धनगढी : झिमिक्क साँझ परिसकेको थियो जयगढ बजारका होटल बाहेक प्राय अन्य पसलहरु बन्द भइसकेका थिए । केही हुनेक्रममा थिए । बजारपनि सुनसान हुँदै थियो । साँझको साढे ७ बजेको समय हो । एकाएक बीच बजारबाट धुँवाको मुस्लो र आगोको ज्वाला देखियो । वारीपारी छरछिमेकहरुले बजारमा बस्ने आफन्त र चिनेकाजानेकालाई फोन गर्न थाले । आगलागी बारे जानकारी लिन थाले । आधिबढीले त्यसपछि मात्रै थाह पाए र घरभित्र पसेकाहरु बाहिर निस्कीए ।
कोही कराउने, कोही रुने र कोही चिच्यान थाले । जतिबेलासम्म आधा जयगढ बजार जल्नेतयारीमा थियो । आगलागी बजारकै हिमाल जनरल स्टोरबाट सुरु भएको हो । विजुलीको तार सर्ट भएर हो, वा ग्याँस सिलिण्डर पड्केर हाृ, अझै एकीन प्रहरीले गर्न सकेको छैन् । आइएमइ सेवा सञ्चालन भइरहेको पसलबाट आगलागी भएको भन्नेबारे मात्रै प्रहरी जानकार देखिन्छ ।
आगलागी एकपछि अर्को घरमा सल्किदै गयो । घर खरानी हुँदै गए, तर स्थानीयले कराउने, हतारिने र तनाबमा बस्ने बाहेक अर्को विकल्प थिएन् । किनकी बान्नीगढी जैगढ गाउँपालिकासँग आगो नियन्त्रक दमकल छैन् । विजुलीका तार सहीत टिनहरु समेत जल्न थालेपछि नियन्त्रणमा लिन सहज पनि थिएन् । बजार बासी सबैले सक्ने जति प्रयास गरे, पालिकाका जनप्रतिनिधी अध्यक्ष उपाध्यक्ष सहीत स्थानीयले सामाजिक सञ्जाल मार्फत अपिल गरे ।
तर नियन्त्रण गर्न दमकल नै चाहिने भएपछि मंगलसेन नगरपालिकाबाट आउने समयसम्म आगलागी जारी रहिरह्यो । जतिबेलासम्म विनाशकारी आगलागी नियन्त्रण बाहिर गइसकेको थियो । मान्छेले पानी हालेरै निभाउने अवस्था नै थिएन् । दमकल बाहेक अर्को नियन्त्रणमा लिने उपाय नभएपछि आधाघण्टापछि दमकल पुग्यो र करिब पाँच घण्टा पछि आगलागी नियन्त्रण भयो ।
आगलागी सुरुवाद भएको घर पुष्पराज शर्माको हो । उनी समेत केही बोल्न सक्ने अवस्थामा छैनन् । सबै बिउँझै भएको बेला भएकै कारण मानवीय क्षति हुनबाट जोगिएको देखिन्छ । घरधनीका अनुसार भने घरमा राखेको ग्यास सिलिन्डर पड्किएर आगलागी भएको बुझिएको छ ।
आगलागीबाट ७ करोड बढीको क्षति भएको अनुमान गरिएको छ । जयगढ बजारमा रहेका २७ वटा घर पसल, अन्य सरसामग्री गरेरहरु पूर्ण रुपमा क्षति भएका छन् । सबै क्षतिको विवरण एकीन गर्न सकिएको छैन् । प्रारम्भिक अनुमान गरिए अनुसार ७ करोड बढीको क्षति भएको हुन सक्ने अछामका प्रहरी प्रमुख प्रहरी नायब परीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
आगलागीमा ढुंगामाटोले बनेका १०, जस्तापाताका १५, पक्की दुई घर पसल जलेर नष्ट भएको छन् । आगलागीबाट सुनचाँदी, कपडा, स्थानीय सामग्री, खुद्रा पसलसँगै घरहरू जलेका छन् । क्षतिको थप विवरण सँकलनको काम भइरहेको अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले जानकारी दिए । प्रजिअ सारु आगलागीको अनुगमनका लागि विहानै जयगढ बजार पुगेका छन् ।
आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय र मंगलसेन नगरपालिकाको दमकल प्रयोग गरिएको थियो । प्रयासपछि लामो समय लगाएर आगलागी नियन्त्रणमा लिइएको थियो । आगो नियन्त्रणमा लिएर थप क्षतिबाट जोगाएपनि घरजलेकाहरु पूर्ण रुपमा विस्थापित बनेका छन् ।
उनीहरुलाई न एकछाक खान कुनै खाद्यन्न छ । न बस्नलाई घर नै । बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष बिन्दु रावलले सामाजिक सञ्जाल मार्फत सबैलाई सहयोग गर्न अपिल गरेकी छन् । विपद जुनसुकै बेला पनि आउने र सबैलाई सताउने पीडा दिने भएकोले जयगढ बजारका आगलागी पीडितका पक्षमा सहयोग गर्न उपाध्यक्ष रावलको अनुरोध छ ।
पालिकाका तर्फबाट तत्कालिनका लागि बसोबास र खानसम्मको प्रबन्ध गरिएपनि उनीहरुको क्षति नोक्सानीमा मलहम लगाउने गरि प्रदेश र संघीय सरकारका साथै कोही सहयोगी र मनकारी दाताहरुलाई साथ दिन आग्रह गरेकी छन् । सबैको प्रयासबाट आगलागी नियन्त्रण भएर नै बाँकी जयगढ बजार जोखिएको छ । नत्र सिंगो बजार नै खरानी हुने अवस्थामा थियो ।
अछाम प्रहरी र गाउँपालिकाले आगलागीको कारण बारे अनुसन्धान गर्न तयारी गरेको छ । बजारका विजूलीका तार, घरको वाइरिग र ग्यासको अवस्था बारे पनि जानकारी राख्ने र समस्या देखिएका घरहरुमा तत्काल सुधार गर्न र नयाँ जोड्न लगाउने तयारीमा गाउँपालिका छ ।
स्थानीय बजारमा पुरानै समान प्रयोग गर्ने, तत्काल नयाँ नफेर्ने र त्यही समस्याका कारण आगलागी जोखिम बढेको देखिन्छ । यता अछामको जयगढ बजारमा भएको आगलागीका विषयमा छलफल गर्न सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री कमल बहादुर शाहले बैठक बोलाएका छन् । बुधवार बिहानका लागि बैठक बोलाइएको मुख्यमन्त्रीका स्वकीय सचिव प्रयाग खनालले जानकारी दिए ।
बैठकले अछामको बान्निगढी जयगढ गाउँपालिकाको केन्द्रमा रहेको जयगढ बजारमा भएको आगलागीका विषयमा छलफल गर्ने जनाइएको छ । प्रदेशका सबै मन्त्री र सबै मन्त्रालयका सचिवलाई बोलाइएको छ । क्षतिको एकीन गर्ने र तत्काल राहत उद्दारमा के सहयोग गर्न सकिन्छ भन्ने बारे छलफल सहीत प्रदेश सरकारले सहयोगका लागि निर्णय लिने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस