बाजुरा : पाँच दिनदेखि जारी शिक्षक आन्दोलनमा बोल्दै अनेरास्ववियुका महासचिव नरेश रोकायाले शिक्षण पेशामा टपरहरु ल्याउन तलब दोब्बर हुनुपर्ने बताएका छन् । देशमा डाक्टर, इन्जिनियर बन्छु भन्नेहरु धेरै भएको र शिक्षककै छोराछोरीहरुले समेत शिक्षक बन्ने सपना नदेखेको भन्दै रोकायाले ‘विश्वविद्यालयका टपरहरुको पहिलो सपना टिचर र लेक्चरर बन्ने हुनुपर्नेमा जोड दिएका छन् ।
अहिले गणित, विज्ञान तथा अंग्रेजी भाषाका शिक्षकहरुको माग भएको धेरै समयमा पनि पदपूर्ति नभएका उदाहरण दिँदै रोकायाले अब टपरहरुले शिक्षण पेशामा आउने माहोल बन्नुपर्ने बताएका छन् ।
‘विकसित देशहरुको सबैभन्दा सम्मानित शिक्षण पेशा हो । तर नेपालमा त्यो हुन सकेको छैन । यो नसकेका कारण समस्या आइरहेको छ । यसलाई सम्मानित पेशा बनाउनुपर्दछ रोकायाले भन्नु भएको छ ।
रोकायाले शिक्षकहरुको मार्यादाक्रम तोकिनुपर्ने भन्दै भारत, चीन तथा जापान देशमा जस्तै नेपालका शिक्षकहरुलाई पनि धेरै सेवा सुविधा हुनुपर्ने बताएका छन् । विद्यालय शिक्षा ऐन तत्काल बन्नुपर्ने पक्षमा बोलेका रोकायाले भने, ‘यसमा अनेरास्ववियुको साथ र समर्थन रहनेछ ।’
शिक्षकहरुलाई पनि समय अनुसार हिँड्न, दगुर्न र उड्न भन्दै रोकायाले भने, ‘गुरुहरुहरुले सतमार्गमा पठाएमा विद्यार्थीहरु सतमार्गमा हिँड्छन् ।’
प्रतिक्रिया दिनुहोस