बुधबार, २१ जेठ २०८२

स्थानीय तहका कर्मचारी आन्दोलित

बाजुरा:  सुदूरपश्चिमका प्रदेशका ८८ वटै पालिकाका कर्मचारीहरु स्थानीय सेवा ऐन जारीको माग गर्दै आन्दोलन सुरु गरेका छन् । प्रदेश सभामा विचाराधिन स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग गर्दै कर्मचारीहरू धनगढी केन्द्रित आन्दोलनमा उत्रिएका छन् । संविधान जारी भएको १० वर्ष पूरा हुन लाग्दा समेत सुदूरपश्चिम प्रदेशमा स्थानीय सेवा ऐन जारी हुने टुङ्गो लागेको छैन् । ऐन नहुँदा स्थानीय तहका कर्मचारीको वृत्ति विकास अवरुद्ध भएको छ भने लामो समयसम्म एउटै स्थानीय तहमा काम गर्नुपर्दा मनोबल घट्न पुगेको कर्मचारीहरुकाे भनाइ रहेकाे छ ।

चालू आर्थिक वर्षको अन्तमा पालिकामा अत्याधिक कामको चाप पर्ने भए पनि बाध्यताले आन्दोलनमा उत्रिनु पर्ने बाध्यता भएको कर्मचारीहरूले बताएका छन् । बाजुरा सहित सबै जिल्लाका स्थानीय तहमा अत्यावश्यक काम बाहेकका सेवा ठप्प राखेर कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । कर्मचारीहरुको आन्दोलनमा सुदूरपश्चिम प्रदेशका कतिपय स्थानीय तहहरूले ऐक्यबद्धता समेत जनाएका छन् ।
बुधवार बाजुराको खप्तड छेडेदह गाउँपालिकाले पनि एक सूचना जारी गर्दै पालिका तथा सबै वडाहरुमा अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निणय गरेकाे छ । गाउँपालिकाले स्थानीय सेवा ऐन प्रदेश सभामा विचाराधिन रहेकाले तत्काल ऐन जारीको माग गर्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि मंगलवारदेखि सेवा प्रवाह प्रभावित बनेको छ। त्यस्तै गाउँपालिकाले परिस्थिति सहज नभएसम्मका लागि सेवा प्रभावित हुने जानकारी गराएका छन्  ।

 जिल्लाको बडीमालिका नगरपालिका लगायत अन्य पालिकाका कर्मचारीहरु पनि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

No description available.

प्रतिक्रिया दिनुहोस