नेपालको सामाजिक र राजनीतिक परिप्रेक्ष्य पछिल्ला केही दशकहरूमा धेरै परिवर्तन भएको छ। लोकतन्त्र स्थापनादेखि संघीय शासन प्रणालीको कार्यान्वयनसम्म, देशले अनेकौं राजनीतिक मोडहरू पार गरेको छ। यद्यपि, यस्ता परिवर्तनहरूप्रति सबै वर्गहरूमा उत्साह देखिए पनि, नेपाली युवाहरूमा भने राजनीतिप्रति वितृष्णा बढ्दो छ। यो अवस्था चिन्ताजनक मात्र होइन, दीर्घकालीन लोकतान्त्रिक अभ्यासका लागि खतरनाक पनि हुन सक्छ।
युवाहरू राजनीतिलाई नेतृत्व, आशा, र परिवर्तनको माध्यमको रूपमा हेर्न चाहन्थे। तर समयक्रममा राजनीतिमा देखिएको भ्रष्टाचार, गुटबन्दी, र असक्षमता यिनै युवाहरूको मनमा वितृष्णा पैदा गराउने कारण बने। नेताहरूले गरेका वाचाहरू पूरा नभएको अनुभव, आफ्नो समस्याको समाधान नभएको बुझाइ, अनि पुराना अनुहारहरूको निरन्तरता युवालाई निराश बनाउने प्रमुख पक्ष हुन्।
बेरोजगारी, शिक्षित जनशक्तिको पलायन, र रोजगार सिर्जनामा सरकारको असफलता पनि युवाहरूको मोहभंगको ठोस कारण हुन्। जब देशभित्र अवसर छैन भन्ने अनुभूति बलियो हुन्छ, तब राजनीति केवल सत्ता र सत्ताको खेल जस्तो लाग्न थाल्छ।
नेपालमा अहिले सामाजिक सञ्जाल, सूचना प्रविधि, र स्वतन्त्र सोचको युग चलिरहेको छ। नयाँ पुस्ता अब केवल नेताहरूको भाषणमा विश्वास राख्दैन; उनीहरू तथ्य खोज्छन्, प्रश्न गर्छन्, र जवाफ माग्छन्। तर जब राजनीति जवाफदेही बन्न सक्दैन, तब ती युवा राजनीतिबाट टाढा हुँदै जान्छन्।
राजनीति युवाविनाको पूर्ण हुन सक्दैन। त्यसैले, राजनीतिक दलहरूले युवालाई समेट्ने, नेतृत्व दिन सक्ने, र नीतिनिर्माणको भाग बनाउने नीति अवलम्बन गर्नु अपरिहार्य छ। साथै, शिक्षा, स्वास्थ्य, र रोजगारीमा सुधार ल्याएर युवालाई देशमै अवसर दिन सक्ने वातावरण बनाउनु जरुरी छ।
यस्तै, राजनीतिक संरचनाभित्र स्पष्ट जवाफदेहीता, पारदर्शिता, र नेतृत्वको पुस्तान्तरण हुनुपर्छ। यदि राजनीतिले आफ्नो चरित्र सुधार्न सक्यो भने, युवाहरूले पनि राजनीतिलाई फेरि सकारात्मक दृष्टिले हेर्न थाल्नेछन्।
अवसरभन्दा पहुँच प्राथमिकता दिइनु
राजनीतिक दलहरूमा पहुँच भएका, नेता वा शक्तिशाली पृष्ठभूमिका युवालाई मात्र अगाडि ल्याउने प्रवृत्तिले आम युवामा हीन भावना र असहयोगी वातावरण बनाएको छ।
पुराना अनुहार र विचारको वर्चस्व
नेताहरू दसकौंदेखि त्यही अनुहार, त्यही शैली, र त्यही ‘भाषण’ बोकेर आउँछन्—अनि परिवर्तनका कुरा गर्छन्। युवाहरूले बुझिसकेका छन् कि ‘कुरा मात्र, काम छैन’ भन्ने।
राजनीति = भ्रष्ट्राचार र स्वार्थ
राजनीतिक दलहरूमा देखा पर्ने भ्रष्टाचार, नातावाद, र पार्टी स्वार्थले गर्दा राजनीति अब ‘सेवाभन्दा व्यापार’ को रूपमा देखिन्छ।
राजनीतिक हिंसा र अस्थिरता
राजनीतिक आन्दोलनहरूमा युवालाई अगाडि राखिन्छ, तर उपलब्धि नेताहरूले बटुल्छन्। हिंसात्मक आन्दोलनहरूमा संलग्न भएर पनि केही हासिल नहुनु युवाहरूको मनोबल कमजोर बनाउने कारण हो।
प्रविधिको असर र विश्व सन्दर्भ
सामाजिक सञ्जालमार्फत युवा पुस्ताले विश्वभरका राजनीतिक प्रणाली र दक्ष नेतृत्व देखिरहेका छन्। त्यसको तुलनामा नेपालको राजनीति सुस्त, स्वार्थी र ढिलो देखिन्छ।
राजनीतिक शिक्षा र मार्गदर्शनको अभाव
विद्यालयदेखि नै राजनीति विषयको सही ज्ञान नदिइनु, र युवाहरूलाई नेतृत्वतर्फ लैजाने संरचना नहुनुले उनीहरूलाई ‘राजनीति त फोहोर’ भन्ने सोचमा पुर्याउछ । तर यथार्थ के हो भने, राजनीति नै परिवर्तनको मूल साधन हो। यदि युवाहरू राजनीतिबाट टाढा भए भने, पुरानै अनुहारहरूले देशलाई जस्ताको तस्तै बनाइराख्नेछन्।
युवाहरू कुनै पनि राष्ट्रको मेरुदण्ड हुन्। उनीहरूको राजनीतिप्रतिको वितृष्णा देशको भविष्यका लागि खतराको संकेत हो। त्यसैले, युवालाई अवसर, भरोसा, र मंच दिनु हाम्रो साझा जिम्मेवारी हो। राजनीति फेरिनुपर्छ, ताकि युवा फेरि राजनीतिमा विश्वास गर्न सकून्।
प्रतिक्रिया दिनुहोस