर सहीत विरामी ओलीलाई हेर्न र उनको भाषण गर्न कार्यक्रम स्थल पुगेका थिए । 

प्रचण्ड पुग्दापनि त्यही दृश्य नदोहोरिएपनि सहभागि र स्वागत सत्कारमा कतै कमि देखिएन् । प्रचण्डको अनुहारमा बैतडी, डडेल्धुरा र डोटीको भन्दा बढी उत्साह र खुसी देखियो । साँफे र मंगलसेनको कार्यक्रमलाई संवोधन गरे । प्रचण्डले प्रतिष्ठीत व्यापारी स्वर्गिय खेम बहादुर कुँवरको मृत्यु संस्कारमा समेत पुग्न भ्याए । ओलीले पनि पुराना एमाले नेतासँगको भेटघाट देखि, बैजनाथ धामको अवलोकन र अध्ययन गर्न भ्याएका थिए । 

डडेल्धुरा पुग्दा देउवालाई ओलीले पनि सम्झे, प्रचण्डले पनि याद गरे । देउवाले दुबैलाई फोनबाटै स्वागत गरे । फरक यत्ती देखियो अछाम पुग्दा ओलीले सहयोद्धा भीम रावलको नाम लिएनन्, तर प्रचण्डले फोन गरेर सम्झीए । सम्झना मात्रै गरेनन्, माओवादीकै यात्रा र अभियानमा साथ दिन र जोडिन समेत अपिल गरे । 

नेकपा कालिन समयमा भीम रावलको विरुद्धमा लाग्दा प्रचण्डको समर्थनमा जस्तो थिए । प्रचण्डकै इशारामा रावललाई असयोग गरेको आरोप लाग्ने गरेको छ । अछाम पुगेर रावल प्रति देखाएको सहानुभूति र बिशेष संवोधनले त्यो आरोप झुटो हो, भन्ने सक्ने अवस्था छैन् । 

रावल हाल एमालेबाट निष्कासित छन् । ५१ वर्ष एमालेमै राजनीतिक जीवन बिताएका रावल मातृभूमि जागरण अभियानको अगुवाई गरिरहेका छन् । जनतासँग जोडिने र जनताको सवाल र समस्यालाई बुझ्ने गरि माओवादीले जनजागरण अभियान थालेको बताएको छ । 

सरकार तिर ध्यान नदिने र जनतासँग जोडिने अभियानमा आफूहरु सक्रिय रहेको अभिव्यक्ति प्रचण्डले दिइरहेका छन् । सरकार गिराउने र बनाउने खेलमा माओवादी छैन्, हामी जनतातिर जोडिन, आफ्ना कुरा भन्न, र जनताका कुरा सुन्ने अभियानमा माओवादी केन्द्रीत भएको अभियान सुरुवाद गर्दै प्रचण्डले भनेका थिए । बैतडीको पाटनबाट सुरु गरिएको अभियान खोलुखुम्बुको सोलुमा गएर समापन गरिने छ । 

अछाममा माओवादी अभियानलाई मौलिक पहिरन, बञ्चे बाजा, स्थानीय पोशाक र सँस्कृतिले भव्य स्वागत गरिएको छ । माओवादी प्रति समर्थन बढेको संकेतको रुपमा अछामको स्वागत र सहभागितालाई लिन सकिने स्थानीय पत्रकार तपेन्द्र कुँवरले बताए । सबै माओवादी थिएनन्, समाजवादी, मातृभूमि अभियान र धेरैजसो काँग्रेसपनि सहभागि थिए, तर त्यो उत्साहले माओवादी प्रतिको समर्थन बढ्दो क्रममा देखिएको कुँवरको दाबी छ । 

भीम रावललाई माओवादी केन्द्रसँग सहकार्य गर्न आग्रह 

अछाम पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रसँग सहकार्य गर्न भीम रावललाई आग्रह गरेका छन् । अछामको साँफेबगरमा पुगेर प्रचण्डले माओवादीसँग सहकार्य गर्न आग्रह गरेका हुन् । साँफेबगर रावलको गृह पालिका हो । 

‘कार्यक्रममा आउँदै गर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखेँ, उहाँसँग हिजो मात्र फोनमा कुरा भएको थियो । उनले भने–उहाँले कार्यक्रम सफलताको शुभकामना दिनुभयो । मैले तपाई किन अरु ठाउँ भौतारिरहनु भएको छ । आउनुस् हामी बसेर कुरा गरौं, सहकार्य गरौं भने । जोसँग कुरा गर्नुपर्ने त्योसँग नगरेर को कोसँग कुरा गरे समय खेर फाल्दै हुनुहुन्छ भनेको छु ।’ 

उनले अछामको सेती राजमार्ग, बुढीगंगा हाईडोपावर, बयालपाटा अस्पताललाई उचित बजेट विनियोजनका लागि पहल गर्ने बताए । माओवादी बलियो भयो भने समग्र राष्ट्र नै बलियो हुने भएकाले २०८४ मा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउन अपिल गरे । 

माओवादी जययुद्धका क्रममा आधार ईलाका मानिएको रामारोशन गाउँपालिकाका महिलाहरूले देउडा गीतमार्फत अछामको विकास र जनयुद्धका बेला घाइते शहिद परिवारलाई उचित व्यवस्थाको माग गरेका थिए । 

इमानदार कम्युनिष्ट शक्ति मिल्न उद्घोष 

प्रचण्डले अछाम सदरमुकाम मंगलसेनको सभालाई संवोधन गर्दै कम्यूनिष्ट एक ठाउँमा आउनु पर्नेमा जोड दिए । अछामको संवोधनको अंशलाई दोहोर्याएर प्रचण्डले राष्ट्रप्रेमी र इमानदार कम्युनिष्ट शक्तिहरूलाई एक ठाउँमा आउन आग्रह गरे । अछाम पुगेर भीमरावललाई नै लक्षित गरेर एकताका लागि गरिएको प्रचण्डको आग्रहलाई अर्थपूर्ण रुपमा बिश्लेषण गरिएको छ । 

प्रचण्डले भने “भीमजीसहित सबै इमानदार कम्युनिष्टहरू अब एक ठाउँमा जुट्नुपर्छ। भौतारिरहँदा केही फाइदा छैन । म संवादमार्फत पनि यो अपिल गर्न चाहन्छु ।” उनको यो अभिव्यक्ति मुलुकको बाम राजनीति फेरि एकपटक एकताबद्ध हुन सक्ने संकेतको रूपमा पनि हेरिएको छ ।

उनले अछाम पुगेर माओवादी युद्धको स्मरण गरे । अछामका स्थानीयले दिएको साथ र समर्थनलाई बिशेष सम्मान र सहयोगको रुपमा हेरेर बताए । हामी सबैको त्याग र बलिदानबाट यो अवस्थामा आएका छौं, उनले भने–अब सोचेजस्तो विकास गर्ने गरि ०८४ मा माओवादीले जित्नु पर्नेछ । जिताउने जिम्मा जनताको हो । 

प्रचण्ड सहीत उपाध्यक्ष नारायण काजी श्रेष्ठ, नन्दकिशोर पुन, अग्नी खरेल, महासचिव देवप्रसाद गुरुङ सहीतको सिंगो नेताहरुको टोली अभियानमा जोडिएको छ । प्रचण्ड सहीतको टोली अभियानको दोस्रो दिनको बास अछामकै विनायकमा बस्ने तय गरिएको छ । टोली डोटी बास बसेर अछाम आइपुगेको हो ।  

प्रतिक्रिया दिनुहोस