सोमबार, २५ चैत २०८१

९७ औं वसन्तमा बिदा भए वरिष्ठ पत्रकार रिसाल

काठमाडौँ : वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । उनको आइतबार राति ९७ वर्षको उमेरमा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको उनका भाइ पुरु रिसालले जानकारी दिए । उनको जन्म १९८५ साउन २९ गते भक्तपुरको ताथलीमा भएको थियो । पत्रकार रिसालले यसअघि नै मृत्युपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए ।

पत्रकार रिसालले राष्ट्रिय समाचार समिति ९रासस० मा प्रमुख समाचारदाताको जिम्मेवारी निर्वाह गरेका थिए । उनले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृंखला सञ्चालन गरेका थिए । लामो समयदेखि पत्रकारिता र समाजसेवामा समर्पित पत्रकार रिसालले राससमा काम गर्नुअघि तथ्यांक विभागमा रहेर काम गरेका थिए ।

वामपन्थी विचारधाराका रिसाल २०४८ को आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार बनेका थिए । पत्रकार रिसालले जगदम्बा श्री, मानवअधिकारसम्बन्धी र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।

वातावरण संरक्षणका लागि रिसालले लिएका पहल पनि सम्झनालायक छन् । ५० को दशकमा स्थानीयस्तरका राजनीतिक कार्यकर्तालाई वातावरण संरक्षणको महत्त्व बुझाउन वातावरण पत्रकार समूहले जिल्लाजिल्लामा कार्यक्रम गरेको थियो । त्यसको परिकल्पनाकार रिसाल नै थिए । रिसालकै आग्रहमा भूगोलविद् हर्क गुरुङ विभिन्न जिल्ला पुगेका थिए । स्थानीयहरूलाई आधुनिक र उन्नत कृषि प्रणालीतर्फ अग्रसर गराउन पनि रिसाल सक्रिय थिए । आलु खेतीमै मात्र सीमित रहेका इलाम जसबिरेका किसानहरूलाई नयाँ कृषि प्रविधि प्रयोग गर्न, चिया र दूधजस्ता उत्पादनमा लाग्न प्रेरित गर्ने श्रेय पनि उनैलाई जान्छ ।

पत्रकार र लेखक मोहन मैनाली रिसालको निधनले समाजले सक्रिय पत्रकार, वातावरण सरंक्षणकर्मी, समाजसेवी गुमाएको बताए । ‘मैले थाहा पाएसम्म राससमा काम गर्दाका सीमा हुँदाहुँदै पनि उहाँ प्रभावशाली पत्रकारमा गनिनुहुन्थ्यो,’ मैनाली भन्छन्, ‘मैले भेट्दा पत्रकारितामा सक्रिय नभए पनि उहाँ उत्तिकै सक्रिय हुनुहुन्थ्यो, विशेषगरी सूचना लिनका लागि उहाँको सक्रियता र जनसम्पर्कमा सबैलाई प्रेरित गर्ने खालको थियो । उहाँलाई बडेबडे विद्वान् र विज्ञले समेत नाइँ भन्न सक्दैनथे ।’

इलामको जसबिरेमा सडक पुर्‍याउनदेखि दूध संकलन केन्द्र खोल्न पनि रिसालकै अग्रसरता रहेको मैनालीको भनाइ छ । ‘पहिले आलु पनि मुस्किलले उत्पादन हुने जसबिरे अहिले चिया र दूधको नगद कारोबारका लागि चिनिन्छ । एक किसिमले भन्दा जसबिरेको मुहार फेर्न भैरवदाइकै भूमिका छ । अहिले पूरै जसबिरे शोकमा डुबेको हुनुपर्छ,’ मैनालीले भने ।

रिसाललाई सार्वजनिक आह्वानमार्फत स्रोत परिचालन गरेर दूरदराजका नागरिकलाई सेवा उपलब्ध गराउने अभियन्ताका रूपमा पनि सम्झिने गरिन्छ । उनकै अग्रसरतामा ५० कै दशकमा धादिङ र चितवनका चेपाङलाई रेडियो, बाजुराका सार्वजनिक स्कुलहरूमा शब्दकोश र कर्णाली उज्यालोजस्ता अभियान सञ्चालन गरिएको थियो । ती अभियानका लागि स्रोत जुटाउन उनले सार्वजनिक रूपमा आह्वान गरेका थिए । ‘अहिलेको क्राउड फन्डिङ भैरवदाइले ५० को दशकमै अभ्यास गर्नुभएको थियो,’ मैनाली सम्झन्छन् । डा। देवेन्द्रराज पाण्डे अध्यक्ष रहेको स्वावलम्बन अभियानलाई पाल्पा, गोरखालगायत जिल्लामा फैलाउन पनि रिसाल सक्रियतापूर्वक लागेका थिए ।

गत वर्ष ९६ औं जन्मदिन मनाउँदासम्म पनि लेखन र समाजसेवामा सक्रिय रिसाल पछिल्लो एक वर्षयता भने स्वास्थ्यका कारण निष्क्रिय थिए । ‘एक वर्षयता मात्र उहाँ सक्रिय हुनुहुन्थेन, बाँकी पूरै जीवन कहिले पनि चुप लागेर बस्नुभएन, सधैं समाजलाई केही न केही योगदान दिइराखूँ भनेर सक्रिय रहनुभयो,’ मैनालीले भने । उनी सूचनाकर्ममा लाग्ने सबैको प्रेरणाका स्रोत थिए । रिसालका ‘साधुलाई सुली’ ९जेल डायरी०, ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरवदाइ’ लगायत पुस्तक प्रकाशित छन् । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस