बुधबार, २१ जेठ २०८२

कैलालीका एसपी राणाले भन्छन्– सामाजिक शान्तिका लागि प्रहरीको व्यवहार पनि ठीक हुनुपर्छ !

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीका नयाँ प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले सबैभन्दा पहिले प्रहरी ठिक हुनुपर्ने बताएका छन्। जनताले चाहे बमोजिम सेवा प्रवाह गर्नका लागि सबैभन्दा पहिले पुलिस ठिक हुनुपर्ने एसपी राणाले बताएका हन् ।

एक साताअघि कैलाली सरुवा भएर आएका एसपी राणाले मंगलबार पत्रकारसँगको भेटघाटमा भने, ‘पुलिसले पुलिसकै काम गरोस् भन्ने जनताले चाहेका हुन्छन् । पहिला हामी सुध्रिन्छौ। त्यसपछि बल्ल सेवा प्रभाव गर्ने भनेर अहिले हामी प्रहरीको आचरण सुधारमा लागेका छौं।’

यस्तै उनले सुदूरपश्चिममा प्रहरीभित्र समस्या रहेको बताउँदै कैलालीमा मात्र नभएर अन्य जिल्लामा पनि सो समस्या समाधान गर्नुपर्ने जनाए । त्यसमा प्रहरीको आचरण व्यवहार सुधार्न लागेको उनको दाबी छ ।

त्यसका लागि उनले अब कैलाली प्रहरीले कुनै कार्यक्रम भन्दा पनि राम्रो काम गर्नेलाई काम गर्नेबित्तिकै ठाउँको ठाउँ पुरस्कार दिने र सजाय गर्ने कुरामा पनि निर्मम हुने नीति लिएको जनाए । 

‘एक सय किलोमिटर बढी भारतसँगको सीमाना छ। यहाँ अधिकांश जिल्लाका मानिसहरूको बसोबास छ। सबै कारणबाट कैलालीमा धेरै काम गर्नुपर्ने मैले देखेको छु’ उनले भने ।

सीमा क्षत्रेमा हुने तस्करी नियन्त्रणदेखि लागुऔषध नियन्त्रणसम्म प्रहरीको महत्त्वपूर्ण रहेको उनले बताएका छन् । जसमा एउटै मान्छेले १० पटक पनि पुरस्कार पाउन सक्ने उनको जिकिर छ । कैलालीमा रहदा आफूले मोनोपोली काम नगर्ने र सबैको सल्लाहअनुसार काम गर्ने सुनाए ।

अर्को प्रसङ्गमा उनले बाचा गर्ने भन्दा पनि काम गरेर देखाउने बताए । उनले भने ‘केही राम्रो काम गर्ने छु र तपाइहरूले मेरा राम्रा काममा सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ।’ उनले सुदूरपश्चिम प्रदेशको राजधानी र भारतसँग सीमा जोडिएको जिल्ला भएकाले कैलालीमा गर्नुपर्ने धेरै काम रहेको बताए । उनले सबैलाई साथ दिन र शान्तिसुरक्षामा ध्यान दिन आग्रह समेत गरे । 

प्रतिक्रिया दिनुहोस