बाजुरा : बुढीनन्दा नगरपालिकाका नगर उपप्रमुख रामबहादुर बोहरा पुनः नेपाली काँग्रेसमै फर्किएका छन् । पालिकामा टिकट नपाएपछि बोहरा रिसाएर एकाएक नेकपा एमाले प्रवेश गरेका थिए । २०७९ सालको स्थानीय तह निर्वाचनमा नगर उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने सर्त सहीत एमाले प्रवेश गरेका थिए ।
बोहरालाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वागत गरेका हुन् । बाजुराका काँग्रेस नेताहरुको भव्य उपस्थितिमा फर्किएका बोहराको स्वागतमा पदम गिरीको उपस्थिति भने देखिएको थिएन् ।
काँग्रेस बाजुरा सभापति रामसिंह रावल, नेताहरु विद्या तिमिल्सेना जनकराज गिरी, कविराज पण्डित, महा नेपाली, जुना दानी, चक्र शाह सहीत प्रवेश कार्यक्रमका सहभागि थिए । तत्कालिन नेपाली काँग्रेस निर्वाचन क्षेत्र प्रदेश क को क्षेत्रीय कार्यसमिति सभापति समेत रहेका बोहराले जित लगत्तै काँग्रेस फर्किने मनसायमा थिए । नेपाली काँग्रेसले समेत बेवास्ता गरेपछि केही समय एमालेमै भएजस्तो गरि अढाई वर्ष बिताएको आरोप उनकै आफन्तको छ ।
तत्कालिन नगर प्रमुख पदम गिरीलाई नै काँग्रेसले टिकट दिएपछि बोहराले रिसाएर पार्टी छोडेका थिए । आफूले टिकट पाउने, उपप्रमुखमा एमालेसँगै मिलेर जित्ने र पदम गिरीलाई जसरीपनि हराउने नियतका साथ बोहराले एमाले प्रवेश गरेका हुन् ।
त्यो बेला नेकपा एमालेको पक्षमा बढ्दो लहर र काँग्रेस नेतृत्वको ५ वर्ष नगर सरकारको कार्यकालदेखि हैरान बनेका स्थानीयले भारी अन्तरले नगर प्रमुख र उपप्रमुख दुबैलाई जिताएका थिए । एमालेको तर्फबाट उम्मेदवार बनेका जनक कुमार बोहराले पदम गिरीलाई १८ सय बढी मत अन्तरले हराएका थिए । गुलाब चिन्ह सहीत स्वतन्त्र बनेर एमालेको सहयोगमा जितेका बोहराले पनि काँग्रेसकै रिता शाहीसँग सानदार जित दर्ता गराएका थिए ।
तीन दशक नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहेका बोहरा सहज नेकपा एमालेमा समायोजन हुन सकेनन् । एमालेका नेता कार्यकर्ताले दिनु पर्ने जतिमान सम्मान र स्थान नदिएको गुनासो बोहराको थियो । गएको वर्ष जेष्ठमा सम्पन्न नेकपा एमाले बाजुराको आठौं जिल्ला अधिवेशनमा पदाधिकारी बन्ने चाहना राखेका बोहरालाई नपत्याएको आक्रोश थियो ।
प्रतिक्रिया दिनुहोस