शनिबार, ०७ बैशाख २०८२

अछामका आगलागी पीडितलाई मन्त्री पालले भने- थप राहतका लागि पहल गर्नेछु !

धनगढी :  सुदूरपश्चिम प्रदेशका भाैतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर  पालले आगलागीबाट अछामकाे जयगढ बजारका संरचनाकाे निरीक्षण गरेका छन् । जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहित मन्त्री पाल बुधबार आगलागीबाट क्षतिग्रस्त  बान्नीगढी जयगढ गाउँपालिका-३ मा पर्ने जयगढ बजार पुगेका थिए ।

त्यहाँ क्षतिग्रस्त संरचनाको निरीक्षण र प्रभावितहरूसँग भेटेका मन्त्री पालले पहिलो चरणमा प्रदेश सरकारले राहत स्वरूप ५० लाख दिने निर्णय गरिसकेको बताए । थप सहयाेग आवश्यक पर्ने अवस्था देखिएमा पहल गरेर व्यवस्थापन गर्ने बताए । मन्त्री पालसँगै एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैशी समेत प्रभावित क्षेत्र पुगेका थिए ।

उनीहरूले त्यहाँ गाउँपालिका अध्यक्षसहितका जनप्रतिनिधिसँग छलफल समेत गरेका थिए । यस्तै, मन्त्री पालले बुधबार नै मेल्लेख गाउँपालिका-६ काे नन्देश्वरी माध्यमिक विद्यालयले आयाेजना गरेकाे महायज्ञकाे उद्घाटन समेत गरेका छन् । विद्यालयले आयाेजना गरेकाे श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महाेत्सवकाे उद्घाटन गरेका हुन् ।

विद्यालयले पाललाई महायज्ञ उद्घाटनका लागि प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेकाे थियो । महायज्ञ उद्घाटन गर्दै मन्त्री पालले धार्मिक पर्यापर्यटनकाे माध्यमबाट समेत प्रदेशकाे आर्थिक विकास गर्न सकिने बताए । साेही उदेश्य राखेर प्रदेश सरकारले धार्मिक तथा ऐतिहासिक स्थलकाे पहिचान गरेर पूर्वाधार निर्माणका काम समेत अघि बढाएकाे मन्त्री पालकाे भनाइ थियो । 

स्थलगत अनुगमनका लागि नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशी पनि सहभागि थिए । गृहजिल्ला पुगेका जैशीले राज्यले उचित न्याय हुने गरि संवोधन गर्नु पर्नेमा जोड दिएका छन् । 

प्रतिक्रिया दिनुहोस