बुधबार, २१ जेठ २०८२

नेताको वरिपरि घुमेर लाभ लिने प्रवृत्ती अन्त्य हुनु पर्छ : थापा

बाजुरा : नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले पार्टी भित्र गणेश प्रवृत्तीको अन्त्य हुनु पर्ने बताएका छन् । भूगोलमा काम नगर्ने, जनतासँग नजोडिनेहरु नै पार्टीका सुविधा र अवसरमा हाबी भएको भन्दै थापाले गलत अभ्यासको अन्त्य हुनु पर्नेमा जोड दिएका छन् । 

नेकपा एमाले बाजुराको प्रतिनिधी परिषद् बैठकलाई संवोधन गर्दै थापाले खटनपटन र योग्यता क्षमताका आधारमा पार्टीले अवसर दिनु पर्ने धारणा राखेका हुन् । भूगोलसँग नजोडिएरै नेताहरुकै वरिपरि घुम्ने, कुरा लगाउने, सर्घष केहो थाहै नभएकाहरुले मात्रै पार्टीबाट लाभ लिने कुराले इमान्दार नेता कार्यकर्ता माथि अन्याय भएको बताएका छन् । 

पार्टी एमाले जिल्ला इन्चार्ज समेत रहेका थापाले कुरा गर्ने काम नगर्ने प्रवृत्तीका विरुद्ध कार्यकर्ता स्तरबाटै सचेत गराउनु पर्ने बताए । थापाले ओली र एमाले माथि चौतर्फी घेरबन्दी भइरहेकोले सबैप्रकारको शक्ति र सामथ्र्य प्रयोग गरेर परास्त गर्नु पर्ने बताए । 

एमाले नेतृत्व माथि इतिहासमै बढी प्रहार र आक्रमण भइरहेको छ, तर ओलीकै कारण पदमा गएका, सुविधा लिएकाहरु नै रक्षामा लाग्दैनन्, विरोधमै सीमित छन्, यो प्रवत्ती अन्त्य हुनु पर्ने उनको भनाई छ । 

थापाले एमालेमा अहिले नै ओलीको विकल्प खोज्ने बेला नभएको बताए । ओलीकै कारण एमालेको उचाई यो स्तरमा पुगेको हो, उनले भने– अहिले नै ओलीको विकल्प खोज्ने बेला भइसकेको छैन् ।

संघर्ष जो गर्छ, पार्टी संगठन बनाउन जो लाग्छ, अबको नेता त्यही हो । म हुँ पुरानो हुँ, पार्टीमा लागेकै धेरै भयो, भन्दैमा नेता हुन पाइदैन्, नेता हुन कर्म र काम दुबैले जनताको विश्वास जित्न सक्नु पर्छ, थापाले भने । उनले संगठन भित्रको अराजकता स्वीकार्न नसकिने बताए । 
 
 

प्रतिक्रिया दिनुहोस