बाजुरा : चेतनदीप ऐडी स्मृति प्रतिष्ठानलाई सामाजिक सचेतना केन्द्रका रुपमा विकास गर्न नेताहरुले सुझाव दिएका छन् । प्रतिष्ठानको प्रथम बार्षिक साधारण सभामा बोल्ने बक्ताहरुले चेतनको आत्मा प्रतिको न्याय र व्यक्तित्व प्रतिको सम्मान गर्न सामाजिक सचेतना केन्द्रका रुपमा स्थापित गर्नु पर्ने सुझाव दिएका छन् ।
नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले चेतन एक व्यक्ति मात्रै नभई एमालेको भविष्य बोक्ने योद्धा भएकोले अधुरा सपना पुरागर्ने जिम्मेवारी प्रतिष्ठानले लिनु पर्ने सुझाव दिएका छन् । ऐडीको २०७९ को संघ र प्रदेशको निर्वाचनको समयमा घरमा लुकिरहेको अवस्थामा आक्रमण गरि हत्या गरिएको थियो ।
थापाले एमालेको जनसंगठन अनेरास्ववियुको केन्द्रीय नेताका रुपमा क्रियाशिल ऐडीको विचारलाई स्थापित गर्ने र सबैसँग पुर्याउने दायित्व प्रतिष्ठानले लिनु पर्ने बताएका छन् । उहाँले हत्यामा संलग्नलाई कारवाही र निर्दोषलाई न्याय हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
एमाले केन्द्रीय विभाग सदस्य सभासद बसुन्धरा रोकायाले उर्जा भएको, युवा विद्यार्थीमाझ लोकप्रीय नेताका रुपमा चेतन ऐडीलाई स्मरण गर्दै विचारलाई स्थापित गरेर प्रतिष्ठान अघि बढ्नु पर्ने सुझाव दिएकी छन् । नेकपा एमाले बाजुरा अध्यक्ष लालबहादुर ओलीले चेतन नरहेपनि उहाँको योगदान, योग्यता र सपना जीवीत रहेकोले त्यो साकार पार्ने जिम्मेवारी प्रतिष्ठानको काँधमा आएको बताएका छन् ।
प्रतिष्ठानले संस्था बनाउने, बैठक भेला र साधारण सभा आयोजना गर्नेमा मात्रै सीमित हुन नहुने भन्दै ओलीले पुरस्कार, सम्मान, सचेतना र सिर्जनात्मक गतिविधी मार्फत चेतनलाई अमर र युवा विद्यार्थीको प्रेरणाको श्रोत बनाइ राख्नु सुझाव दिएका छन् ।
अधिवेशनको अवसरमा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया, पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिंह, बाजुरा क्याम्पसका स्ववियु सभापति लक्ष्मण रोकाया सहीतले शुभकामना दिएका थिए । उहाँहरुले पनि चेतनदीप प्रतिको सम्मान र श्रद्धा सधैं रहीरहने र न्यायीक निर्णयमा सबैको पहल रहनु पर्ने सुझाव दिएका छन् ।
प्रतिष्ठानका अध्यक्ष डम्मर महतको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको स्वागत मन्तव्य प्रतिष्ठानका संरक्षक गगन ऐडीले गरेका हुन् । भने सञ्चालन सचिव नरेन्द्र थापाले गरेका हुन् ।
बडीमालिका नगरपालिकाको सभा हलमा आयोजित साधारण सभा उद्घाटन समारोहमा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का, एमाले नेताहरु सीता बराल, मन्देवी ओली सहीत सहभागि थिए । साधारण सभाले बन्द सर्तमार्फत नयाँ नेतृत्व चयन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस