शनिबार, २८ बैशाख २०८२

सेजमा आकर्षित हुदै उद्योगी/व्यबसायी: पूर्ण कार्यान्वयन हुँदा हजारौं रोजगार सृजना

मुलुकमा उत्पादन बढाउने, निर्यात गर्ने, रोजगारी सिर्जना गर्ने र स्वदेशी/विदेशी लगानी भित्र्याएर आर्थिक समृद्धी हासिल गर्ने मूल उद्देश्यले नेपाल सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) को स्थापना गरेको हो । वि.सं २०६० सालमै सरकारले विशेष आर्थिक क्षेत्र (सेज) स्थापनाको निर्णय गरेको थियो । संघीयता कार्यान्वयनसँगै सरकारले ‘एक प्रदेश एक सेज’ को नीति लिएकोमा नेपाल सरकारले सेजलाई अघि बढाउन ०७३ सालमा विशेष आर्थिक क्षेत्र ऐन जारी गरेको हो। यद्यपी पछिल्लो समय भने नीतिगत व्यवस्थामा संशोधन भएर सहजीकरण गरेसँगै विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) मा उद्योगी व्यवसायीको आकर्षण बढेको छ ।

नेपाल सरकारले लगानी मैत्री वातावरण निर्माण गरेसँगै सिमरा सेजको ब्लक ‘ए’ मा ६८ प्लट सहित सबै प्लटहरुको अनुमती दिने कार्य सम्पन्न भएको छ । यससँगै, अन्य ब्यवसायीहरुको लागी 178 विगाहा जग्गा रहेको ब्लक ए विस्तारको निर्माण कार्य अघि बढाईएकोमा आगामी आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भैरहवा सेजमा ६८ प्लटहरुमा अनुमति दिने कार्य भएको छ । आर्थिक तथा व्यवसायीक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही ऐन संशोधन सहित विशेष आर्थिक क्षेत्र ऐनमा समेत संशोधन भएको छ । यस अघि उत्पादन थालेको पहिलो वर्ष नै ६० प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्थाले निकै समस्या आएको हुँदा उद्योगीहरुले जनगुनासो गरेका थिए । यसैकारण सेजमा उद्योग खोल्न उद्योगी खासै उत्साहित थिएनन् । विशेष आर्थिक क्षेत्र ऐन संशोधन मार्फत निर्यात दरलाई ६० प्रतिशतबाट ३० प्रतिशत गरिएको छ, उद्योगीहरुले परियोजना धितो राखी ऋण लिन सक्ने व्यवस्था गरिएको छ । यस सँगै सेज भित्र निर्माण हुने उद्योगहरुको नक्सा पास विशेष आर्थिक क्षेत्रबाट नै हुने ब्यवस्था गरिएको छ। उक्त नीतिगत सुधारका कारण सेजमा उद्योग स्थापनाका लागि उद्योगीहरुमो आर्कषण बढेको हो ।

कुन सेजमा उद्योगको आकर्षण कस्तो ? भैरहवा सेज भैरहवा सेज नेपाल सरकारले स्थापना गरेको पहिलो सेज हो । 52 विगाहामा फैलिएको छ । यो सेजमा २७ वटा उद्योगले अनुमती पाएका छन् । उक्त अनुमती पाएका उद्योगमध्ये १० उद्योगले उत्पादन कार्य शुरु गरिसकेका छन् । 17 वटा उद्योग निर्माणाधिन अवस्थामा छन् । भैरहवा सेजमा १५०० देखि ३५०० वर्ग मिटरसम्मका ६९ वटा प्लटहरु छन्। यहाँ रहेको जग्गा विशेष आर्थिक क्षेत्र प्राधिकरणसँगको सम्झौतामार्फत ३० वर्षका लागि लिजमा लिइएको हो। उद्योगको कुल लगानी ८ अर्ब ९ करोड (८ करोड अमेरिकी डलर) रहेको छ । भैरहवा सेजमा रहेका उद्योगहरूबाट एलईडी बत्ती, स्टिलका भाडाकुडा, स्टिल ट्यांकी, प्लास्टिकका सामान, गलैंचा, छालाका सामान, फर्निचर आदि उत्पादन गरिन्छ । सिमरा सेज नेपाल सरकारले विकास गरेको दोस्रो सेज बाराको सिमरामा हो। यहाँको जमिन क्षेत्रफल करिब ५ सय ६४ हेक्टर छ। यो सेजमा सबै भन्दा बढी क्षेत्रफल रहेको छ । सेजलाई पाँच ब्लकमा विभाजन गरिएको छ । ब्लक ए (133 विघाहा) प्राधिकरण आफैंले विकास गरेको हो । सिमरा सेजमा जम्मा अनुमती प्राप्त उद्योग संख्या ३० वटा रहेको छ । यसमध्ये सञ्चालनामा रहेका उद्योग संख्या ५ वटा र निर्माणाधिन उद्योग संख्या नै २५ वटा रहेको छ । सिमरा सेज (बी र सी) मा नेपाल सरकार मन्त्री परिषद्को निर्णय अनुसार PPP मोडलमा जाने निर्णय भए अनुसार PPP मोडलको लागि EOI को सूचना प्रकाशित गर्ने तयारीमा रहेको छ । गुरुयोजना अनुसार 4700-12000 वर्ग मिटरको औसत क्षेत्रफलमा जम्मा ६९ वटा प्लट छन् ।

ब्लक ‘ए’ मा प्रति प्लट प्राधिकरणले प्रशासन भवन, भन्सार कार्यालय, बैंक, बिमा भवन, माल ढुवानी सेवा भवन, हुलाक सेवा भवन लगायतका सेवा पूर्वाधार निर्माण गरेको छ । उद्योगको कुल लगानी ५ अर्ब ५९ करोड (४४ मिलियन अमेरिकी डलर) रहेको छ र यसले ४ हजार ३ सय ७४ जना रोजगारी सिर्जना गर्ने अनुमान छ । सिमरा सेज ब्लक ‘ए’ मा रहेका घरायसी उपकरण, खाद्य प्रशोधन, एसेम्बली, जैविक मल, तयारी पोसाक, चिकित्सा, टायल्स, मार्बल, घरासयसी उपकरण लगायतका उत्पादन गर्ने उद्योग हुन् । पाँचखाल सेज तेस्रो सेज पाँचखालको हो । उत्तरतिरको चिनियाँ नाकादेखि ७० किलोमिटर टाढा यो सेज पर्दछ । पाँचखाल सेजमा पूर्वाधार निर्माणलाई चीनसँगको व्यापार प्रवर्द्धन गर्ने प्रमुख सुविधाका रूपमा लिइएको छ । यो सेज ५० हेक्टर जमिनमा रहने छ । नेपाल सरकार मन्त्री परिषद्को निर्णय अनुसार PPP मोडलमा जाने निर्णय भए अनुसार वन मन्त्रालयवाट रूख कटानको अनुमती समेत प्राप्त भै सकेकोले लगानी बोडसँग सहकार्य गरी PPP मोडलको लागी EOI सूचना प्रकासित गर्ने तयारीमा रहेको छ । एक सेज एक प्रदेश एक सेज एक प्रदेशको अवधारणालाई मूर्त रूप दिन आ.व. २०८२/०८३ मा बाँकी प्रदेशमा सेज स्थापना कार्यको लागि अध्ययन कार्य सम्पन्न गरी विस्तृत प. प्रतिवेदन र EIA को प्रकृयामा रहेको छ ।

हालसम्मको निर्यात मूल्य, लगानी र रोजगारी सृजना हालसम्म सिमरा सेजबाट १ करोड ४४ लाख ५७ हजार ७ सय ३ रुपैयाँ बराबरको निर्यात भएको देखिन्छ । उक्त स्थानमा जम्मा लगानी १ अर्ब ९० करोड रहेको छ । उक्त सेजमा हालसम्म जम्मा:२५० जना रोजगारी सृजना भएको छ । यस्तै, सम्पूर्ण उद्योग सञ्चालन आउदा सृजना हुने अनुमानित रोजगारी ५ हजार ६ सय जना रहने छन् । यस्तै, भैरहवा सेजमा ३ अर्ब ९२ करोड रुपैयाँको निर्यात मूल्य रहेको छ । जहाँ लगानी ९० करोड बराबर छ । उक्त सेजमा हालसम्म जम्मा ५ सय जना रोजगारी सृजना भएको छ । यस्तै, सम्पूर्ण उद्योग सञ्चालन आउँदा सृजना हुने अनुमानित रोजगारी २ हजार १९ जना रहने छन् । (ई.कटुवाल विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) का कार्यकारी निर्देशक हुन्।)

प्रतिक्रिया दिनुहोस