बैतडी: विद्यार्थी भर्नाका लागि प्रचारमा गएको बसको ढोकाबाट खसेर एक जना शिक्षकको मृत्यु भएको छ । शनिवार साँझ दार्चुलाको गोकुलेश्वर स्थित चौलानी बोडिङ्ग स्कुलको प्रचारप्रसारमा गएका शिक्षकको महाकाली राजमार्ग अन्तरगत डिलाशैनी गाउँपालिका ६ बाँगावगरमा बसको ढोकाबाट खसेर मृत्यु भएको हो ।
गोकुलेश्वर बजारबाट बैतडीको दोगडाकेदार गाउँपालिका सिमानातिर गइरहेको उक्त विद्यालयको सु।प्र ०४, ००१क ०००९ नम्बरको बसको ढोकाबाट खस्दा दोगडाकेदार गाउँपालिका ४ का अन्दाजी २६ वर्षीय विष्णुदत्त भट्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वर प्रहरी निरीक्षक किशोर ऐरीले बताउनुभयो ।
विद्यार्थी भर्नाको प्रचारप्रसार बाट फर्कँदै गर्दा शनिवार साँझ सवा ५ बजेतिर शिक्षक भट्ट बसको ढोकाबाट खसेर घाइते हुनुभएको थियो । उहाँलाई नजिकैको गोकुलेश्वर अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक ऐरीले बताउनुभयो ।बस र चालक अहिले इलाका प्रहरी कार्यालय गोकुलेश्वरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस