बुधबार, २१ जेठ २०८२

बाजुराको विकासमा राजनीतिक एकता र सहकार्यगर्न नेताहरु सहमत, १५ बुँदे बुढीगंगा प्रतिवद्धता पत्र जारी

धनगढी  : राजनीतिक लडाइ र झगडाकै कारण चर्चामा रहने बाजुरालाई फरक रुपमा स्थापित गर्न दलका नेताहरुले प्रतिवद्धता जनाएका छन् । बाजुराको परिचय बदल्ने गरी राजनीतिक एकता र सहकार्य गर्ने लिखित प्रतिवद्धता गर्न नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरु सहमत भएका हुन् ।

बाजुरामा काँग्रेस र एमालेले नै राजनीतिक रुपमा प्रभाव राख्ने गरेका छन् । बुढीगंगा नगरपालिकाले समृद्धिका लागि आयोजना गरेको बुढीगंगा कचहरीमा सहभागि दलका नेताहरुले १५ बुँदे लिखित प्रतिवद्धता समेत गरेका हुन् । विगतका बसाइ, छलफल र सार्वजनिक मञ्चमा पनि नेताहरुले सहकार्यको भाषण गर्दै आएका थिए । तर कार्यान्वयन हुन सकेको थिएन् । 

बुढीगंगा नगरपालिकाले आयोजना गरेको विकास कचहरीमा नेताहरुले पालिकाका तर्फबाट १५ बुँदे प्रतिवद्धता पत्र जारी गर्न लगाएर लिखित सहमति गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि एवं पूर्व प्रदेश प्रमुख नेपाली काँग्रेसका नेता देवराज जोशीले २०४८ सालपछि काँग्रेस र एमालेका नेताहरुले औपचारिक कार्यक्रम बाहेक विकास बारे कुनै चरणको छलफल नगरेको स्वीकार गरेका थिए ।

२०४८ र २०६४ मा काँग्रेसको तर्फबाट चुनाव जितेका जोशी सुदूरपश्चिम प्रदेश प्रमुख भएर काम गरिसकेका नेता हुन् । उनले नामै तोकेर प्रकाश शाह बाहेक कर्णबहादुर थापा, लालबहादुर थापासँग अनौपचारिक विकास बारे छलफल गर्ने कुरा धेरै टाढाको भन्दै चिया समेत सँगै बसेर नखाएको स्वीकार गर्दै आगामी दिनमा सच्चिएर जाने प्रतिवद्धता जनाएका छन् ।

नेकपा एमाले अध्यक्ष लालबहादुर ओली दलहरु एकठाउँमा उभिएर बाजुराको विकासमा जिम्मेवार नभएकोमा चिन्ता व्यक्त गरे । ओलीले बेलिब्रीज सार्नका लागि समेत प्रधानमन्त्रीलाई माग गर्नु पर्ने र त्यो समेत पत्याउने अवस्था नहुने कुरा दुखत विषय बनेको बताएका छन् । नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले राजनीतिक रुपमा आस्था विचार जो जस्ले जता राखेपनि बाजुरा सहीत सुदूरपश्चिमका जिल्लाको विकासमा सबैबीचको सहकार्य र एकता जरुरी रहेको बताए ।

विकास कचहरीमा पूर्व प्रदेश प्रमुख देवराज जोशी, ,पूर्व मन्त्री कर्णबहादुर थापा, संविधान सभा सदस्य बसुन्धरा रोकाया, पेम्बा गुरुग भोटे, पूर्व प्रदेश मन्त्री प्रकाश शाह, नरेश शाही, प्रदेश सभा सदस्य पदम बहादुर शाही, माओवादीका नेतृ पूर्व प्रदेश सभा सदस्य देवकी मल्ल, पूर्व प्रदेश मन्त्री पठानसिंह बोहरा, अछाम जिल्ला विकास समितिका पूर्व सभापतिकृष्णप्रसाद जैसी, एमालेका जिल्ला अध्यक्ष लालबहादुर ओली, कांग्रेसका पूर्व सभापति मानबहादुर रावल, बुढीगङ्गा नगरपालिकाका पूर्व मेयर दीपकविक्रम शाहलगायत सहभागि थिए ।

बुढीगङ्गा नगरपालिकाले जारी गरेको १५ बुँदे प्रतिबद्धतापत्र 

बाजुराको बुढीगङ्गा नगरपालिकाले आफ्नो पालिकाको विकासका लागि १५ बुँदे साझा प्रतिबद्धता पत्र जारी गरेको छ । समृद्ध बुढीगङ्गा निर्माणका लागि तीन दिनसम्म आयोजना गरिएको “समृद्धिको आधारका लागि बुढीगङ्गा विकास कचहरी” बाट आएका निष्कर्षका आधारमा प्रतिबद्धता पत्र जारी गरिएको हो ।

बुढीगङ्गा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाले प्रतिबद्धता सार्वजनिक गर्दै राजनीतिक दलहरूले बुढीगङ्गा नगरपालिकाको विकासमा एकमत रहेर स्रोत व्यवस्थापनमा सक्रिय भूमिका खेल्ने, गुणस्तरीय र प्राविधिक शिक्षाको विस्तार गरी दक्ष जनशक्ति उत्पादनमा जोड, आधुनिक कृषि प्रणाली, पशुपालन र बजार प्रणाली विकास, पाँच वर्षभित्र सबै घरधुरीमा बिजुली र दुई वर्षभित्र धुँवारहित चुलो पुर्याउने योजना समेटिएको छ ।

यस्तै, नदीजन्य र खानीजन्य स्रोतको सदुपयोग र वैज्ञानिक वन व्यवस्थापन, १५ श्य्याको अस्पताल निर्माण सम्पन्न गरेर स्वास्थ्य बिमा र मानसिक स्वास्थ्य कार्यक्रम धार्मिक–ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्धन, भवन संहिता कार्यान्वयन, नवनिर्माण संरचना बालमैत्री र भूकम्प प्रतिरोधी, सभाहल, पार्किङ, खेलमैदान, सडक स्तरोन्नती लगायत सार्वजनिक संरचना विस्तार, इन्टरनेट विस्तार, सेवा प्रवाहमा अनलाइन प्रणालीको उपयोग, एक वर्षमा डिजिटल गुनासो सुनुवाइ र पाँच वर्षभित्र एसएमएसमा आधारित सूचना सेवा सुरु गर्ने पनि प्रतिबद्धता पत्रमा उल्लेख छ । 

प्रतिबद्धता पत्रमा सामाजिक समावेशीकरण र सशक्तीकरणका लागि कोष स्थापना, सहकारी संस्थाहरूको व्यवस्थापन र नियमन, साना मझौला उद्योग प्रवर्धन, सीप विकास केन्द्र विस्तार, स्वच्छता र फोहोरमैला व्यवस्थापनलाई सशक्त बनाउँदै पूर्ण सरसफाइयुक्त नगर बनाउने कुरा पनि समेटिएको छ । सो अवसरमा बोल्दै नगर प्रमुख बानियाँले बुढीगङ्गाको समृद्धि अब भाषणको विषय मात्र होइन, साझा सङ्कल्पको दिशामा अगाडि बढ्न सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए । 

१५ बुँदे प्रतिबद्धतापत्रले बुढीगङ्गा नगरपालिकालाई समृद्धि र सुशासनतर्फ लैजाने स्पष्ट मार्गचित्र तयार भएको अधिकांश राजनीतिज्ञ र विषय विज्ञले बताएका छन् । बुढीगंगा नगरपालिकाले आयोजना गरेको कार्यक्रमले सबै दलका नेताहरुलाई एकै ठाउँमा उभिएर जान सकारात्मक सन्देश प्रवाह गरेको प्रतिक्रिया नागरिक स्तरबाट छ । जिल्लामा यो प्रकारको कार्यक्रम पहिलो पटक आयोजना गरिएको हो । 

प्रतिक्रिया दिनुहोस