धनगढी : सुदूरपश्चिम प्रदेशमा कार्यकाल सकिन लागेका पदहरुमा तत्काल नियुक्ति गर्न सत्ता साझेदार दल नेपाली काँग्रेस र नेकपा एमाले सहमत भएका छन् । सत्ता गठबन्धनको प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बुधबार बसेको बैठकमा राजनीतिक नियुक्तिका पदमा तत्काल नियुक्ति गर्ने बारे दुबै दल सहमत भएका हुन् । बैठक मुख्यमन्त्री कमलबहादुर शाहको सरकारी निवासमा बसेको हो ।
दुबै दलका प्रदेश तहका शिर्षनेताहरु सहभागि बैठकले भागबण्डाको आधारमा तत्काल पदपूर्तिका लागि सहमत भएका छन् । त्यसको खाका बनाउने जिम्मा मुख्यमन्त्री कमलबहादुर शाह र पूर्व मुख्यमन्त्री समेत रहेका नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई दिइएको छ ।
नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति बिरबहादुर बलायरको अध्यक्षतामा बसेको प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बैठकमा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई समेत बोलाइएको थियो । बैठकमा एमालेका प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, मुख्यमन्त्री कमलबहादुर शाह, एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल लगायतका नेताहरु सहभागी थिए ।
सुदूरपश्चिममा राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरिने प्रादेशिक अस्पतालका अध्यक्षहरुको कार्यकाल सकिन केही समय मात्र बाँकी छ । यस्तै, प्रदेश खेलकुद परिषद्, युवा परिषद्, पर्यटन विकास बोर्ड र प्रज्ञा प्रतिष्ठानमा पनि पदहरु रिक्त हुँदैछन् । ती सबै पदहरुमा सत्ता गठबन्धनमा सहभागी काँग्रेस एमालेले सहमतीका आधारमा राजनीतिक नियुक्तिका पदहरुमा भागबण्डा गर्नेछ ।
‘प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रदेश सरकारका काम कारवाही थप प्रभावकारी बनाउने विषयमा गहन छलफल भएको छ, बैठकमा सहभागी एमाले प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले जानकारी दिए । ‘रिक्त हुन लागेका राजनीतिक नियुक्ति सम्बन्धी पदहरुमा सहमतीका आधारमा चाँडै पदपूर्ति गर्ने र सरकारलाई थप प्रभावकारी बनाएर लैजाने विषयमा छलफल गरिएको जैशीले भने ।
जैशीका अनुसार जनताको अपेक्षा र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट तयार गर्ने लगायतका विषयमा छलफल भएको छ । राजनीतिक नियुक्तिका विषयलाई लिएर गठबन्धनमा खटपट नहोस् भन्नका लागि बुधवारको छलफल आयोजना गरिएको हो ।
‘राजनीतिक नियुक्तिका विषमा दुई दलका नेताहरूले खाका ल्याउने र त्यसमा छलफल गरेर चाँडै नियुक्ति गर्ने तयारीमा प्रदेश सरकार लागि परेको छ । बैठकमा आगामी बजेट र टुक्रे योजना नबनाउने बारे पनि छलफल भएको छ । ‘अब टुक्रे योजना होइन दिगो रूपले हेरेर गौरवका योजनामा सरकारले चासो दिनु पर्छ ’ पूर्व मुख्यमन्त्री राजेन्द्र रावलले भने आगामी बजेट अझै प्रभावकारी हुनुपर्ने र बजेट प्राथमिकताको आधारमा हुनुपर्छ र हुन्छ ।’
एमाले केन्द्रीय सचिव भट्टले आपसी समन्वयमा आधारमा काम गर्न सुझाव दिएका थिए । राजनीतिक संयन्त्रलाई अझै प्रभावकारी बनाउनु पर्ने भन्दै उनले सत्ता गठबन्धनको संयन्त्र पालिका स्तरसम्म पनि पुर्याउन आवश्यक रहेको बताए ।
कार्यक्रमको अध्यक्षता ग्रहण गरेका कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायरले सरकार सञ्चालन गर्दा केही समस्या आए संयन्त्रको बैठकबाट टुङ्गो लगाउनु पर्ने धारणा राखे । संसद् विकास कोष खारेज गर्नुपर्नेमा प्रदेश सभापति बलायरको जोड थियो । संयन्त्रको बैठक बुधकार दोस्रो पटक बसेको हो । यसअघि पुस ८ गते मुख्यमन्त्रीकै सरकारी निवासमा बसेको थियो ।
प्रतिक्रिया दिनुहोस