शनिबार, ०७ बैशाख २०८२

आफैले बोकेको बन्दुक पड्किदा डोटीमा एक सिकारी युवकको मृत्यु, १० जना पक्राउ

धनगढी : डोटीमा जंगली जनावरको सिकार खेल्न गएका बेला भरूवा बन्दुक पड्किएर एक युवकको मृत्यु भएको छ । बिहीबार दिउँसो भरूवा बन्दुक पड्किएर बडिकेदार गाउँपालिका–२ बस्ने २४ वर्षीय नरेश सार्कीको मृत्युु भएको प्रहरीले जनाएको छ ।

उनीहरु बडिकेदार गाउँपालिका–१ को बर्छेन जंगलमा सिकार खेल्न गएका थिए । डोटीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विनोद शर्माले बडिकेदार गाउँपालिका–१ रजेडा बस्ने ४८ वर्षीय कमलसिंह खड्काले बोकेको भरुवा बन्दुकको बट रुखमा ठोक्किदा बन्दुक पड्किएर सार्कीको छातीमा गोली लागेको पाइएको बताए ।

दाँया छातीमा गोली लागेका सार्कीको घटनास्थलमा मृत्यु भएको उनले बताए । घटनाको अनुसन्धानका लागि प्रहरीले १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडिकेदार गाउँपालिका– १ बेडुपाटा खोलाको किनारमा रहेका बन्दुक बोक्ने ४८ वर्षीय कमल सिंह खड्का,२६ वर्षका खेम खड्का, ५२ वर्षका तारा सिंह खड्का रहेका छन् ।

यस्तै, ३९ वर्षका तेजेन्द्र भाट, ४० वर्षका अमर शाह, ३१ वर्षका चक्र भाट, १८ वर्षका सुनिल बम,३७ वर्षका गणेश ब. घर्ती मगर, ७१ वर्षीय मानबहादुर शाह र २६ वर्षीय  जुलेश नामजाली मगरलाई पनि पक्राउ गरेको एसपी शर्माले बताए । उनीहरूलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस