बुधबार, २१ जेठ २०८२

१६ महिनापछि खगराजको कमब्याक, प्रचण्डले दिलाए गृहजिल्लामै गुमेको पद

धनगढी : नेकपा माओवादी केन्द्रका कार्यकर्ताले प्रचण्डलाई सुप्रिमो अर्थात सुप्रिम कमाण्डर भन्ने गर्छन् । माओवादी भित्र प्रचण्डको बोली नै पार्टी सञ्चालनका लागि विधी हो । आदेश हो । निर्देशन हो, जस्तो देखिन्छ । तर सुदूरपश्चिम प्रदेश सभाको दलको नेता बनाउने विषयलाई आधार मान्ने हो, भने प्रचण्ड अब प्रचण्ड रहेनन्, न उनको आदेश चल्छ, न निर्देशन नै । प्रचण्डले चाहेको व्यक्तिलाई दलको नेता बनाउन मात्रै उनले १६ महिना कुर्नु पर्यो । 

१६ महिना कुरेर पनि सहज हस्तान्त्रण र दिलखुसवाला समझदारी नभएको माओवादी निकट श्रोतको दाबी छ । दलको नेतामा देखिएको विवाद मिलाउन प्रचण्डले धेरै मेहनत र समय खर्चिनु पर्यो । माओवादीबाट ११ जना प्रदेश सभा सदस्य छन् । ती मध्ये १ जना सभामुख छन् । भने बाँकी १० जना मध्ये सुरुमा प्रचण्डकै निर्देशनबाट खगराज भट्टलाई दलको नेता बनाइयो । 

पछि १० मध्ये ६ जनाले बहुमतबाट निर्णय गरेर मानबहादुर धामी दलको नेता भए । १२ माघ २०८० मा उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बहुमत सांसदको बैठकले भट्टलाई हटाउदै दल नेतामा मानबहादुर धामीलाई चयन गरिएको थियो । भट्ट पार्टी स्थायी कमिटी हुन्, भने धामी केन्द्रीय सदस्य । पार्टी संगठनको वरियता विपरित सांसदले मनोमानी निर्णय गरेको र गुट हाबी भएकोमा प्रचण्ड चिन्तीत थिए । 

प्रचण्डको दल नेता फेर्ने निर्देशन कार्यान्वयन हुन १६ महिना लाग्यो । त्यो पनि खगराजकै गृहजिल्ला पुगेर, सबै नेताहरुलाई एकसाथ राखेर, आफ्नै सामु दलको नेता परिवर्तन गर्न लगाउनु पर्यो । दलको नेतामा खगराज १६ महिनापछि कमव्याक भए । उनले आफ्नै गृहजिल्ला डडेल्धुरामा पार्टी अध्यक्ष सहीतलाई साक्षी राखेर पद पाए । त्यो बाँकी कार्यकालका लागि हो, या केही समयका लागि अहिले नै भन्न सकिने अवस्था छैन् । 

पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका पदाधिकारीको उपस्थितिमा डडेल्धुरामा बसेको प्रदेश संसदीय दलको बैठकले दलको नेतामा भट्टलाई पुर्नवहाली गर्दै निरन्तरता दिने सर्वसम्मत निर्णय गरेको माओवादी नेता एवं प्रदेश सभा सदस्य शिवसिंह ओलीले जानकारी दिए । 

बैठकमामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङ, उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्जसहितका नेताहरूको उपस्थित थिए । 

ओलीका अनुसार उपनेता, प्रमुख सचेतक र सचेतकका सम्बन्धमा भने कुनै निर्णय भएको छैन् । अध्यक्ष प्रचण्डले मध्यपहाडी लोकमार्ग केन्द्रीत जनजागरण अभियान शुभारम्भ गर्न सुदूरपश्चिम आएका बेला आफ्नै उपस्थितिमा दलको बैठक राखेर मात्रै दल नेता परिवर्तन गर्न सफल भएका हुन् । 

सामान्य कुराकानी मिलेको जस्तो थिएन्, २०८० माघ १२ गते बहुमतबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएको थियो । डडेल्धुरामा बसेको बैठकले पुन संसदीय दलको नेताको जिम्मेवारी भट्टलाई दिने निर्णय गरिएको पार्टी उपमहासचिव तथा प्रदेश इन्चार्ज गिरीराजमणी पोखरेलले जानकारी दिए ।

माओवादी अध्यक्ष प्रचण्डले यस अघि नै संसदीय दलको नेता परिवर्तन गर्न लिखित तथा मौखिक निर्देशन दिएका थिए । आफ्नो पटक पटकको निर्देशन उल्लङ्घन भएपछि डडेल्धुरामा आफ्नै उपस्थितिमा बैठक राखेर प्रचण्डले दलको नेता परिवर्तनको निर्णय गराएका हुन् । 

सुदूरपश्चिम प्रदेश सभामा नेकपा माओवादी भित्र दलको नेता फेरबदलको श्रृखला १६ महिनापछि मथ्थर भएको देखिन्छ । पार्टी भित्रको कार्यविभाजन, केन्द्रीय नेतृत्व तहमा देखिएको गुटबन्दी र व्यक्तिगत स्वार्थहरु नमिलेपछि किस्ताकाटको स्थितिमा प्रदेश तहका नेताहरु पुगेका थिए ।

भट्टलाई हटाउने निर्णयमा उपनेता अक्कलबहादुर रावल, प्रदेशसभा सदस्य मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विक र गीतादेवी मालले हस्ताक्षर गरेका थिए । त्यतिबेला भट्ट पक्षमा रमेशसिंह धामी, जानकीदेवी कुँवर र झपटबहादुर साउँद मात्रै रहेका थिए । 

तर हाल ओली भट्ट पक्षमा उभिएपछि भट्ट र धामी पक्षमा पाँच–पाँच जना सांसद देखिएपछि पार्टीको हस्तक्षेप अनिवार्य देखिएको थियो । धामी पक्षलाई प्रदेशमा विना मगरले बलियो साथ दिएको अवस्था थियो । 

सुदूरपश्चिम प्रदेश सभामा माओवादीका ११ जना सांसद छन् । जसमा ८ जना प्रत्यक्ष र ३ जना समानुपातीक । ती मध्ये पनि १ जना सभामुख छन् । पार्टी कमिटीको वरियतामा खगराज भट्टलाई २०७९ को निर्वाचन पछि दलको नेता बनाइएको थियो । त्यो बेला असन्तुष्टीका बीच पनि सर्वसम्मत नै जिम्मेवारी खगराजले पाए । तर असन्तुष्टीको श्रृखला लामो समय टिक्न सकेन् । गएको वर्ष माघ १२ गते मानबहादुर धामी बहुमत देखाएर दलको नेताको पत्र सहीत प्रदेश सभामा पुगेपछि धामीले नै दल नेताको अधिकार पाए । 

पार्टीमा समस्या छ । नेता र नेतृत्व तहमा बसेकाहरुबाटै त्यो समस्या उत्पन्न गरिएको हो । जसरी समस्या सुरुवाद गरियो, त्यसैगरी समाधान गर्ने जिम्मा लिनु पर्छ, यस अघि पाँचै वर्ष मुख्यमन्त्री र माओवादी दलको नेता बनेका त्रिलोचन भट्टले बताएका थिए । सोही अनुसार केन्द्रबाट सिर्जित समस्या केन्द्रीय नेताहरुबाटै सहमति गराइएको छ । 

संघिय सभामा सुदूरपश्चिमबाट २०७९ को चुनावमा माओवादी निल भयो । काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी सहीतको चुनावी गठबन्धन थियो । माओवादीको भागमा ४ सीट परेको हो । चारै सीट गुमायो । एकीकृत समाजवादीले पाएको तीनै सीटमा आफूलाई सुरक्षित गर्यो । कमजोर हुँदै गएको माओवादी भित्रको चरमगुटबन्दी देखेर कार्यकर्ता हैरान देखिएका थिए । 

सुदूरपश्चिममा माओवादी सिंगो पार्टीको आकारमा नै देखिदैन् । प्रदेश इन्चार्ज गिरीराजमणी पोखरेलले व्यवस्थापन गर्न सकेका छैनन् । आफ्नै गुट, आफ्नै समूह र आफू अनुकुलकै ब्याख्यामा नेताहरु छन् । प्रदेश सभा भित्र दलको कार्यालय र पार्टी भित्र प्रदेश कमिटी यसैको मारमा देखिन्छ । ब्याख्या, बहस र तर्फ सबैका आ आफ्नै भइरहेका छन् । एकले अर्कालाई अस्तित्व स्वीकार्ने अवस्था नै देखिदैन्, पार्टी गुटकै कारण संकटतर्फ गइसकेको चिन्ता एकथरिक नेताहरुको छ ।

पटक पटक प्रचण्डको पत्र र बोलिको बेवास्ता 

सुदूरपश्चिममा प्रचण्ड आफ्नै निर्णय कार्यान्वयन गराउन लामो समय असफल देखिए । केन्द्रीय हेडक्वाटरले पार्टी अध्यक्ष प्रचण्डकै निर्देशन २ पटक पठायो । मौखिक निर्देशन पनि प्रचण्डले दिए । तर कोही कसैले टेरेनन् । 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले २०८१ असार १२ गते प्रदेश इञ्चार्ज गिरीराजमणि पोखरेललाई लिखित निर्देशन दिँदै भट्टलाई संसदीय दलको नेता बनाउन भनेका थिए । तर सात महिनासम्म पनि उक्त निर्णय कार्यान्वयन नभएपछि केन्द्रीय समितिको छैठौं बैठक (पुस २१–२३) ले निर्देशन अनुमोदन गर्दै तत्काल लागू गर्न निर्देशन दिएको थियो । त्यो पनि कार्यान्वयन भएन् । 

त्यसैमाथि गएको माघ २७ गते माओवादी अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले पठाएको सर्कुलरमा पनि प्रदेशको गुटबन्दीको छाया परेको आरोप लाग्यो । कैलाली नपुग्दै दलको नेता फेर्न दिएको निर्देशनले समेत कुनै टुर पुच्छर लगाएन् । १० जना सांसदलाई प्रचण्डले काठमाडौं बोलाए । उनी घाइतेभएपछि त्यही दिन संवाद हुन सकेन । केही दिन पछि खगराज निकट ४ जना सांसदलाई टि मिटिङमा बोलाएर डडेल्धुरामा दलको नेता फेर्ने निधोमा उनी देखिए । 

मध्यपहाडी लोकमार्ग अभियानका क्रममा डडेल्धुरा पुगेका प्रचण्डले सबै नेतालाई एकसाथ राखेर १६ महिनापछि दलको नेता फर्ने सफल भए । ‘खगराज भट्ट पहिले बाबुराम निकट र पछि जनार्दन हुँदै नारायणकाजीसँग पनि निकट देखिन्छन् । अर्का मानबहादुर धामी वर्षमान पुन निकट छन् । 

माओवादीले सुदूरपश्चिममा आफ्नो विरासद कमजोर पारी सकेको छ । बैतडी, कैलाली, कंचनपुर र अछाम बाहेक अरु जिल्लामा निकै कमजोर उपस्थिति छ । प्रभाव देखिने जिल्लामा पनि कुनैपनि चुनाव एक्लै उम्मेदवार बनाएर आफ्नै मतले जित्ने अवस्था र गणित माओवादीसँग छैन् । गुटबन्दीले बचेको साख पनि गुमाउने लयमा माओवादी देखिन्छ ।  

प्रतिक्रिया दिनुहोस