काठमाडौँ: देशका विभिन्न स्थानमा वर्षा भएको छ । लामो समयदेखि वर्षा नहुँदा खडेरीसँगै डढेलो, धुलो र धुवाँका कारण वायुप्रदूषण उच्च हुँदा जनजीवन प्रभावित बनेको थियो । मङ्गलबारदेखि देशका विभिन्न स्थानमा वर्षा हुँदा थोरै भए पनि वायुप्रदूषणबाट आमनागरिकले राहत पाएका छन् । आकाशबाट परेको पानीसँगै वायुमण्डलमा रहेको धुवाँ र धुलो धर्तीमा झर्ने क्रम जारी छ ।
बुधबार काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा भएको छ । ठुलो वर्षा नभएकाले बुधबार साँझसम्म पनि आकाशमा तुवाँलो कायमै देखिएको छ । चैत २९ सम्म देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा कायम रहने मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । अझै केही दिन थोरै थोरै भए पनि राम्रो वर्षा भएमा आकाशमा रहेका प्रदूषणका कण खसेर सफा हुने सम्भावना छ ।
त्यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भेगमा वर्षा भएको छ । केहीबेर रोकिँदै फेरि वर्षा हुने जानकारी मौसम पूर्वानुमान महाशाखाले दिएको छ ।
हल्कादेखि मध्यम वर्षाको क्रम शुक्रबार रातिसम्म कायम रहने जनाइएको छ । स्थानीय तथा पश्चिमी वायुको प्रभावले नेपालमा वर्षा गराएको हो । शनिबारदेखि बिस्तारै मौसममा सुधार हुने अनुमान महाशाखाले गरेको छ । हल्का वर्षासँगै विभिन्न वन तथा संरक्षित क्षेत्रमा लागेको डढेलो मत्थर हुन थालेका छन् ।
मकै, चैतेधान तथा बर्से तरकारी लगाउने किसानका लागि यो वर्षा सहयोगी बनेकाले किसानमा खुसी छाएको छ ।
प्रतिक्रिया दिनुहोस