बाजुरा : बुढीगंगा नगरपालिकाले ८ नम्बर वडा कार्यालयको आज सार्वजनिक सुनुवाई गरेको छ । वडाले सम्पादन गर्ने काम कारवाही बारे जानकारी र सुशासनको अवस्था बारे खुला छलफल सहीत सार्वजनिक सुनुवाई गरेको हो ।
शिक्षा स्वास्थ ,किषि पर्यटन र पुर्वाधार सुरक्षित र समृद्ध विकास भन्ने मुल नारा सहीत सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना वडा अध्यक्ष रमेश रावलले जानकारी दिएका छन् । वडा कार्यालयका तर्फबाट २०७९ साउनदेखि २०८१ फागुन सम्म गरेका गतिविधी बारे जानकारी गराउने र जनताका सुझाव सुन्ने गरि जनप्रतिनिधी पनि कार्यक्रममा सहभागि हुने गरेका छन् ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता मनबहादुर रावलले जनताले जनप्रतिनिधिका कमजोरीलाई मात्रै देखाउने भन्दा पनि सुझाव सहीत सहयोग गर्न पनि आग्रह गरेका छन् । विकल्प सहीतको सुझाव दिन र पालिकाको काममा सहयोग गर्न जनता तयार हुनु पर्नेमा रावलको जोड छ ।
स्थानीयले बजेटलाई स्वास्थ्य शिक्षा र खानेपानी लक्षीत गरि विनियोजन गर्न, वडाका कामकारवाही बारे सबैलाई जानकारी दिन सुझाव दिएका छन् । उपप्रमुख माया कुँवरले सबै वडालाई न्याय हुने र जनस्तरबाट आएका योजनालाई नै प्राथमिकतामा राख्ने बताएकी छन् ।
नगर प्रमुख रामबहादुर बाँनीयाले सीमित बजेटका बीच असीमित आवश्यकता पुरा गर्नु पर्ने बाध्यता भएपछि आगामी बजेटमा जनतासँग जोडिएका र अति आवश्यक भएका योजनालाई प्राथमिकतामा राख्ने र रोजगारी सिर्जना गर्न सकिने कार्यक्रमलाई जोड दिने बताएका छन् ।
नेपाल पत्रकार महासंघ बाजुराको तर्फबाट रमित विकले सहजिकरण गर्नु भएको कार्यक्रममा वडाका स्थानीय, वडा अध्यक्ष रमेश बहादुर रावल नगर प्रमुख रामबहादुर बाँनीया, उपप्रमुख माया कुँवर, काँग्रेस नेता मनबहादुर रावल सहीत सहभागि थिए । कार्यक्रमको सञ्चालन वडा सचिव विवेक शाहले गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस