बाजुरा ः बुढीगंगा नगरपालिकामा तीन महिने आधारभूत कम्प्युटर तालिम सुरु भएकाे छ । साविकको बाह्रबिस गाविसमा युवाहरुलाई गरी खाने बनाउने संकल्प अनुसार तालिमको आयोजना गरिएको बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बाँनियाले बताएका छन् ।
बुढीगंगा नगरपालिकाले ७५३ वटा पालिका मध्ये आफ्नै स्वामीत्वमा रहेको बुढीगंगा सीप विकास तथा प्रशिक्षण केन्द्र स्थापना गरी विभिन्न तालिम प्रदान गरिरहेको छ । नगरमा भएका कोरा युवा तथा बालबालिकाहरुलाई विभिन्न सीप दिएर गरी खाने र रोजगारमूलक बनाउने दृढ संकल्प रहेको उपप्रमुख माया खड्का कुवँरले बताएकी छन् ।
एकवर्षमा २ सयदेखि ३ सय युवाहरुलाई सीप दिने, तालिम दिने र व्यवसायीक बनाउने योजना नगरको रहेको छ । तालिम दिएका मध्ये ५० जना जति युवाहरुलाई आफै गरीखाने र आत्मनिर्भर बनाउने गरी नगर सरकार लागेको छ । बुढीगंगा नगरपालिकाले साविकका तीनवटै गाविसमा निःशुल्क आधारभूत कम्प्युटर तालिम प्रदान गरेको छ ।
तालिमबाट युवाहरु थप प्रेरित हुने विश्वास नगरको रहेको छ । साविकको बाह्रबिस गाविस र हालको वडा नम्बर ७, ८ र ९ नम्बर वडाका ३० जना युवाहरुलाई तालिम दिईने भएका छन् ।
युवाहरुको बेरोजगारी समस्या हल गर्ने गरी विभिन्न सीप सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । “मेरो सीप, मेरो रोजगारीको आधार” युवाहरुको आधुनिक डिजिटल प्रविधिमा सीप र पहुँच अभिवृद्धिका लागि युवाहरुलाई तीन महिने निःशुल्क आधारभूत कम्प्युटर तालिम प्रदान गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस