धनगढी : कैलालीको अत्तरिया स्थित दुर्गा मन्दिर परिसरमा एक युवकको शव भेटिएको छ । बुधवार बिहान ३५ देखि ४० वर्ष उमेर देखिने पुरुषको शव भेटिएको कैलाली प्रहरीले बताएको छ । मृतक भेटिएका पुरुषको टाउकोमा गम्भीर चोट लागेको अवस्था देखिएकोले हत्या गरेर फालिएको आशंका प्रहरीले गरेको छ ।
कैलाली प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक कविन्द्र बोहराका अनुसार मृतक भेटिएका पुरुषको टाउकोमा गम्भीर चोट देखिएको बताएका छन् । प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सहीत अनुसन्धान ब्यूरोबाट प्रहरी परिचालन गरेर अनुसन्धान भइरहेको बोहराले जानकारी दिए । हत्या आशंका नै देखिएकोले तालिम प्राप्त कुकुरबाट पनि अनुसन्धान जारी राखिएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिसरमै शव देखिएपछि स्थानीय पनि त्रसित बनेका छन् । पवित्र मन्दिर भित्र शव भेटिनु र प्रहरीकै नजिक शंकास्पद घटना हुने विषय बारे स्थानीय अचम्मीत बनेका छन् ।
शवको टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरिएको जस्तो देखिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताए । टाउकोको बायाँ पट्टिको भाग फुटाइएको अवस्थामा रहेकोले ढुङ्गाले हानेर मारेको आशंका गरिएको छ ।
‘टाउको फुटेको छ । आँखा पनि फुटाइएको छ । अनुहार नचिनिने अवस्थामा छ । डिएसपी थापाले भने ‘शव नजिकै रगत लागेको ढुङ्गा पनि फेला परेको छ ।’ पहिचान नखुलेका ती पुरष अन्दाजी ३५–४० वर्षको जस्तो देखिन्छन् । उनको साथमा लुगा बाहेक कुनै सामान फेला नपरेको प्रहरीले बताएको छ ।
पुरुषको शव मन्दिरको दक्षिण तर्फ प्राङ्गणमा भेटिएको भए पनि घटना मन्दिर भित्रै भएको हुन सक्ने आशंकामा प्रहरी छ । मन्दिर भित्रै रगत देखिएको भन्ने कुरा एकीन नभएको छैन्, तर आशंका हत्याकै गरिएको छ, बाँकी पोष्टमार्टम बाट जानकारी भइहाल्छ, प्रहरी त्यसैमा लागि परेको छ, कैलाली प्रहरी प्रवक्ता डिएसपी कविन्द्र बोहराले जानकारी दिए ।
शव भेटिएको ठाउँ भन्दा २० मिटर जति दुरीमा रहेको मन्दिर प्राङ्गण रक्ताम्मे देखिन्छ । प्रत्यक्षदर्शीका अनुसार मन्दिर देखि घिसारेर शव तल फालिएको जस्तो देखिन्छ । मन्दिरका पुजारी टिका दत्त पनेरुले बिहान साढे ६ बजे मात्रै आफूले घटनाको बारेमा थाहा पाएको बताए ।
पनेरुले मन्दिर पछाडि रहेको पतञ्जलि योग समितिका मानिसले भनेपछि आफूलाई जानकारी भएको बताए । उनी मंगलबार साँझ साढे ७ बजे मन्दिर बन्द गरेर गएको थिए । बिहान साढे ५÷६ बजे तिर आएको आए तर मन्दिर पसे । बाहिरको अवस्था बारे जानकारी नपाएको पनेरुको भनाई छ ।
मन्दिरमा शव भेटिएको हल्ला फैलिएपछि प्रहरी पुगेको थियो । मन्दिर अगाडिको गेटमा ताला लगाएको भए पनि दुर्गा मन्दिर प्रवेश गर्ने अन्य ३ गेट छन् । सडक पारीपट्टि रहेको मन्दिरमा यती ठुलो घटना हुँदा पनि प्रहरी अनविज्ञ भएको भन्दै स्थानीयले आक्रोश पोखेका छ । स्थानीयले प्रहरी कार्यालय अगाडिको मन्दिरमा बीभत्स हत्या हुँदा पनि प्रहरीले थाहा नपाउनु प्रहरीको गम्भीर लापरबाही भएको स्थानीयको आरोप छ ।
तर प्रहरीले अहिले शव पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पतालमा पठाएको र त्यसैको रिपोटका आधारमा मात्रै हत्या वा मृत्यु थाह हुने भएकोले अहिले नै हतार गर्न नहुने बताएको छ । मुल मन्दिर भवनको बाहिरीपट्टी भने रगतको खाल जमेको जस्तो देखिन्छ ।
प्रतिक्रिया दिनुहोस