धनगढी : डोटी र बझाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । भने सात जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको चट्याङ लागेर गएराती डोटीमा एक जनाको मृत्यु र सात जना घाइते भएका हुन् ।
डोटीको सायल गाउँपालिका–६ दल्लेखका लहरी नागरीको घरमा चट्याङ परेको थियो । घरमा चट्याङ पर्दा उनकी श्रीमती ३३ वर्षीया कमला नागरीको मृत्यु भएको हो । मृतक नागरीकी १० वर्षकी छोरी तारा, ८ वर्षका छोरा अविषेक, ६ वर्षका छोरा अवि, तीनमहिने छोरा शङ्कर नागरी घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार चट्याङकै कारण सोही स्थानकी ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाईं र भीम नागरीकी ६ वर्षीया छोरी खुसी नागरी घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । भने अवस्था हेरेर थप उपचारका लागि डोटी जिल्ला अस्पताल वा बाहिर लैजाने तायरी गरिएको छ ।
यता बझाङ जिल्लाको वित्थडचिर गाउँपालिका–३ मा पानीसँगैको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार बोहराको चट्याङ घटना स्थलमै ज्यान गएको हो ।
बुधबार सुदूरपश्चिमका पहाडमा अत्याधिक हावाहुरी चलेको थियो । भने ठाउँ ठाउँमा चट्याङ परेको अवस्था छ । लगातार पानी र अझै चट्याङको जोखिम भएको हुँदा सबैलाई सतर्क रहन पनि सम्बन्धी जिल्ला प्रशासन कार्यालय र प्रहरीले सूचना जारी गरेको छ ।
पानीकै कारण बझाङको केदारस्यूँ गाउँपालिका–९ को पौडी ढोड्याखेत बजार नजिकै जयपृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । साँझको पानीपछि पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
यस्तै, वित्थडचिर गाउँपालिकाको लिममा पनि पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ । पहिरो हटाउन डोजर पठाइएको प्रमुख जिल्ला अधिकारी कैलाशबहादुर ठकुराठीले जानकारी दिएका छन् ।
बाजुरा, अछामका ग्रामिण सडकपनि पानीले हिलाम्य भएर सवारी साधन सञ्चालनमा समस्या देखिएको छ । मौसम अझै सुधार आएको छैन् ।
प्रतिक्रिया दिनुहोस