कैलाली : नेकपा एमाले निकट भूमि अधिकार तथा श्रमिक संगठन नेपालले आजदेखि कैलालीको टीकापुरमा आफ्नो दोस्रो राष्ट्रिय अधिवेशन भव्य रुपमा सुरु गरेको छ। उद्घाटन समारोह नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सुरु हुनेछ । संगठनकी अध्यक्ष शान्ता चौधरीका अनुसार अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संगठनलाई संस्थागत रूपमा थप सुदृढ बनाउने योजना अघि सारेको छ।
"देशभरबाट आएका प्रतिनिधिहरूको सहभागिता उत्साहजनक छ। यो अधिवेशनले हाम्रो आन्दोलनलाई नयाँ दिशा दिनेछ," अध्यक्ष चौधरीले भनिन्। कार्यक्रममा एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, स्थायी समिति सदस्य एवं जनसंगठन समन्वय विभाग प्रमुख भानुभक्त ढकाल, केन्द्रीय सदस्य विष्णु रिजाललगायत शीर्ष नेताहरू सहभागी भएका हुनेछन्।
दुईदिनसम्म चल्ने अधिवेशनमा भूमि अधिकार, श्रमिक अधिकार, सामाजिक न्याय तथा संगठनको भावी रणनीतिबारे गहन छलफल हुने जनाइएको छ। संगठनका अनुसार यो अधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई विचार, नीतिगत मार्गनिर्देशन र संगठन विस्तारको ऐतिहासिक थलो पनि बन्नेछ। टीकापुरको राजनीतिक वातावरण अधिवेशनकै गर्मीले तातिएको छ। राष्ट्रिय स्तरका नेताहरूको उपस्थिति र कार्यकर्ताहरूको जोशले अधिवेशनमा विशेष ऊर्जा भरिएको देखिन्छ।
प्रतिक्रिया दिनुहोस