धनगढी : नेकपा एमाले केन्द्रीय सदस्य तथा नेपाल सरकारका पूर्व मन्त्री पदम गिरीले वर्तमान सरकारले नै देशलाई निकास दिनु पर्ने धारणा राखेका छन् । देशकै दुई ठूला दलहरु मिलेर राजनीतिक स्थायीत्वका लागि सत्ता सहकार्य गरिसकेपछि असफल हुने र गर्न सकिएन भन्ने छुट नहुने धारणा गिरीको छ ।
सुदूरपश्चिमका पहाडी जिल्लाको भ्रमणका क्रममा बाजुरा पुगेका गिरीले केपी शर्मा ओली नेतृत्वको सरकार राजनीतिक अस्थीरताको अन्त्यका लागि बनेको दाबी गरे । बडीमालिका नगरपालिकाले मार्तडी गरेको स्वागत समारोहमा गिरीले सरकार बनाउने र भत्काउने खेलको अन्त्य गरिनु पर्ने बताए ।
लामो समय सरकार बनाउने र गिराउनेमै समय सकियो, विकास निर्माणमा ध्यान नै दिएजस्तो भएन्, गिरीले भने–‘अब अस्थीरता अन्त्य हुनु पर्छ, विकास निर्माण र देशमा सुशासन कायम भएको जनतालाई अनुभूति गराउनु पर्छ, त्यसको नेतृत्व र जिम्मवारी नेपाली काँग्रेस र नेकपा एमालेले लिनु पर्छ । दुबै दलसँगै बाहना गर्ने छुट छैन र हुनु हुदैन् ।’
राजनीतिक अस्थीरता देश विकासको बाधक बन्यो, अब त्यो सिकाइ नेताहरुमा हुनु पर्छ, त्यसैमा ठूला दल काँग्रेस एमाले अरुभन्दा जिम्मेवार हुनु पर्छ । ओली र देउवा दुबैजना नेताहरु यसमा जानकार देखिनु हुन्छ, गिरीले भने ।
नेकपा एमाले संसदीय दलको प्रमुख सचेत समेत भइसकेका गिरीले सामाजिक सञ्जालको आक्रोश र विरोधलाई नै नजरअन्दाज गरेर धारणा बनाउन नहुने बताए । उनले ओली नेतृत्वको सरकार बनेदेखि देशमा आशको सञ्चार भएको र सबै क्षेत्रमा व्यापक सुधार देखिएकोले अराजनीतिक र अराजक भीडको पछि नलाग्न आग्रह गरे ।
अर्थतन्त्रले निकास पाएको छ । उद्यम विकास र उत्पादन बढेको छ । अर्थतन्त्रका सूचक उकालो यात्रामा छन् । सबैतिर राम्रो हुदैन्, यत्तीले मात्रै छिटो अर्थतन्त्र सुधारको हुटहुटी पालेका जनतालाई थप सुधार गर्दै सरकार परिणाम देखाउने गरि लागि परेको बताए । उनले राजावादी नामको आन्दोलनलाई उल्टो बाटोको संज्ञा दिएका छन् ।
उल्टो बाटो हिँडेर गन्तव्य पुगिन्न र त्यो संभव पनि छैन् । भ्रमको पछि नलाग्न आग्रह गर्दै नेपालका पहाडी गाउँलाई सडक र सुविधासँग जोड्नु पर्नेमा जोड दिए । गाउँ पुग्ने सडक बनेका छन् । तर कच्ची छन् । समयमै कालोपत्रे गरेर गाउँसँग सहज पहुँच जोड्न सके यहाँको उत्पादनले बजार पाउने र जीवन स्तरमा सुधार आउने बताए ।
सुदूरका पहाडलाई सुविधाले शहर बनाउन मिल्ने देखियो, संभावना धेरै छ । तरकारी देखि स्थानीय रैथानी बालीको उत्पादन, स्याउ देखि सुन्तलासम्म सिमीदेखि जडिबुटीसम्म यस्तो संभावनालाई सरकारले अवसरमा बदल्ने गरि काम गरिदिनु पर्छ, त्यसका लागि सबैले पहल गरौं गिरीले थपे ।
ठाउँ सुन्दर छन् । संभावना प्रचुर छ । तर अभाव, समस्या र निराशा देखिन्छ । राज्यले पनि गर्नु पर्ने जति लगानी नगरेको रैछ, अब देशको अवस्था बदल्न पहिला दुर्गम गाउँको जीवन र दैनिकी बदल्न पर्छ, त्यसमा मैलेपनि पहल गर्छु, तीनवटै सरकारको सहकार्य रहनु पर्छ, त्यसैमा यहाँका जनप्रतिनिधी थप जिम्मेवार हुनु पर्छ, गिरीले भने ।
बाजुरा सहीतका सुदूर र कर्णालीका पहाडी क्षेत्रलाई एकीकृत पर्यटन विकासको गुरु योजना बनाएर जोड्नु पर्नेमा जोड दिए । मुगुको रारा, हुम्लासँग जोडिएको मानसरोवर, बाजुराको बडीमालिका, खप्तड र अन्य गन्तव्यहरुलाई पर्यटन गुरु योजना बनाएर विकास गर्न सके सिंगो देशकै आर्थिक अवस्थामा सुधार आउने उनले बताए ।
बडीमालिकाका तर्फबाट नगर प्रवक्ता धर्मराज पाध्यायले पूर्व मन्त्री गिरी सहीत सँगै रहेको टिमलाई स्थानीय उत्पादन उपहार दिएका थिए । राष्ट्रिय युवा संघ र प्रेस चौतारी नेपालले पनि बधाई सहीत मायाको चिनो दिएको थियो । बाजुरा क्याम्पसमा स्वागत सहीत क्याम्पसको अवलोकन समेत गराइएको स्ववियु सभापति लक्ष्मण रोकायाले जानकारी दिए । शुक्रबार बुढीनन्दा महोत्सव उद्घाटन गरेका गिरीले यतिबेला सुदूरका पहाडको भ्रमण गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस