मिन बहादुर खड्का
बाजुराः बाजुरामा तीन वर्षको अवधिमा सवारी दुर्घटनाबाट १३ जनाले ज्यान गुमाएका छन् । तीन वर्षको अवधिमा ३३ वटा सवारी दुर्घटनामा परी ५९ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा २ सवारी दुर्घटना भएका छन् । दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएक छन् । यस्तै आर्थिक वर्ष २०७८/२०७९ मा ६ वठा सवारी दुर्घटना भएका छन् दुर्घटनाबाट ७ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएक छन् । यस्तै आर्थिक वर्ष २०७९/८० मा २४ वटा सवारी साधन दुर्घटना भएका छन् । दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् । पछिल्लो तिन वर्ष यताको तथ्यांकलाई केलाउने हो भने सवैभन्दा बढी सवारी साधन दुर्घटना २०७९/८० मा भएको पाइएको छ । एक आर्थिक वर्षमा मात्रै २४ वटा सवारी साधनहरु दुर्घटनामा परेका छन् ।
निरन्तर सवारी दुर्घटना बढ्दै गएको देखिन्छ । तर सवारी दुर्घटना बढ्दै गएको भएपनि नियन्त्रणका लागी पहल भएको पाइदैन । तीन वर्ष भन्दा अगाडि आर्थिक वर्ष २०७६/७७ मा ४ सवारी साधन दुर्घटना भएका छन् । दुर्घटनाबाट ५ जनाको मृत्यु भएको र ३ जना घाइते भएको तथ्याङ्क जिल्ला प्रहरी कार्यालय बाजुरा संग छ । बाजुरामा तीन वर्षको अवधिमा ५६४९ वटा सवारी साधन कारवाहीमा परेका छन् भने ४२७३५०० राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०७७/७८ मा १७१९ सवारी साधन कारबाहिमा परेका छन् भने २०५००० राजश्व संकलन भएको छ । यस्तै आर्थिक वर्ष २०७८÷७९ मा २२३८ सवारी साधन कारबाहिमा परेका छन् भने १२८७५०० राजश्व संकलन भएको छ ।
यस्तै आर्थिक वर्ष २०७९/८० मा जम्मा १६९२ सवारी साधन कारबहीमा परेका छन् भने ९८१०००. राजश्व संकलन भएको छ । विगत तिन वर्ष यताको तथ्याङ्क हेर्दा सवारी साधन कारबाही दर र राजश्व संकलन दर निरन्तर ओरालो लागेको देखिन्छ । पछिल्लो समयमा ट्राफिक नियम उल्लंघन सवारी साधन चलाउनेहरु पहिलाको जस्तै नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका ट्राफिक प्रहरी हंस बहादुर रोकायाले बताएका छन् । यदि कसैले नियमको उल्लंघन गर्ने सवारी साधनहरुलाई कारवाही गर्दै आएको पनि उनले बताएका छन् ।
ट्राफिक प्रहरीहरुको लापरबाहिका कारणले मात्र सवारी दुर्घटना हुन्छ भने प्रहरीलाई मात्र दोष दिन नहुने बताउदै आफुहरुले सवारी दुर्घटनाका घटनाहरु घट्न नदिनका लागी भरपुर प्रयास गरिहेको बताएका छन् । ट्राफिक प्रहरीको तर्फबाट काँही कतै कमजोरी हुन नदिने भन्दै ढुक्क हुन आग्रह गरेका छन् । बाजुरामा सवारी दुर्घटनाका घटनाहरु प्राय बढी नै हुने गरेका छन् । चालकहरुले मदिरा सेवन गरी गाडी चलाउने, क्षमता भन्दा बढी यात्रुहरु बोक्ने, चालक अनुमति पत्र बिना नै गाडी चलाउने, ठाँउ-ठाँउमा खाल्डा खुल्डी भएको कच्चि सडक लगायतका कारण सवारी दुर्घघनाका घटनाहरु दिन प्रतिदिन बढ्ने गरेका छन् ।
गाडी चालकहरु मात्रै नभई यात्रुहरु स्वयम् को लापरबाहिका कारण पनि सवारी दुर्घटना हुने गरेको छ । यात्रुहरु हतारमा जोखिम मोलेर यात्रा गर्ने हुँदा पनि जोखिम बढी हुने गरेको छ । पछिल्लो समयमा चालकहरुले सवारी साधनले बोक्न सक्ने क्षमता भन्दा धेरै मानिसहरु बोक्ने गरेको गुनासा यात्रुहरुले नै गर्ने गरेका छन् । मालबाहक गाडीहरुमा समेत यात्रुहरु कहिलेकाँही यात्रा गर्ने गर्छन् । यसमा प्रहरीको पनि लापरवाही रहेको आरोप पनि यात्रुहरुले नै लगाउने गरेका छन् । तर यो स्विकार गर्ने पक्षमा भने प्रहरी छैनन् । प्रहरीको काँही कतै कमजोरी नरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी हवल्दार भुपेन्द्र धामीको दावी छ ।
उनले भने, सवारी साधनमा यात्रा गर्दा पहिलो कुरा त स्वयम यात्रुले नै सम्यम्ता अपनाउनुपर्ने हुन्छ , छिटो पुग्नुपर्ने छ भन्दैमा जोखिम मोलेर गाडीमा यात्रा गर्ने नै होइन , सबैले आ-आफ्नो ठाँउबाट सहयोग गर्नुपर्छ , यसमा प्रहरीको कमजोरी नै छैन भन्ने त होइन, तर प्रहरीको आँखा छल्ने काम यात्रुहरु र चालकले नै गर्छन् यसमा प्रहरीको के दोष ? उनले थपे सवारी दुर्घटना कम गर्न सबैले आ आफ्नो ठाँउबाट सहयोग गर्न र सबैले सतर्कता अपनाउनु पनि जिल्ला प्रहरी कार्यालय बाजुराले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस