काठमाडौँ : लडाकु सैन्य विमानबाट भारत र पाकिस्तानबीच आक्रमण सुरु भएपछि दक्षिण एशियाली आकाशमा तनाव देखिएको छ । यस्को असर बुधबार यता युरोप र मध्यपूर्वबाट नेपाल आउने उडानमा पनि परेको छ ।
युरोप–एशियामा पर्ने टर्की अनि मध्यपूर्वको कतार, दुबई, कुबेत, साउदीअरब लगायतका मुलुकका सहरबाट नेपाल आउने दैनिक १५ र फर्किने पनि १५ हाराहारी उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
‘टर्की र मध्यपूर्वी मुलुकहरुबाट नेपाल आउने उडान कम्तीमा १ घण्टादेखि बढीमा २ घण्टासम्म ढिलो भइरहेका छन्’, विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले भने,‘टर्कीको इस्तानबुलबाट काठमाडौं आउने टर्किस एयरलायन्सको जहाजले नेपाल आउँदा १ घण्टा बढी समय लगाउन थालेको छ भने काठमाडौंबाट फर्किँदा झण्डै २ घन्टा बढी सयम लगाउन थालेको छ ।’ त्यस्तै मध्यपुर्वी मुलुकहरु कतार, दुबई, साउदी अरब, कुवेतबाट नेपाल आउजाउ गर्ने वायुसेवाहरुका उडान १ घन्टा बढी उडान समय लगाउन थालेका छन् ।
हाल मध्यपूर्वबाट नेपालमा कतार एयरवेजले कतारबाट, फ्लाई दुबईले दुबई, जजीरा र कुवेत एयरवेजले कुवेत, एयर अरेयिबायले शारजहा र दुबईबाट नेपालमा उडान गर्दै आइरहेका छन् । त्यस्तै नेपालबाट हिमालय एयरलायन्सले साउदी अरब, दोहा, कुबेत र नेपाल वायुसेवा निगमले दोहा, दुबई र साउदी अरबको दमाममा उडान गर्छन् । यी वायुसेवाले पहिले इरान, अफगानिस्तान, पाकिस्तान हुँदै दिल्लीको हवाई रुट प्रयोग गर्थे । नेपाल आहोरदोहोर गर्न यो रुट छोटो थियो । तर भारतले पाकिस्तानमा आक्रमण गरेपछि विमान कम्पनीहरु कतारबाट दुबई, ओमन हुँदै अरवियन सागरको बाटो हुँदै भारतको मुम्बई हुँदै नेपाल आउनेरजाने गर्न थालेका छन् । यो झण्डै एक घण्टा लामो हवाई रुट हो । नेपालबाट फर्किने जहाजहरु दिल्ली हुँदै पाकिस्तानको आकाश प्रवेश गर्नुनपर्ने भएपछि भैरहवाको हवाई रुटबाट ननिस्केर सिमराबाट निस्केर लखनउ हुँदै मुम्बईको आकाशबाट अरबियन सागरतर्फको हवाई रुटमा उड्न थालेका छन् ।
‘टर्की र मध्यपूर्वीबाट ओहोरदोहोर गर्ने विमानले अफगानिस्तान र पाकिस्तानको आकाशको बाटो प्रयोग गर्थे,’ काठमाडौं विमानस्थलमा कार्यरत एक विदेशी वायुसेवाका स्टेसन म्यानेजरले कान्तिपुरसँग भने,‘भारतले आक्रमण गरेपछि बुधबारदेखि उडानहरुले हवाई रुट बदलेका छन् । यसका कारण नेपाल ओहोरदोहोर गर्ने हवाईमार्ग कम्तीमा १ देखि २ घण्टा लामो भएको छ ।’
उडानको समय बढ्दा कम्तीमा ३ लाख रुपैयाँदेखि साढे ६ लाख रुपैयाँसम्मको अतिरिक्त हवाई इन्धन खर्च हुने गरेको एक विदेशी वायुसेवा कम्पनीका नेपाल प्रमुखले बताए । ‘अहिले नेपालबाट फर्किने न्यरोबडी जहाजले एक घण्टाका लागि अतिरिक्त कम्तीमा २ लाख रुपैयाँ हाराहारी र वाइडबडी विमानले ३ लाख रुपैयाँको हवाई इन्धन लिएर उड्नुपरेको छ,’ उनले भने, ‘यसबाहेक भारतको आकाशमा पनि पहिलेको दाँजोमा एक घण्टा बढी समय उड्दा हवाई रुटको भाडामा पनि अतिरिक्त भार पर्ने देखिन्छ ।’
नेपालमा उडान गर्ने वायुसेवाहरुले उडान कटौती भने गरेका छैनन् । ‘उडान थपघट केही भएको छैन’, काठमाडौं विमानस्थल प्रमुख निरौलाले भने,‘भारत र पाकिस्तानको युद्धबारे समाचार सार्वजनिक भएपछि बुधबार सबै विदेशी वायुसेवाका प्रतिनिधिहरुसँग बैठक भएको छ । वायुसेवाका प्रतिनिधिहरुले उडान समय वृद्धिबाहेक समस्या तत्काल नदेखिएको भनेका छन् ।’
नेपालबाट विदेश जाने यात्रुहरुको तेस्रो मुलुक जानुपर्ने कनेक्टीङ उडानमा ढिलाई भइरहेको छ । तर, वायुसेवा कम्पनीहरुले जहाज छुट्ने यात्रुहरुलाई अतिरिक्त शुल्क नलिई उडानमा व्यवस्थापन गरीरहेको काठमाडौं विमानस्थललाई जानकारी गराएका छन् ।
अहिले एशियाबाट युरोप जानेरफर्किने वायुसेवाहरुको मध्यपूर्वका ओमन, यूएई र कुवेतको आकाशमा चाप छ । रोयटर्सका अनुसार, भारत र पाकिस्तान दुबैले एकअर्काका मुलुकबाट उड्ने वायुसेवालाई रोक लगाएपछि अन्य मुलुकका वायुसेवाहरु पाकिस्तानको आकाश भएर बनाइएका हवाई रुट प्रयोग गरीरहेका छैनन् । पाकिस्तानले आफ्नो आकाशमा व्यावसायिक उडानलाई पूर्ण रुपमा रोक लगाउने घोषणा बुधबारसम्म गरेको छैन । भारतको आक्रमणपछि बन्द पाकिस्तानका विमानस्थल र हवाई क्षेत्र खुला भइसकेको रोयटर्सले जनाएको छ ।
कतार एयरवेजले भारतको अमृतसर र पाकिस्तान जाने सबै उडान अर्को निर्णय नभएसम्मका लागि रद्द गरेको जनाएको छ । त्यस्तै डच एयरलायन्स केएलएम र सिंगापुर एयरलायन्सले मंगलबारदेखि पाकिस्तानको हवाई क्षेत्र प्रवेश नगरी उडानहरु सुचारु गरिरहेका छन् । कोरियन एयरले सोल–दुबई उडानको रुट भारतबाट बदलेको छ ।
प्रतिक्रिया दिनुहोस