काठमाडौँ : सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छन् । शुक्रबार समूहको सम्पन्न ९ औं महाधिवेशनले अध्यक्ष र ५ पदाधिकारीसहित ८ जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।
समूहको महासचिवमा भने राधा खनाल सर्वसम्मतिले चयन भइन् । समूहको उपाध्यक्षमा बसन्ती बास्तोला, सचिवमा उर्वशी बस्न्यात र कोषाध्यक्षमा साजना तामाङ निर्वाचित भएका छन् ।
यसैगरी समूहको केन्द्रीय सदस्यहरूमा कालिका शिवाकोटी, कल्पना शर्मा, अजवी पौड्याल, दीपा रेग्मी, तारा चापागाईं, देवी सापकोटा, विष्णु पन्थी र सम्झना वन निर्वाचित भएका छन् ।
नव निर्वाचित अध्यक्ष पन्थीले सञ्चारिका समूहको उद्देश्यअनुसार काम गर्ने बताइन् । ‘सञ्चारिका स्थापनाको लक्ष्यलाई नै हामीले बलियो ढंगबाट अगाडि बढाउने छौँ,’ उनले भनिन् ।
समूहको निवर्तमान अध्यक्ष विमला तुम्खेवाले नवनिर्वाचित कार्यसमितिलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिइन् ।
‘यो नवनिर्वाचित कार्यसमितिले महिला सशक्तीकरणको आवाजलाई मिडियामार्फत अझ सशक्त ढंगले अगाडि बढाउँछ भन्ने मेरो विश्वास छ,’ उनले भनिन्, ‘साथै महिलाको मुद्दालाई बलियोसँग अगाडि बढाउन मेरो शुभकामना छ ।’
प्रतिक्रिया दिनुहोस