शनिबार, ०७ बैशाख २०८२

राष्ट्रिय युवा संघ कप भलिबल प्रतियोगिताको उपाधि डोटीलाई

धनगढी : राष्ट्रिय युवा संघ कप भलिबल प्रतियोगिता २०८१ को उपाधि डोटीले जितेको छ । टिम मालिकार्जुन दार्चुलालाई फाइनल खेलमा हराउँदै राष्ट्रिय युवा सङ्घ डोटीले उपाधी जितेको हो । लागू पदार्थ दुव्र्यसनी रोक्न सचेतना फैलाउने उद्देश्यले राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले भलिबल आयोजना गरेको हो ।

सहभागि ६ टिमलाई पछि पार्दै उपाधी जितेको डोटीले दुई लाख २५ हजार नगद ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ, भने उपविजेता बनेको टिम मालिकार्जुनले एक लाख २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । 

यस्तै तेस्रो भएको राना थारु आदर्श युवा क्लब धनगढीले ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान प्राप्त गरेको थियो । शाह पोल्ट्री फर्मलाई हराउँदै राना थारु आदर्श युवा क्लबले तेस्रो स्थान हासिल गरेको हो ।

खेलका उत्कृष्ट खेलाडीहरूलाई पनि नगदसहित सम्मान गरिएको छ । प्रतियोगितामा वेस्ट डिफेन्डर डोटीका राजेश रावल भए भने त्यस्तै वेस्ट ब्लकर डोटीकै जितबहादुर ढुङ्गाना हुँदा वेस्ट सर्भिसर पनि डोटीका विनीत राना भएका थिए ।

वेस्ट सेटर मालिकार्जुनका लोकेन्द्र गिरीले हात पार्दा, वेस्ट स्पाइकर मालिकार्जुनका बलदेव धामी भएका छन् । वेस्ट पिलियरको उपाधी डोटीका सुरेश मल्लले प्राप्त गरेका थिए । उनीहरूलाई पनि नगद, ट्रफी, मेडल र प्रमाण पत्रले पुरस्कृत गरिएको राष्ट्रिय युवा संघ सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष अरुण कुँवरले जानकारी दिए ।

नेकपा एमाले महासचिव शङ्कर पोख्रेलले चैत्र २९ गते खेलको उद्घाटन गरेका थिए । खेलको समापन भने राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय इन्चार्ज राजीव पहाडीले गरेका हुन् । उद्योणमन्त्री दामोदर भण्डारी आउने भनिएपनि अन्तिममा कार्यव्यस्तताले उपस्थित नभएको बुझिएको छ । 

समापन समारोहका प्रमुख अतिथि पहाडीले नेकपा एमालेको नेतृत्वको सरकारले खेलकुदमा प्रतिफल आउने गरि लगानी गरिरहेको बताए । राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले सृजनशील काम गरेको भन्दै अध्यक्ष अरुण कुवँरसहितको टिमलाई पहाडीले धन्यवाद दिए ।

लागू पदार्थ दुव्र्यसनी रोक्न सचेतना फैलाउने उद्देश्य राखेर आयोजना गर्ने कुरा नै महत्वपूर्ण रहेको उनले बताए । खेल क्षेत्र प्रतिको आकर्षण बढाउने कुरा त, छँदै छ, त्यसैमा युवाहरुमा देखिएको लागुऔषध दुव्र्यशनी विरुद्धको नारा लिएर कार्यक्रम आयोजना हुनुले नै सकारात्मक सन्देश दिएको छ । सुदूरपश्चिम त्यसैमा कैलाली र कंचनपुर लागुऔषध प्रयोग कर्ताको हबका रुपमा विकास हुँदै गएको छ । 

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय महासचिव सुमन पुरी, पूर्व अध्यक्ष बचनबहादुर सिंह र स्थायी कमिटी सदस्य समेत रहेका सुदूरपश्चिम सह इन्चार्ज गणेश थापाले पनि भलिबल प्रतियोगिता आयोजना गरेर राष्ट्रिय युवा संघ सुदूरपश्चिमले खेलकुदलाई प्रवद्र्धन गरिरहेको बताए । उनीहरुले केपी ओली नेतृत्वको सरकारले अहिले जनतालाई आसा जगाउने काम गरिरहेको बताएका थिए ।

संघका प्रदेश अध्यक्ष अरुण कुँवरले आगामी दिनमा पनि आफूहरूले खेलकुदसहित अन्य विभिन्न माध्यमबाट युवाहरूमा पलाइरहेको निराशा अन्त्य गर्ने र लागू पदार्थ दुव्र्यसनी रोक्न गतिविधिमा अभियानकै रुपमा अघि बढाउने बताए । खेल आयोजनका लागि सरकारी तथा गैर सरकारी र निजि क्षेत्रले सहयोग गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस