बाजुरा : नेकपा एमाले पोलिटव्यूरो सदस्य शान्ता चौधरीले जमिन जोत्नेहरु नै भूमिहिन हुने विषय दुखद र आपत्तीजनक रहेको बताएकी छन् । माटोसँग जोडिएको, जमिन जोतेरै गुजारा चलाएको व्यक्ति गरिब भएर बाँच्नु पर्ने र भूमिहिन हुनु पर्ने वर्तमान बाध्यतालाई हटाउनु पर्नेमा चौधरीको जोड छ ।
नेकपा एमाले निकट भूमि अधिकार तथा श्रमिक संगठनको बाजुरा जिल्ला अधिवेशनमा भाग लिन बाजुरा पुगेकी चौधरीले जमिनमा रगत बगाउनेहरुकै नाममा जमिन हुने व्यवस्था ल्याउने आन्दोलन अझै जारी रहेको र सबै भूमिहिनले फेरि अधिकारका लागि लड्नु पर्ने बेला आएको बताएकी छन् ।
चौधरी भूमि अधिकार तथा श्रमिक संगठनको केन्द्रीय अध्यक्ष पनि हुन् । उनले भावक भएर राज्यलाई प्रश्न गरिन्– यो कस्तो विडम्बना हो, जमिन जोत्छन्, त्यो जमिनको हक पाउँदैनन्, अन्न उत्पादन गर्छन्, खान पाउँदैनन्, आफूले गरेको उत्पादन बजारमा विक्री हुन्छ, पेट भोकै हुन्छ । उनले विभेदकारी व्यवस्था अन्त्य गर्ने कानुन निर्माणमा आफूहरु लागि परेको जानकारी गराइन् ।
मेहनत गर्ने मजदुर वर्ग धनी हुनु पर्नेमा, ठिक उल्टो हातमा पञ्जा लगाएर माटो छुने मान्छे धनी भएको र महल जमिन दुबै उनीहरुकै हुने कुरा अन्यायपूर्ण भएको उनको भनाई छ । जमिन जोत्नेहरुकै हुनु पर्छ, उनीहरुको उत्पादनले भोको पेट भरिनु पर्छ भन्ने मान्यतामा नेकपा एमाले रहेको र त्यो बेला ल्याउने गरि सरकारले पहल गरिरहेको बताएकी छन् ।
पूर्व एमाले सचेत समेत रहेकी चौधरीले प्रत्येक नागरिकलाई बास र गासको ग्यारेन्टी गराउने आफूहरुको अभियान सफल हुने र त्यसका लागि साथ दिन सबैलाई अपिल गरेकी छन् । भूमि अधिकार तथा श्रमिक संगठन बाजुराको प्रथम जिल्ला अधिवेशनमा चौधरीले सबै श्रमिक र भूमिहिन बीचको एकताले नै अधिकार प्राप्त गर्न सकिने भएकोले एकजुट अुन आग्रह गरेकी छन् ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले भूमिहिन नागरिकलाई राज्यबाटै जमिन उपलब्ध गराउने गरि भूमिसमस्या तथा समाधान आयोगले निर्णय लिनु पर्ने र जमिनमा कामगर्नेहरुलाई नै अधिकार दिनु पर्ने धारणा राखेका छन् ।
नेकपा एमाले बाजुराका अध्यक्ष लालबहादुर ओलीले भूमिहिन र सुकुम्बासी भएर बाँच्नु पर्ने अवस्थाको अन्त्य गरिनु पर्ने धारणा राखेका छन् । पार्टी सचिव काशी विकले सञ्चालन गरेको अधिवेशनले लालवीर सार्की अध्यक्ष झुपा उखेडा उपाध्यक्ष सहीत रहेको जिल्ला समिति गठन गरेको छ ।
नेकपा एमालेका २३ जनसंगठन मध्ये भूमि अधिकार तथा श्रमिक संगठन पनि एक हो । हालसम्म ६४ वटा जिल्लामा शाखा विस्तार गरिसकिएको संगठनको स्थापना २०७८ मा गरिएको हो । संगठनले यही बैशाख २३, २४ र २५ गते कैलालीको टिकापुरमा महाधिवेशन गर्ने तयारी गरेको छ । भूमिसँग सम्बन्धीत समस्या पहाडमा भन्दा बढी तराईमा छन् ।
प्रतिक्रिया दिनुहोस