धनगढीः कैलाली बहुमुखी क्याम्पसको स्ववियुमा नेविसङ्घका पन्त विजयी भएका छन्।झण्डै साढे तीन दशकपछि नेपाल विद्यार्थी सङ्घ नेविसङ्घले विरासत फर्काएको छ। सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा रहेको केएमसीमा भएको स्ववियु निर्वाचनमा नेविसङ्घ विजयी भएको हो।
शुक्रवार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार स्ववियु सभापतिमा नेविसङ्घका सन्तोष पन्त विजयी भएका छन्। उनले ८२७ मत पाएका छन्।पन्त वर्तमान स्ववियु सचिव पनि हुन। उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका पवन सुनारले ५५८ मत पाए भने वर्तमान स्ववियु सभापतिसमेत रहेका अनेरास्ववियुका यमराज जोशीले ४२७, एकीकृत समाजवादी निकट अनेरास्ववियूले सुनिलराज जोशीले ६८ र नेविसङ्घकी बागी उम्मेदवार अम्बिका चौधरीले ९२ मत पाएका छन्। सचिवमा नेविसङ्घ र कोषाध्यक्षमा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन्।
स्ववियु सचिवमा नेविसंघबाट ओमप्रकाश वस्ती र कोषाध्यक्षमा धर्मराज तिमल्सिना विजयी हुनुभएको छ। कोषाध्यक्षमा नेविसंघकी प्रमिला शाह चार मतले पराजित भए। तीन हजार पाँच सय बढी मतदाता विद्यार्थी रहेको उक्त क्याम्पसमा २७ गते भएको मतदानमा दुई हजार ५७ मत खसेको थियो।
कैलाली बहुमुखी क्याम्पसमा अहिलेसम्म १४ जना स्ववियु सभापति निर्वाचित भएका छन्। त्यसमा सात जना नेविसङ्घ, दुई जना नेविसङ्घकै बागी र पाँच जना अनेरास्ववियुका छन्।
सुदूरपश्चिमकै सर्वाधिक विद्यार्थी अध्ययन गर्ने कलेजका रूपमा रहेको उक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघ भने ३४ वर्षपछि विजयी भएको हो। ०४७ सालअघिका सबै निर्वाचनमा भने नेविसङ्घ नै विजयी भएको थियो। ०३८ सालमा नेविसङ्घकै धर्मबहादुर सिंह क्याम्पसको पहिलो स्ववियु सभापतिका रूपमा निर्वाचित भएका थिए। ०३९ सालमा बरबहादुर ठकुल्ला, ०४० सालमा टीकाराम खनाल, ०४१ सालमा पदम विष्ट, ०४३ सालको मेघराज खड्का र ०४४ सालमा धर्मराज भण्डारी सभापतिमा निर्वाचित भएका थिए।
उनिहरू सबै नेविसङ्घका उम्मेदवार थिए। ०५१ सालमा भएको निर्वाचनमा भने पहिलो पटक अनेरास्ववियुले बाजी मारेको थियो। नेविसङ्घका प्रमोद पाठकलाई पराजित गर्दै अनेरास्ववियुका टेकबहादुर चन्द स्ववियु सभापतिमा विजयी भएका थिए।
अन्य पदमा भने नेविसङ्घकै उम्मेदवार विजयी भएका थिए। ०५७ साल यताका सबै निर्वाचनमा स्ववियु सभापतिमा अनेरास्ववियु विजयी भएको थियो। ०५७ सालमा डेजी पाण्डे, ०६१ सालमा यज्ञराज ढुङ्गाना, ०७३ मा चुडामणि भट्ट र ०७९ मा यमराज जोशी सभापतिमा निर्वाचित भएका थिए।
प्रतिक्रिया दिनुहोस