धनगढी : कैलालीको गोदावरी नगरपालिकाको खैराना खोलामा धमाधम अवैध रुपमा उत्खनन भैरहेको खुलेको छ। जिल्ला प्रशासन कार्यालयका प्रमुख सिडिओ गोगन बहादुर हमालसहितको टोलीले छड्के अनुगमन गर्ने क्रममा सो कुरा खुलेको हो। हिजो (आइतबार) हमालसहितको टोलीले अनुगमन गर्दा अवैध उत्खनन भैरहेको भेटिएकोमा केही मेसिन र मानिस नियन्त्रणमा लिइएको सिडिओ हमालले जानकारी दिए।
उनका अनुसार ठेकेदारले मापदण्डविपरीत उत्खनन नगर्न हुने स्थानमा रोयल्टी उत्खनन गरिरहेको पाइएको थियो। त्यसपछि त्यहाँ उत्खननमा प्रयोग भएका जेसिबी र टिप्पर प्रहरीले नियन्त्रणमा लिएको हो। मालाखेती प्रहरीका प्रमुख डीएसपी गङ्गा थापाले खैरानाबाट ठेकेदारको बदमासीपछि २ वटा २ जेसिबी र एउटा टिप्परसहित मान्छे पनि समातिएको जानकारी दिए।
उनका अनुसार अब सो बारे थप कारबाही हुने छ। स्रोतका अनुसार खैरानामा अवैध रुपमा जेसिबी प्रयोग गरेर आईईईविपरीत ठेकेदार चिरञ्जीवी भट्टले उत्खनन गर्दै आएका छन्। यस अगाडिबाट उनले अवैध उत्खनन गर्दै आएकोमा हिजोमात्र फेला परेका हुन्। स्रोतका अनुसार अवैध उत्खननमा प्रयोग भएका जेसिबी र टिप्पर भने गोदावारीकै श्रीपुर क्रसरका हुन्।
जसले पनि रोयल्टी सम्बन्धि अवैध धन्दा गर्ने गर्दछ। यस्तै अवैध उत्खनन गर्ने ठेकेदार भट्टले नगरपालिकासँग मिलेमतो गरेर सो काम गरिरहेको पनि तथ्य फेला परेको छ। सो कुरा नगरपालिकाका मेयर स्वयंले पनि ठेकेदार आफ्नो मान्छे भएको भन्दै स्वीकारेका छन्।
मेयर विरेन्द्र भट्टले ठेकेदार आफ्नै मान्छे भएको र गलत गरेको भए सो विषयमा बुझेर कारबाही गर्ने जनाए। उसो त अवैध रुपमा उत्खनन गराउन मेयरले नै पैसा खाएर मेसिन लगाएको आरोप पनि छ। यद्यपि अहिलेको अवस्थामा नगरपालिकाको सेटिङ बिना अवैध उत्खनन सम्भव नै नभएको बताइन्छ।
प्रतिक्रिया दिनुहोस