बाजुरा :जिल्ला अस्पतालमा बाजुरामा रक्तसन्चार सेवा उद्घाटन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बाजुरा तथा स्वास्थ कार्यालय बाजुराको समन्वयमा रक्तसन्चार सेवा सञ्चालन गरिएको छ ।
शुक्रबार सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री तथा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्य समितिका महामन्त्री समेत रहेका मेघराज खड्काले रक्तसन्चार सेवा उद्घाटन गर्नुभएको हो । ब्लड बैंक उद्घाटन गर्नुहुँदै खड्काले रगतको अभावमा बिरामीको ज्यान जाने अवस्था आउँन नदिनको लागी अाकस्मित रक्तसन्चार सेवा सञ्चालन भएको बताउनुभयो ।
लामो समयको प्रयासपछि सञ्चालन भएको उक्त सेवाको निरन्तरताको लागि अस्पताल परिवार, स्थानीय सरकार र प्रदेशको तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । रक्त सन्चार सेवा निरन्तरता पाएपछी यहाँका नागरिक रगत अभावबाट छट्पटिनु पर्ने बाध्यताको अन्त्य हुने उहाँले बताउनुभयो।
अस्पतालमा रक्तसन्चार सेवा सञ्चालन भएसँगै यहाँ मात्रै नभई छिमेकी जिल्लाहरुका बिरामीहरुको लागि रक्तसेवामा सहज हुने विश्वास लिईएको छ । अथक प्रयास पछाडि ब्लड बैंक सेवा सञ्चालन गर्न सकिएको नेपाल रेडक्रस सोसाईटी बाजुराले बताएको छ ।
बाजुरामा तत्तकाल रक्तसञ्चार स्थापनाका लागि गएको माघ २१ गते जिल्ला प्रशासन कार्यालय बाजुरामा सरोकारवाला निकायहरुसंग छलफल गरिएको थियो।रक्त सञ्चार स्थापना गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र नेपाल रेडक्रस सोसाईटी बाजुराबीच २०८१ पुस २१ गते सम्झौता भएको थियो ।
जिल्ला अस्पताल बाजुरा र नेपाल रेडक्रस सोसाइटीमा ब्लड बैक नहुँदा समस्या हुदै आईरेको थियो। १५ शैयाको जिल्ला अस्पतालमा ब्लड बैंक नहुँदा रक्त सञ्चार आबश्यक परेका बेला सुत्केरी र बिरामीले रगत नपाउने अबस्था थियो । रगत नपाएर उपचारमा समस्या र अन्यत्र लिनुपर्ने सास्ति यहाँका नागरिकमा थियो ।जिल्लामा तत्काल रक्तसञ्चार स्थापना हुनु पर्ने स्थानियले बताउँदै आएका छन् ।
रक्तसञ्चारकाे स्थापना भए संगै यहाँका नागरिकले आकस्मिक र सामान्य रक्तसञ्चार सेवा,मझौला खालका सुविधा उपलब्ध भएका क्षेत्रहरुमा पनि शल्यक्रिया सेवा ,पाँउने भएका छन् । साथै अन्य रक्त बैंकहरुले पनि जीवन्त रक्त सेवाका विधि उपयोग गरी रक्तसञ्चारको व्यवस्थापन र सेवा अझ बढी सुदृढ एवं प्रभावकारी बनाउनु का साथै स्वास्थ्य संस्थाको आर्थिक स्थिति मजबुत बनाउन ब्लड बैंकले ठुलो सहयोग गर्ने भएको छ ।
रेडक्रस बाजुराका सभापति मेघराज जोशीको अध्यक्षतामा सञ्चालन भएको रक्तसञ्चार सेवा उद्घाटन कार्यक्रममा सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री तथा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्य समितिका महामन्त्री समेत रहेका मेघराज खड्का प्रमुख अतिथि रहेका थिए । त्यस्तै विशिष्ट अतिथिमा सुदुरपश्चिम प्रदेश सभा सदस्य जुना दानी रहनु भएको थियो।
कार्यक्रममा समिति उप(प्रमुख लाछु सार्की,प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याय,प्रहरी प्रमुख दिलिप कुमार गिरी,अस्पताल बाजुराका प्रमुख डाक्टर चन्द्रशेखर यादव,काँग्रेस बाजुराका उप( सभापती तथा निवर्तमान बडीमालिकाका नगर प्रमुख पदम बडुवाल,भुमि समस्या समाधान आयोग बाजुराका अध्यक्ष जनक रोकाया, स्थानीय समावसेवी तथा बुद्धिजीवि लगायत पत्रकारको सहभागीता रहेको थियो।
प्रतिक्रिया दिनुहोस