शनिबार, २८ बैशाख २०८२

एमालेले एक लाख युवा सडकमा उतार्न खोज्नुको औचित्य के ?

काठमाडौं : पछिल्लो समय राजनीतिक वृतमा कहिले राजावादीहरुले सडक तताएका छन् त कहिले गणतन्त्रवादी राजनीतिक दलले । सडकदेखि सदनसम्म वर्तमान व्यवस्था र सरकारको नेतृत्व गरिरहने राजनीनिक दलहरुको आलोचना नै आलोचना सुनिन्छ ।

व्यवस्था विरोधीहरुले गरिरहेको प्रदर्शनको माहोलन नसेलाउँदै सत्तारुढ दल नेकपा एमालेले पनि देशभरबाट एक लाख युवालाई राजधानीको भृकुटीमण्डपमा उतारेर वैशाख ११ गते अर्थात बिहीबार लोकतन्त्र दिवसको अवसरमा ‘युवा सम्मेलन’ गर्दैछ ।

निरंकुश राजतन्त्रले जनतासामु घुँडा टेकेपछि लोकतन्त्रको उदय भएको दिनका सम्झनामा एमालेले एक लाख युवा सडकमा उतारेर लोकतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउन कार्यक्रम आयोजना गरेको एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले बताएका छन् । बुधबार केन्द्रविन्द्र डट कमसँग टेलिफोन संवाद गर्दै उपमहासचिव ज्ञवालीले कसैको विरुद्धमा नभइ लोकतन्त्रको खुसीयालीमा एक लाख युवालाई लोकतन्त्रको महत्व, अर्थ, स्वतन्त्रताको महन्तवको बारेमा बुझाउने बताए ।

‘वैशाख ११ गते लोकतन्त्रको ऐतिहासिक दिन हो । जनताले जनआन्दोलनको जितपछि लोकतन्त्र हासिल गरेको दिन पनि हो । अहिले २०४६ सालपछि जन्मेका युवाहरु ३५ वर्षको हारीहारीका हुन लागे । २०६३ पछि जन्मेका युवाहरु पनि १८ वर्षको हुन लागे,’ उनले भने, ‘लोकतन्त्रमै जन्मेको युवाहरुलाई पनि लोकतन्त्रको महत्व, लोकतन्त्रको अर्थ, हिजो लोकतन्त्र नहँदा स्वतन्त्र नहुँदाको पीडा पनि थाहा छैन । त्यसैले यसै खुसीयालीमा लोकतन्त्रमा जन्मेका युवाहरुलाई लोकतन्त्रको बारेमा जानकारी गराउछौँ ।’

उनले अहिलेका लोकतन्त्रको बारेमा युवाहरुलाई बताउनु आवश्यक रहेको बताए । ‘लोकतन्त्रको महत्व, संविधानको महत्व, स्वतन्त्रताको महत्व बताइ राख्नुपर्छ । ताकि हाम्रा पुर्खाहरुले कति मेहेनत गरेर, कति बलिदानबाट प्राप्त गरेको हो भनेर युवाहरुले पनि जान्न आवश्यक छ ।’ उनको भनाइ छ ।

यसअघि गत शुक्रबार बुटवलमा आयोजना गरेको जागरसभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले युवा शक्ति के हो र एमाले शक्ति कस्तो हो भन्ने कुरा बैशाख ११ को युवा सम्मेलनले स्पष्ट पार्ने बताएका थिए ।
‘म देशभरबाट युवाहरूलाई वैशाख ११ गते काठमाडौंमा हुने युवा महोत्सवमा सरिक हुन आह्वान गर्दछु,’उनले भनेका थिए,‘त्यस युवा सम्मेलनबाट प्रतिक्रियावादी र अराजकतावादीले आफ्नै आँखाले देखुन्, आफ्नै कानले सुनून्, युवा शक्ति के हो र एमाले शक्ति कस्तो हो भन्ने ।’

उक्त सभामा प्रधानमन्त्री ओलीले राजावादी प्रदर्शनलाई लक्षित गर्दै १ हजार गोजीमा राखिदिएर युवालाई ढुंगा हान्न लगाएर राजतन्त्र नआउने बताए । ओलीको अभिव्यक्तिपछि राजावादीहरुले गरिरहेको प्रदर्शनविरुद्ध लोकतन्त्र दिवसको अवसरमा एक लाख युवा सडकमा उतार्न लागेको शंका उब्जिएको छ ।

तर, पछिल्लो समय व्यवस्था विरोधी समूह ९राजावादी०ले गरिरहेको प्रदर्शनलाई गणतन्त्रवादी राजनीतिक दलहरुले पनि सडकमै उत्रिएर प्रतिवाद गरिरहेका बेला एमालेले पनि राजावादीहरुले गरिरहेको गतिविधिहरुको प्रतिवादकै लागि एक लाख युवा सडकमा उतारेको भन्दै आंशका गर्न जरुरी नरहेको ज्ञवालीको तर्क छ ।

राजावादीहरुको विरोधमा नभइ लोकतन्त्रको खुसीयालीमा एमालले युवा सम्मेलन गर्न लागेको उनले बताए । उनले भने, ‘युवा सम्मेलनबाट देशको भविष्य लोकतन्त्रमा मात्रै छ भन्ने सन्देश त जान्छ । तर कसैको विरोधमा भने होइन । राजावादीहरुका विरुद्धमा युवाहरु परिचालन गर्न पनि आवश्यक छैन ।’

चैत १५ गते तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनको स्मरण गर्दै उनले हिंसात्मक ‘कु’ गर्ने प्रयास असफल भैइसकेको बताए । २०६२–६३ को जनआन्दोलनपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भएका दिनका रुपमा वैशाख ११ गते लोकतन्त्र दिवस मनाउने गरिन्छ । यस दिनलाई तत्कालिन विद्रोही नेकपा माओवादी लगायत सात राजनीतिक दलले गरेको २०६२–६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु निरङ्कुश राजतन्त्रले घुँडा टेकेपछि पूर्ण रुपमा देश लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा गएको थियो ।

युवा सम्मेलनमा के–के हुन्छ 

व्यवस्था विरोधी आन्दोलनकाच एक लाख युवालाई सडकमा उतारेर कार्यक्रम गर्नुको औचित्य के हो त भन्ने प्रश्न पनि उब्जिएको छ । तर लोकतन्त्रमा जन्मेका युवाहरुलाई लोकतन्त्रको बारेमा बुझाउनका युवा सम्मेलन गर्न लागिएको एमालेको निष्कर्ष छ ।

युवासम्बन्धी कार्यक्रम भएकाले राजनीतिक व्यक्तिहरुको भाषण धेरै नभएपनि प्रधानमन्त्री ओलीले भाषण गर्नेछन् । यस्तै युवाहरुले आफ्नो मनको कुरा राख्ने छन्। विभिन्न क्षेत्रमा आफ्नो विशिष्ट पहिचार बनाएका व्यक्तिहरुले ५–७ मिनेट भाषण गर्ने उपमहासचिव ज्ञवालीले बताए ।

उनका अनुसार कार्यक्रममा धरैजसो कन्सर्ट हुन्छन् । लोकतन्त्रको महत्व र देशभक्ति झल्काउने गीत गाउने र नाचगान हुन्छन् । लोकतन्त्रको अवधिमा नेपालले हासिल गरेका उपलब्धि सम्बन्धि केहि तथ्य तथ्याङ्लाई चित्रकलाको माध्यमबाट, भिडियो डकुमेन्ट्रीको माध्यमबाट युवाहरमा माझ प्रस्तुत गरिने छ ।

एमालेको कार्यक्रम भएपनि युवाहरुले नै कार्यक्रमको संयोजन गर्ने भएका छन् । लोकतान्त्रिक व्यवस्थाका लागि वैशाख ११ गते ऐतिहासिक दिन भएकाले उक्त दिनको बारेमा सबैले बुझ्न आवश्यक रहेको छ ।

कार्यक्रमका मञ्च प्रदर्शनी मार्गस्थित पद्यमोदय विद्यायलको अगाडि बनाइने र स्टल राख्न, चित्रकलामार्फत तथ्य तथ्याङ्क देखाउने, तस्बिर खिच्न, छहारीमा बस्नका लागि भृकुटीमण्डपभित्र पनि बुकिङ गरिएको एमाले केन्द्रिय कार्यालय सचिव भीष्म अधिकारीले बताए ।

ट्राफिक जाम हुन नदिन ट्राफिकसँग समन्वय गरेको सचिव अधिकारीले बताए । उपत्यकामा ट्राफिक असर नहोस् भनेर बाहिरबाट आएका गाडीहरुको व्यवस्थापनका लागि पार्किङको व्यवस्थापन गरिएको उनले बताए ।

युवा सम्मेलनका लागि युवाहरु निकै उत्साहित रहेको उल्लेख गर्दै युवा संघका अध्यक्ष क्षितिज थेवेले एक लाख युवाहरुले देश बनाउँछु भन्ने संकल्प गरेर अघि बढ्ने बताए। बुधबार गरिएको पत्रकार सम्मेलनमा उनले जनताले जितेको ऐतिहासिक दिनलाई नेपाली युवाहरूले सेलिब्रेशन गर्नुपर्ने बताए । यस्तै, लोकतन्त्रको उत्सवको रुपमा युवाहरु अघि बढ्नुपर्नेमा जोड दिए ।

एमालेको शक्ति र युवाको शक्ति देखाउन आयोजना गरिएको सम्मेलनमा देशभरिका विभिन्न ठाउँबाट स्वतस्पुर्ती ढङ्गबाट एक लाख युवाहरु आउने आंकलन गरिएता पनि आउने नआउने कुरा युवा सम्मेलनको उपस्थितिले नै स्पष्ट पार्ने छ ।

प्रतिक्रिया दिनुहोस