बागलुङ : गायिका एलिना चौहानले डिभोर्स गरेको तीन महिना बितिसकेको छ। व्यक्तिगत जीवनमा प्रेम छुटे पनि संगीतप्रति उनको प्रेम झन् गाढा बन्दै गइरहेको छ । डिभोर्स र व्यक्तिगत अनुभव उनको आफ्नै कुरा भए पनि उनका गीतहरू धेरै स्रोताको साझा अनुभूति बनेका छन्।
हाल बागलुङमा जारी चैते दसैँ तथा नयाँ वर्ष मेलामा सहभागी हुन आएकी चौहानले ‘छुट्यो पिरिम’ गीत प्रस्तुत गर्दा दर्शक भावुक बने। उनका ‘धोकेबाज हौ तिमी’, ‘मेरो छुनुमुनु हौ’, ‘तिमिले धोका दियौ भने कट्टा हान्दिन्छु’ जस्ता गीतहरू अघिदेखि नै चर्चित छन्। शुक्रबार बागलुङ एकता क्लबले आयोजना गरेको मेलामा उनले यस्तै लोकप्रिय गीतहरू प्रस्तुत गरिन्।
एलिनाले केही समय बागलुङकी बुहारीको रूपमा पनि बिताएकी थिइन्। मञ्चमा उभिँदा दर्शकको चासो थियो, ‘के बोल्लिन् तरु’ तर उनले व्यक्तिगत कुरा उल्लेख गरिनन्। बरु ‘कट्टा हान्दिन्छु’ गीतमार्फत ‘कट्टा’को अनेक अर्थ खुलाउँदै भनिन्, ुकोही बन्दुक भन्छन्, कोही मतलब नगर्ने हो भन्छन्। मचाहिँ मायाले माया दिने हो भन्छु। मेरो ‘कट्टाले’ धोका दिनेलाई पछुतो होस् ।ु
उनले मञ्चबाट ‘मिनिरल वाटर’, ‘गोदावरी बनैमा’, ‘कुरा काट्ने मान्छेले काटुन्’ जस्ता गीत गाएपछि दर्शक छमछमी नाचे। ‘कट्टा हान्दिन्छु’ र ‘छुट्यो पिरिम’ गीत प्रस्तुत गर्दा ‘वान्स मोर’को माग भयो, यद्यपि ती गीत उनले दोहोर्याइनन्। गायक दुर्गेश थापासँगको सहकार्यमा रहेको ‘दुस्मन हेरेको हेर्यै’ गीत भने दुई पटक गाइन्।
चैत १९ गतेदेखि सुरु भएको मेलालाई नयाँ वर्षसम्म लम्ब्याइएको छ। मेलामा विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको बागलुङ एकता क्लबका अध्यक्ष इन्सान थापाले जानकारी दिए। अंग्रेजी र नेपाली नयाँ वर्षमा पोखरा धाउने भीडलाई जिल्लामै रोक्न थप कार्यक्रम जोडिएको उनले बताए।
बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले मेलामा गायक वसन्त थापा, विष्णु खत्री, शिव परियार, श्रीकृष्णबम मल्ल, लक्ष्मी मल्ल, थानेश्वर गौतमजस्ता दर्जनौँ कलाकारको सहभागिता गराइसकेको छ। मेला अवधिभर दोहोरी गीत, भलिबल, छेलो, रमाइलो मेला र खेलकुद प्रतियोगिता पनि सञ्चालन भइरहेका छन्।
वैशाख १ गतेसम्म सञ्चालन हुने मेलामा सयौँ दर्शक, पर्यटक र भक्तजनको सहभागिता देखिएको छ। पर्यटन प्रवर्द्धन र स्थानीय व्यवसायलाई चलायमान बनाउन मेला फलदायी भएको होटल व्यवसायी महासंघ गण्डकीका अध्यक्ष अर्जुन चोखालले बताए।
प्रतिक्रिया दिनुहोस