शनिबार, २८ बैशाख २०८२

गौमुलमा मातृत्व संरक्षण र महिला सशक्तीकरण अभियान

बाजुरा : कल्प इम्पावर वेमेन नेपालले मातृत्व संरक्षण र महिला सशक्तीकरणको उद्देश्यले सञ्चालन गरेको “भुपेन्द्रा बुढा स्मृति क्यापिएँन सी–क्याप”नामक अभियान गौमुल गाउँपालिका घट्मुनामा सम्पन्न भएको छ  ।

उक्त अभियान बडीगाड गाउँपालिका बाग्लुङ, पुथा उत्तरगंगा गाउँपालिका रुकुमपूर्व हुदैं बाजुराको गौमुल गाउँपालिकामा आयोजना गरिएको हो ।

गौमुल गाउँपालिकामा सञ्चालन भएको कार्यक्रममा किशोरी समूहको अभिमुखीकरण, किशोरी संग जनप्रतिनिधि, किशोरी समूह गठन र स्वास्थ्य गाउँ साक्षरता अभियान अन्तर्गत गौमुल गाउँपालिका भित्रका ६ वडाका  ३ सय ९९ घरधुरीमा  स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।

गौमुल गाउँपालिका स्तरीय किशोरी समूहका अध्यक्ष निशा विकको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति चयन भएको छ । गौमुल गाउँपालिकाको अभियान समापन कार्यक्रम उपाध्यक्ष सीता थापाले अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया रहेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद भट्टले स्वागत गरेको कार्यक्रममा भौगोलिक विकटतामा बाँचिरहेका महिलाका निम्ति मातृत्व जोगाउने अभियानले महत्वपूर्ण सन्देश दिएको धारणा राखेका हुन् ।

गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले नेपाली महिला जनप्रतिनिधिको सुकर्मलाई सञ्चार गर्ने अभियान शी लिड्स आइकन २०८१ की विजेता मध्ये एक हुन् । उनले एउटा मानक प्राप्त गरेकी छन् । विकटतामा समेत सुन्दर कर्म गरेर प्रेरणादायी महिला जनप्रतिनिधिको सन्देश दिएकी छन् ।

आम नेपाली महिलाले भोग्दै आएको दुःख पीडालाई मलम लगाउने सोच र संकल्प सहित देशमा सम्भावना रहेको छ भन्ने भाष्य निर्माणका निम्ति यो अभियान सुरुवात गरिएको संस्थाका अध्यक्ष पूजा कोइरालाले बताएकी छन् ।

कल्प इम्पावर वेमेन नेपाल युवा समूहको नेतृत्वमा सञ्चालित एक सामाजिक संस्था हो जसले “महिला स्वास्थ्य, उद्यमशीलता, किशोरी सशक्तीकरण र राजनीतिमा महिला विषयमा वकालत तथा कार्यक्रम गर्दै आईरहेको संस्था हो ।

प्रतिक्रिया दिनुहोस