शनिबार, ०६ पुष २०८१

ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष स्विकार्न सकिदैनः सहमहामन्त्रि पाण्डे

नियुक्ति खारेज गर्नुपर्ने पाण्डेको माग

बाजुराः नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्यारक्याल लामा लाई स्विकार्न नसकिने बताएका छन् । आफ्नो सामाजिक सञ्जाल फेसवुकमा लेख्दै पाण्डेले आपराधिक गतिविधिमा मुछिएका व्यक्तिलाई लुम्बिनी विकास कोष जस्तो पवित्रस्थलको उपाअध्यक्ष स्विकार्न नसकिने बताएका हुन् ।

सरकारले आइतबार लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाएपछि सहमहामन्त्री पाण्डेले सरकारको उक्त निर्णय प्रति आपत्ति जनाएका छन् । आपराधिक गतिविधिमा मुछिएका व्यक्तिलाई लुम्बिनी विकास कोष जस्तो पवित्रस्थलको जिम्मेवारी दिन नहुने पाण्डेको भनाई छ ।सरकारले उनको नियुक्ति खारेज गर्नुपर्ने माग पनि पाण्डेको छ ।

संघीय सांसदसमेत रहेका पाण्डेले लेखेका छन् ‘शान्तिका अग्रदूत गौतम बुद्धको पावन जन्मथलो लुम्बिनीको चौतर्फी विकासका लागि गठित निकाय लुम्बिनी विकास कोषको उपाध्यक्षमा बैंकका लकरमा गोली राख्ने लगायत अनेक आपराधिक कृत्यमा मुछिएका व्यक्तिको नियुक्ति खेदजनक छ,’ ‘यस पकारको अत्यन्त अनुचित निर्णय तत्काल खारेज गरी संस्थाको मर्यादा मुताबिक कार्य सञ्चालन गर्नसक्ने सत्पात्रको नियुक्ति गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछु ।’ सरकारले कोषको उपाध्यक्षमा नियुक्ति गरेका लामा विवादमा मुछिएका व्यक्ति हुन् । उनीमाथि दोहोरो नागरिकता, वैदेशिक रोजगार, राहदानी लगायतका आरोप छ ।

प्रतिक्रिया दिनुहोस