धनगढी : नेकपा एमालेले कैलालीको धनगढीमा आयोजना गर्ने प्रदेशस्तरीय विशेष सभाको तयारी तिब्र पारेको छ । पार्टी प्रदेश कमिटीको नेतृत्वमा यही चैत्र २९ गते हुने बिशेष सभालाई व्यापक बनाउन प्रचार प्रसार देखि अन्य व्यवस्थापकीय तयारीलाई तिब्र पारिएको प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्टले जानकारी दिएकी छन् । एमालेले धनगढीको पार्क मोडमा चैत्र २९ गते दिनको १२ बजे विशाल सभा आयोजना गर्न लागेको छ ।
लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र पछिल्लो समय देखिएका अराजकताविरुद्ध सभा आयोजना गर्न लागिएको हो । सभालाई नेकपा एमाले उपाध्यक्ष युवराज ज्ञवाली र महासचिव शंकर पोखरेलले संवोधन गर्ने प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं पार्टी प्रदेश कमिटी उपसचिव भागरथी विष्टले जानकारी दिएकी छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओली आउने भनिएपनि अन्तिममा सरकारकै काममा व्यस्त रहनु पर्ने भएकोले उपाध्यक्ष र महासचिवले संवोधन गर्ने कार्यक्रम तय गरिएको हो ।
पार्टी उपाध्यक्ष, महासचिव सहीत पार्टी प्रदेश इन्चार्ज एवं सचिव लेखराज भट्टले पनि सभालाई संवोधन गर्ने कार्यतालिका बनाइएको छ । नेकपा एमालेले प्रदेश कमिटीकै आयोजना रहने सभालाई सन्देश र शक्ति प्रर्दशनका रुपमा लिएको छ । प्रत्येक जिल्लाबाट पार्टीका २३ वटै जनसंगठनका नेता कार्यकर्ता, पार्टी टोल, वडा, पालिका र जिल्ला कमिटीका नेता कार्यकर्तालाई सभामा अनिवार्य सहभागि हुन भनिएको छ ।
नेकपा एमालेले देशभर सञ्चालन गरिरहेको वडा केन्द्रित टोल अभियानको निरन्तरताका रुपमा धनगढीमा बिशेष सभा आयोजना गर्न लागिएको पार्टीका प्रदेश सचिव रणबहादुर चन्दले जानकारी दिए । सचिव चन्दका अनुसार ‘एकातिर हाम्रो टोल केन्द्रित वडा अभियान चलिरहेको छ, अर्कोतिर देशमा अराजनीतिक भीड बढ्ने खतरा छ, त्यसै अभियानको निरन्तरता र सन्देशका लागि यो सभा आयोजना हुँदैछ।’ पार्टी प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले तयारीका कामहरु भइरहेको बताए ।
प्रदेश स्तरमै एमालेको शक्ति देखाउने र जनताको समर्थन कस्तो हुन्छ, त्यो सन्देश दिनका लागि बिशेष सभा आयोजना गर्न लागिएको हो, अध्यक्ष जैशीले भने । उनले लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षाको लागि जनतालाई सचेत बनाउन आयोजित कार्यक्रममा सबै गणतन्त्रवादी सहभागि हुने विश्वास व्यक्त गरे ।
पूर्वराजाका नाममा अराजक तत्वहरुले समाजमा अशान्ति सिर्जना गर्ने खालका गतिविधि गरिरहेका छन् । त्यसविरुद्ध खबरदारी गर्न पनि यो सभा आयोजना गरिएको हो’ जैशीले भने । ‘परिवर्तनविरोधी गतिविधिविरुद्ध सन्देश दिन सभामा सभा आयोजना गरिएको हो । इन्चार्ज भट्टले भने,जनताको साथमा एमाले छ भन्ने सन्देश पनि सभाले दिने छ ।’ पार्टीले यस सभालाई सुदूरपश्चिममा शक्ति प्रदर्शनसहित जनचेतना अभिवृद्धिका रुपमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस