धनगढी : सुदूरपश्चिम विश्वविद्यालय अन्र्तगतको आंगिक क्याम्पस हो, कैलाली बहुमुखी क्याम्पस । १६ वटा आंगिक क्याम्पस मध्ये बढी विद्यार्थी संख्या र शैक्षिक गुणस्तर दुबै हिसाबले कैलाली बहुमुखी क्याम्पसको बढी सुनिने र चर्चामा आएको नाम हो । कुनै बेला यो क्याम्पसमा बिसौं हजार विद्यार्थी अध्ययन गर्ने गथ्र्ये । हालको अवस्थामा पनि क्याम्पसमा १० हजार बढी विद्यार्थी अध्ययनरत छन् ।
सुदूरपश्चिमको प्रदेश राजधानी धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पस राजनीतिक र शैक्षिक दुबै क्षेत्रमा बहसमा आइरहने गर्छ । यस क्याम्पसमा स्ववियु सभापति हुने विद्यार्थीलाई भावी पुस्ताको नेताकै रुपमा हेरिन्छ । त्यो विगतले पनि प्रमाणित गरिदिएको छ । यतिबेला यही क्याम्पसकै स्ववियु निर्वाचनको चर्चा चलिरहेको छ । मध्ये प्रतिस्पर्धा अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारी बीच हुने देखिन्छ ।
२०३८ सालदेखि हुदैं आएको स्ववियु निर्वाचनमा यस अघि १५ जना सभापति भइसकेका छन् । ती मध्येका एक हुन्, यमराज जोशी । उनी अघिल्लो कार्यकालपनि सभापति थिए । यो पटक पनि सभापतिका उम्मेदवार छन् । अनेरास्ववियुको तर्फबाट उम्मेदवारी दिएका जोशी दोहोरिने दाउमा छन् । लामो समय कैलाली बहुमुखी क्याम्पसमा नेविसंघले एकछत्र राज गरेको देखिन्छ ।
तर पछिल्ला चार जना सभापति अनेरास्ववियुबाटै जितेका छन् । त्यो राजनीतिक विरासतलाई यमराज निरन्तरता दिने गरि उम्मेदवार छन् । डेजी पाण्डे, यज्ञराज ढुंगाना, चुणामणी भट्ट र यमराज जोशी अनेरास्ववियुबाटै उम्मेदवार बनेर क्याम्पसमा सभापति बनेको इतिहास कैलाली बहुमुखी क्याम्पसमा छ । पाण्डे एमाले कैलाली सचिव भएर एमालेको सक्रिय राजनीतिमा छन् । ढुंगाना एमाले कैलालीको अध्यक्ष छन् । भने भट्ट उपसचिव छन् ।
यमराजले पनि आफ्नो जितलाई निरन्तरता दिँदै दोस्रो कार्यकाल ऐतिहासिक बनाउने संकल्प सहीत मैदानमा छन् । दुई वर्षे आफ्नो कार्यकालमा क्याम्पस हितमा उल्लेख्य काम गरेर विद्यार्थी र क्याम्पस प्रशासन दुबैको मन जितेका यमराज त्यसको निरन्तरतामा देखिदा नेविसंघका सन्तोष पन्तले कडा टक्कर दिने देखिन्छ । स्वतन्त्र उठेर टिकट वितरण देखि अन्य आन्तरिक समस्यामा रहेको नेविसंघलाई अनेरास्ववियुका उम्मेदवार यमराजले सहजै पक्षमा पार्ने रणनीतिमा छन् ।
क्याम्पसको शैक्षिक सुधार र विद्यार्थीकै हितमा दुई वर्ष नजिक भएर काम गर्न पाएको छु, विद्यार्थीका सुख दुखमा साथ छ । सबैले फेरिपनि यमराज चाहिन्छ भनेर नै उम्मेदवार बनेको हो, जितका लागि मात्र नभई क्याम्पसको हितका लागि पनि म आवश्यक छु, सबैको रोजाई र समर्थनमा छु, सभापतिका उम्मेदवार यमराज जोशीले भने ।
कैलालीमा हालसम्म त्रिभुवन विश्वविद्यालय अन्तर्गतका घोडाघोडी बाहेक सबै क्याम्पसमा अनेरास्ववियुले हार बेहोरेको छ । नेविसंघ र अखिल क्रान्तिकारीले आफ्नो लय सम्हालिरहेको देखिन्छ । तरपनि अनेरास्ववियुका उम्मेदवार यमराज आफ्नो सिंगो टिम विजयी हुने र कैलाली बहुमुखी क्याम्पसको शैक्षिक सुधारमा फेरि सेवा गर्ने अवसर पाउनेमा ढुक्क देखिन्छन् ।
सुदूरपश्चिम विश्वविद्यालय अन्र्तगतका १६ क्याम्पसमा फागुन २७ गते निर्वाचन हुँदैछ । जसमा बाजुराका दुई बाजुरा क्याम्पस र बडीमालिका क्याम्पसमा स्ववियु नेतृत्व सर्वसम्मत चयन भएको छ । बाजुरा क्याम्पसमा अनेरास्ववियुका लक्ष्मण रोकाया र बडीमालिका क्याम्पसमा नेविसंघ सोविन रावत सभापति चयन भइसकेका छन् । बाँकी १३ वटा क्याम्पसमा एकसाथ चुनाव हुनेछ । भने केन्द्रीय क्याम्पसमा तालाबन्दीले चुनावको एकीन हुन सकेको छैन् ।
जोशीले दोस्रो कार्यकालमा विद्यार्थीलाई पढ्दै कमाउँदै अभियानलाई अघि बढाउने योजना सुनाएका छन् । शैक्षिक योग्यता हासिल गर्ने विषय प्रदान हो, विद्यार्थीलाई पहिलो प्राथमिकता त्यसैमा राख्ने हो, तर सीप सिकाउने, उद्यमी बनाउने, आम्दानीसँगै जोड्ने, प्रविधी मैत्री शिक्षालाई अनिवार्य गर्ने गरि आफूले काम गर्ने जोशीको योजनामा छ ।
जोशीकै पहलमा बिगत दुईवर्ष देखि क्याम्पस भित्रै शिक्षक सेवा, लोकसेवा, बैकिंङ लगायतका कक्षा सञ्चालन भइरहेका छन् । तीनै कामलाई निरन्तरता दिने जोशीको घोषणापत्रमा उल्लेख छ । यस्तै सकांय अनुसार ब्यवस्थित पुस्तकालयको ब्यवस्था, अनुसन्धान केन्द्र स्थापना गरी बिद्यार्थीहरुलाई अनुसन्धानमा जोड्ने, क्याम्पसको समायोजन प्रक्रिया अबिलम्ब सुरु गर्न निर्णायक भूमिका खेल्ने, बि.ई सिभिल, एग्रिकल्चर, हर्वल साइन्स लगायत प्राबिधिक शिक्षाको पठन पाठन सुचारुका लागि पहल गर्ने विषय पनि घोषणा पत्रमा उल्लेख गरेका छन् ।
जोशीको टिमले कैलाली बहुमुखी क्याम्पसलाई स्कुल अफ म्यानेज्मेन्ट सहितको डिन कार्यालय स्थापनाका लागि पहल गर्ने, स्नाक्तोत्तर तहमा पत्रकारिता बिषयको पढाईका लागि पहल गर्ने, रेडियो के एमसीका लागि आवश्यक जनशक्ति सहित प्राबिधिक सामग्रीका लागि व्यवस्थापन, स्वबियु खेलकुद प्रतियोगिता र खेलाडी सम्मान, कम्प्युटर ल्याव स्थापना गरी कम्प्युटर साक्षरता अभियान सञ्चालन गर्ने, शारिरिक अपागंता भएका बिद्यार्थीलाई अध्यायनका लागि आवश्यक सामग्रीको प्रबन्ध मिलाउने तथा छात्रबृत्ती वितरण प्रणालीलाई बिद्यार्थीको माग अनुसार ब्यवस्थित र पारदर्शी बनाउने उनका एजेण्डा छन् ।
जोशीले पहिलो कार्यकाललाई पनि स्मरण योग्य र विद्यार्थीको हितका लागि प्रशंसायोग्य बनाएका छन् । उनी आएपछि पुस्तकालयमा ५० लाखभन्दा बढीको पुस्तक थपिएका छन् । शिक्षासँगै संस्कार र शिक्षासँगै सीप अभियान सुरु गरिएको छ । र सुझाव पेटिका मार्फत विद्यार्थी गुनासो सुनुवाइको हुने गरेको छ ।
प्राविधिक धार तर्फ सिएसआइटी र फरेष्टी लगायतका विषयहरुमा शिक्षक दरबन्दी थप गर्न नेतृत्वदायी पहल गरिएको छ । १२ वटै क्याम्पसका स्ववियु अध्यक्षसँग समन्वय गरी विद्यार्थीका साझा समस्या समाधान सहित प्रशासनिक समितिहरुमा स्ववियु प्रतिनिधित्वको प्रबन्ध गरेको र सिनेटमा विद्यार्थी प्रतिनिधित्वको लागि पहल भइरहेको छ ।
स्ववियु कार्यालय व्यवस्थापन गरी स्ववियु सङ्ग्राहलय निर्माण, छात्राहरुका लागि निःशुल्क सिनेटरी प्याडको व्यवस्था, म्युजिक क्लबलाई व्यवस्थित गरी प्रशिक्षक मार्फत प्रशिक्षण कार्यक्रम सञ्चालन, रेडिया केएमसीलाई थप व्यवस्थित गरिएको, निःशुल्क लोक सेवा, शिक्षक सेवा, उद्यमशीलता, योग तालिम र बैकिङ तयारी कक्षा सञ्चालन गरिएको, उत्कृष्ट विद्यार्थी तथा विद्यावारिधि गर्ने प्राध्यापकलाई सम्मान समेत गर्ने गरिएको छ ।
विद्यार्थी पठन–पाठन व्यवस्थित गर्ने क्रममा हप्तामा तीन दिन पढाई हुने विषयलाई परिमार्जन गरी हरेक दिन सबै विषयका ५ कक्षा नियमित पठन–पाठनको प्रबन्ध गरेको, विद्यार्थी संगठन र समग्र राजनीति प्रतिको आम नागरिक र विद्यार्थीको बढ्दो निराशापन, नकारात्मक धारणा लाई बदल्ने गरि प्रशिक्षण कक्षा सञ्चालन गरिएको छ ।
क्याम्पसको ठूलो समस्याको रूपमा रहेको विश्वविद्यालयमा गइसकेपछि झण्डै ४ वर्ष देखि रोकिएको समायोजन प्रक्रिया अगाडि बढाउन सर्वपक्षीय, सर्वदलीय छलफल सहित प्रधामन्त्री, शिक्षा मन्त्री, भिसी, र रजिष्टार लगाएत जिम्मेवार व्यक्तिसँग समन्वय गरी सेवा आयोगमा प्रक्रियामा लैजाने विषयमा पनि पहल गरिएको छ ।
जोशीको टिमबाट उप सभामपतिमा दिपक चौधरी, सचिवमा किरण प्रकाश उपाध्याय, कोषाध्यक्षमा प्रकाश भट्ट, सह सचिवमा सुनिता मिजार, सदस्यहरुमा अस्मिता कुमारी जोशी, उमेश प्रसाद ओझा, हेमन्त प्रसाद जोशी, भुवन मिश्र, कञ्चन चौधरी, पारस रावल, रविता महतो, नवराज बडु र बिपिन कुँवर उमेदवार रहेका छन् ।
प्रतिक्रिया दिनुहोस