आज हामी गाउँमा विकासको कुरा गर्छौं। “गाउँगाउँमा सिंहदरबार” भन्ने नारा सुनिन्छ, योजनाहरू आउँछन्, सभा-गोष्ठी हुन्छन्। तर गाउँको वास्तविकता हेर्दा, त्यो विकास खोक्रो लाग्न थाल्छ। किनभने विकासको जरो मानिने युवाशक्ति नै गाउँबाट हराउँदै गएको छ।
गाउँको वास्तविकता :
गाउँका गल्लीहरू सुनसान छन्। खेतबारी बाँझो छन्। चाडपर्वमा रमाइलो गर्नेदेखि लिएर साना काम गर्नेसम्मको उमेर समूह,युवाहरू आज गाउँमा छैनन्। सबैजना विदेशिएका छन्। कोही मलेसिया, कोही कतार, कोही कोरिया कोही गाउँ छोडेर सहर छिरेका छन् । न त यो विदेश चाहेर हो, न सपना पूरा गर्न हो; यो बाध्यता हो। देशमा रोजगारको अभावको बाध्यता भएको छ विदेशिनु पर्ने कुनै रहर छैन युवा पुस्ता मा त्यो घरपरिवार खुसी को लागि विदेसिए का छन ।
पहिलेको समयमा गाउँमा उच्च शिक्षामा पुग्ने विद्यार्थी निकै कम थिए । अहिलेको पुस्ताले धेरै पढे पनि “के नै गर्न सकिन्छ र?” भन्ने सोच व्यापक हुँदै गएको छ, जसका कारण +२ पछि पढाइ छाड्नेहरूको संख्या बढ्दो छ । राज्यले शिक्षित युवालाई अवसर र सुविधा दिन नसक्दा उनीहरू विदेशिन बाध्य छन् । आगामी दुई दशकमा गाउँमा शिक्षक बन्ने वा राजनीतिमा संलग्न हुने सम्भावना न्यून हुन सक्छ, किनभने अबको पुस्ता नेपालमै केही छैन भन्ने सोचमा पुगेको छ । अर्कोतर्फ, राजनीति आफन्तको पहुँच र चाकरीको खेल बनेको देखिँदा इमानदार र योग्य युवाहरू राजनीति बाट टाढिँदै छन् । सञ्जाल र सिफारिसका आधारमा मात्र अगाडि बढ्न पाइने प्रवृत्तिले युवामा वितृष्णा झनै गहिरिँदै गएको छ, जसले दीर्घकालमा गाउँको नेतृत्व विकासमा गम्भीर असर पार्न सक्छ ।
सानोतिनो बिरामी हुँदा अस्पताल लैजाने कोही छैन। बाआमाले बृद्धभत्ता लिएर घरमा बस्न त सक्छन्, तर साहारा छैन। गाउँ घरमा रोड पुगेका छन् ।केही ठाउँ त अझ अहिले पनि सडक को पहुँच पुगेको छैन । गाउँमा भवन हुन सक्छ, तर कार्यक्रम गर्ने मान्छे छैन। विकासका संरचनाहरू छन्, तर आत्मा छैन। किनकि युवाहरू छैनन् विकासको प्रश्न : कसका लागि ? हामी विकास गरिरहेछौं भन्ने कुरा सुनिन्छ। तर सोध्न मन लाग्छ, यो विकास को लागि? गाउँको ७०-८० प्रतिशत युवा विदेशी भूमिमा पसिना बगाइरहेका छन् भने, गाउँमा बनेका सडक, भवन, सभाहल आखिर केका लागि?
धनी दिनानुदिन धनी बन्दैछन्। गरिब भने झन् झन् गरिव हुँदै छन्। स्रोतसाधन धनी वर्गसँग छ। योजना धनी नेतासँग छ। अनि हामी भन्छौं, विकास हुँदैछ। यस्तो असमानता बीचको विकास वास्तवमै विकास हो त? कहिले सम्म समानता हुन सक्छ ।विकासको नाममा भाषण, तर समाधान छैन, गाउँमा कार्यक्रम हुन्छन्। नेताहरू आउँछन्, भाषण दिन्छन्”गाउँमै रोजगारी सिर्जना गर्छौं। युवालाई देशमै अवसर दिन्छौं।” तर यस्ता भाषणहरू यति धेरै सुनिसकियो कि अब ती शब्दहरूमा अर्थ नै छैन। गाउँलेहरू भाषण सुन्दैनन्, किनकि त्यो सुन्ने युवा नै गाउँमा छैन।
अबको बाटो: समाधान के हो?
अब हामीलाई नारा होइन, नीति चाहिन्छ। भाषण होइन, व्यवहारिक कार्यक्रमहरू आवश्यक छन्। गाउँका युवालाई गाउँमै टिकाउने वातावरण निर्माण गर्नु नै अबको आवश्यकता हो।सीपमूलक तालिम, कृषि तथा प्रविधिको प्रयोग, साना उद्यमहरूमा सहुलियत, र स्वदेशमै रोजगारी सिर्जना गरिएमा आज गाउँहरू रित्याउने होइन, फर्किने थलो बन्न सक्थे। सरकारी योजनाहरू कागजमा मात्र सीमित नभई, व्यवहारमै कार्यान्वयन भएका भए, युवाले देश छोड्नुपर्दैनथ्यो।
यदि हामीले युवालाई गुमायौं भने, गाउँको विकास सम्भव छैन। भौतिक संरचनाहरू केवल देखावटी बन्छन्। साँचो विकास त्यो हो ।जहाँ युवा गाउँमै बाँच्न, जीवन जिउन, परिवारसँग रमाउन र माटोको गन्धमै भविष्य देख्न सकून्।
फेरि नी समय आएको छ । गफ होइन, कार्यको देखावटी योजनाहरू होइन, युवालाई जीवन दिन सक्ने सम्भावनाहरूको खोजी नीति योजना हुनु पर्दछ ।
प्रतिक्रिया दिनुहोस