काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच संक्रमणकालीन न्यायबारे छलफल भएको छ । प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसम्बन्धी विज्ञ सल्लाहकार अग्नि खरेलले उनीहरुबीच अहिलेसम्म भइरहेका कामबारे छलफल भएको बताए ।त्यस्तै नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सरकारले संक्रमणकालीन न्यायसम्बन्धी अधुरा कामहरू टुंग्याउने प्रक्रिया सकारात्मक रुपमा अघि बढाएको बताए ।
आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच यही विषयमा छलफल भएको थियो ।उक्त छलफलमा उपमहासचिव पुन पनि सहभागी थिए ।
बैठक सकिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पुनले प्रक्रियालाई सकारात्मक रुपले अघि बढेको पाइएको बताए ।‘यो प्रक्रियालाई सकारात्मक रुपले अघि बढेको पायौं । खासगरी यो कहाँ पुगेको छ भन्ने विषयमा प्रमुख प्रतिपक्षी दलका नेतालाई जानकारी दिनुभयो,’ पुनले भने ।
संक्रमणकालीन न्यासम्बन्धी दुई आयोगका पदाधिकारीको सर्टलिस्ट बाहिरिएपछि राखिएका सरोकारका विषयमा पनि ओली–प्रचण्डबीच छलफल भएको उनले बताए ।
‘सर्टलिस्ट बाहिर आएपछि केही सरोकारवालाहरूले प्रधानमन्त्री र कांग्रेस सभापति शेरबहादुर देउवासँग राख्नुभएको रहेछ । भोलि नै प्रचण्डसँग समय लिनुभएको छ । निश्चय नै उहाँहरूको सरोकार राखेपछि प्रकिया सकारात्मक रुपले नै अघि बढेको हामीले पायौं,’ पुनले भने ।
प्रतिक्रिया दिनुहोस