सोमबार, ०९ बैशाख २०८२

मदन भण्डारी फाउन्डेशन बाजुराको नेतृत्व चयन : फेसबुकमै घोषणा, फेसबुकमै बधाइ

बाजुरा : मदन भण्डारी फाउन्डेशन बाजुरा शाखाको नेतृत्व चयनका विषयलाई लिएर व्यापक विरोध भइरहेको छ । वर्तमान कार्यसमितिलाई समेत जानकारी नै नदिइ सीमित व्यक्तिहरुको चियागफबाटै छापामार शैलीमा नेतृत्व चयनको प्रचार गरिएको प्रति विरोध बढेको छ । सामाजिक सञ्जालमा देखिए अनुसार जनक विष्ट अध्यक्ष रहने गरि नयाँ नेतृत्व चयन गरिएको दाबी गरिएको छ । 

दोस्रो जिल्ला अधिवेशनको नाम दिएर उपस्थिति नभएकै व्यक्तिलाई पदाधिकारी बनाइएको छ । नेकपा एमाले भित्र जबरजस्ती गुट निर्माणको सुरुवाद गर्ने गरि अवैध कमिटी गठन गरिएकोमा वर्तमान पदाधिकारीहरुले नै विरोध गरेका छन् । लामो समयदेखि फाउन्डेशनको जिल्ला अध्यक्षमा पुरबहादुर रावत थिए । हाल उनी नेकपा एकीकृत समाजवादी पार्टीको जिल्ला अध्यक्ष छन् । 

निश्क्रिय जस्तै रहेको फाउन्डेशनलाई पुर्नजीवन दिने बाहनामा गुट निर्माण गरिएकोमा समितिकै सदस्यले आपत्ती जनाएका छन् । अधिवेशन बारे उपाध्यक्ष अमर खड्काले समेत जानकारी पाएका थिएनन् । सामाजिक सञ्जालमा देखिए अनुसार नेतृत्व बैशाख ५ गते गठन गरिएको देखिन्छ । 

कुनै विधी प्रक्रिया र वैधानिकता विपरित एक होटलको खाजा खाने टेबलमा बसेर रजिष्टरमा नाम लेखिएको पाइएको छ । केन्द्रीय प्रतिनिधीका रुपमा बाजुरा आएका हरिदेव जोशीको निर्देशन र नेकपा एमाले नेता भरत थापाको समन्वयमा हतार पतार गठन गरिएको देखिन्छ । थापा एमाले बाजुराको आठौं जिल्ला अधिवेशनमा अध्यक्षमा पराजित भएका थिए । 

फेसबुकको बधाई सूचीलाई आधार मान्ने हो, भने अध्यक्षमा जनक विष्ट, उपाध्यक्ष मानबहादुर रोकाया, सचिव नरेन्द्र थापा, कोषाध्यक्ष कल्पना साउँद रहेको कमिटी बनेको छ । कमिटीमा बसेका अध्यक्ष विष्ट एमाले आठौं जिल्ला अधिवेशनमा सचिवमा पराजित उम्मेदवार हुन् । भने उपाध्यक्ष रोकाया र कोषाध्यक्ष साउँद उपसचिवमा पराजित उम्मेदवार हुन् । सचिव सचिवको भूमिका पाएका नरेन्द्र थापा गठनको दिन काठमाडौंमा थिए । हालसम्म पनि फर्केका छैनन् ।

बैशाख ४ गते राती जनक विष्टलाई कोल्टीबाट मार्तडी बोलाएर ५ गते विहान रजिष्टरमा समितिमा बस्नेको नाम लेखिएको र सोही दिन कोल्टी गएर बुढीनन्दा महोत्सवमा सहभागि भएको फेसबुककै फोटो प्रमाणले पुष्टी गरेको छ । 

नेकपा एमाले निकट व्यक्तिहरुलाई एकीकृत गर्ने र एमालेका विचार, कार्यक्रमलाई जनतामाझ लैजान फाउन्डेशनको परिकल्पना अनुसार नै गठन गरिएको छ । खेलकुद देखि सामाजिक सेवाका कार्यक्रम गर्दै आएको फाउन्डेशनमा छापामार शैली प्रयोग गरिएको प्रति एमाले बाजुरा भित्रै बहसको विषय बनेको छ । मदन भण्डारी फाउन्डेशनलाई एमालेको विधान आकर्षण हुदैन् । तरपनि एमालेकै विचार बाँड्न र विस्तार गर्नका लागि स्थापना गरिएको संस्था भएकोले एमालेकै विभाजन टुटफुट र गुट बनाउने शैली प्रयोग गर्न नहुनेमा नेताहरु सचेत छन् । 

फाउन्डेशनका पदाधिकारी सदस्यलाई समेत थाह नदिएर गठन गरेको समितिलाई बैधानिकता दिन नहुने सन्देश सहीत केन्द्रीय कमिटीलाई समेत जानकारी गराइसकिएको श्रोतको दाबी छ । यही समिति गठनको विषयले पनि नेकपा एमाले बाजुरामा गुटगत प्रतिस्पर्धालाई प्रश्रय दिएको देखिन्छ । 

चार जना पदाधिकारीको मात्रै नाम राखेर फेसबुकमै घोषणा र फेसबुकमै बधाई दिने कुरा गम्भीर आपत्ती जनक र गैर जिम्मेवार भएको देखिन्छ । घोषीत नाममै सहमति गर्न परेपनि सामुहीकतामा विश्वास गर्दा र सबैलाई समेटेर लैजाने मनसाय नराखेको विषय प्रति शंका र अविश्वास सिर्जना गरिएको छ ।

तल्लो तहका नेताहरुले आफूअनुकुल गर्दा माथिल्लो तहका नेताहरुलाई विना कारण गुटबन्दीको आरोप सहनु पर्ने र सिकार हुनु पर्ने अवस्था बाजुरा सहीतका जिल्लामा बढेको देखिन्छ । जननेताको सम्मान र सम्झनामा स्थापना गरिएको संस्थालाई अपमान हुने गतिविधीले कमजोर पार्न खोजिनु दुखत विषय हो । 
 

प्रतिक्रिया दिनुहोस