आइतबार, ०१ बैशाख २०८२

असिनाले बालीनालीमा क्षति

बैतडी : बैतडीमा असिनापानीले बालीनालीमा क्षति गरेको छ। शनिबार दिउँसो परेको असिनाले काटेर भित्र्याउने बेलाका गहुँबालीसँगै साग, तरकारीका बेर्ना र फलफूलमा क्षति गरेको हो। रोप्न तयार पारेका तरकारीका  बेर्नाको नामोनिसान नरहने गरी नष्ट पारेपछि यहाँका किसान चिन्तित भएका छन्। 

शनिबार दिउँसो तीन बजेतिर परेको असिनापानीले पाटन नगरपालिका वडा नं ८ र ९  मा अन्नबाली तथा तरकारी खेतीमा व्यापक क्षति गरेको किसान जयन्ती बिजले बताउनुभयो।

यसैगरी सूर्नया गाउँपालिकाको वडा नं ६ को मुसे, रौटेलगायत गाउँमा परेको असिनापानीले यहाँका किसानको पाक्न लागेको गहुँबाली सखाप पारेपछि बर्खाको समय अब के खाने भन्दै चिन्तामा परेको किसान उद्धवबहादुर चन्दले बताउनुभयो।

शनिबार ३ बजे दिउँसो मुसलधारे वर्षासँगै परेको असिनापानीले यहाँका अधिकांश किसानको गहुँबालीमा क्षति भएको सूर्नया गाउँपालिका ६ का किसान पदमराज भट्टले  बताउनुभयो। 

असिनाले बैतडीका धेरैजसो गाउँमा किसानको गहुँबाली, सागपातका बेर्ना र फलफूलमा क्षति गरेपछि अहिले यहाँका किसान चिन्तित भएको ज्याफूका लोकबहादुर ऐरीले बताउनुभयो।

शनिबारको असिनापानीले बैतडीका विभिन्न ठाउँमा ठुलो क्षति गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। तरकारी र हिउँदेबालीलाई अहिले असिनापानीले क्षति गरेपछि यहाँका किसान तनावमा छन्। पाक्न थालेको बाली असिनापानीले सबै नष्ट पारेपछि के खाएर बस्ने भन्ने चिन्ता पर्न थालेको किसान बिर्मा भण्डारीले बताउनुभयो।

असिनापानीले गहुँबालीमा मात्र क्षति नभई यहाँका किसानको तरकारी तथा फलफूल खेतीमा समेत ठुलो क्षति गरेको पाटन नगरपालिका ९ की कमला भण्डारीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘असिनापानीले कहाँ के कति क्षति भएको भन्ने कुरा एकिन भइसकेको छैन।’

पाटन नगरपालिका वडा नम्बर ८, ९ र  सूर्नया गाउँपालिका वडा नं ६ लगायतका  क्षेत्रमा असिनापानीले गहुँबालीमा क्षति गरेको भन्ने कुरा जानकारीमा आएको पाटन नगरपालिका वडा नम्बर ९ का अध्यक्ष कालु सिंह भाटले बताउनुभयो । उहाँले भन्नुभयो, कहाँ के कति क्षति भएको छ भन्ने कुरा एकिन गर्ने गरी भोलि किसानको खेतबारीमा जाने तयारी गरिरहेका छौं। ’ 

प्रतिक्रिया दिनुहोस