बुधबार, २८ फागुन २०८१

बाजुराको मार्तडीमा चैत्र १६ बाट प्रथम कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव हुने

बाजुरा : बाजुरामा आगामी चैत्र १६ गते बाट कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव २०८१ आयोजना हुने भएको छ । बडीमालिका सामुदायिक विकास समाजको आयोजनामा आगामी चैत्र १६ गते देखि २५ गतेसम्म बाजुराको सदरमुकाम मार्तडीमा महोत्सव आयोजना हुन लागेको हो ।

बडीमालिका सामुदायिक विकास समाज बाजुराले सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन गर्दै महोत्सव संचालन बारे पत्रकारहरुलाई जानकारी गराएको छ । प्रथम बडीमालिका कृषि, पर्यटन तथा साँस्कृितक महोत्सव–२०८१ मा बडीमालिकालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न महोत्सवको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

बडीमालिकाको थप प्रचार प्रसार गरी यहाँको पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउन महोत्सवको मुख्य उद्देश्य रहेको बडीमालिका सामुदायिक विकास समाज बाजुराका अध्यक्ष अमरबहादुर विश्वकर्माले बताएका छन् । 

महोत्सवमा स्थानीय तथा रैथाने बालीको उत्पादन, प्रचार प्रसार,संरक्षण, स्थानीय कला संस्कृतिको पहिचान र मौलिकतालाई केन्द्रमा राखेर संचालन गर्न लागिएको यस महोत्सवलाई एउटा जीवन्त र दिगो पर्यटनमुखी बनाउन मख्य लक्ष रहेको आयोजकले बताएको छ ।

महोत्सवको मूल उद्देश्य बडीमालिकालाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गरी दीर्घकालिन रूपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पुर्याउनु रहेको आयोजकको दावी छ । 

महोत्सवले नगरको स्थानीय कला, संस्कृति र सम्पदाको प्रदर्शन गर्ने, स्थानीय मौलिक पेशा, परिकार र उत्पादनको प्रवद्र्धन गर्ने, बडीमालिकालाई पर्यटकीय गन्तव्यको रूपमा परिचित गराउने, समय समयमा हुने ऐतिहासिक जात्रा पर्वहरूको विषयमा जानकारी गराई सो समयमा पर्यटकको आगमन गराउने महोत्सवको मुख्य उद्देश्य रहेको छ ।

महोत्सवमा जिल्ला बाहिरका र नगरका विभिन्न स्थानमा करिव एक सय स्टल रहने निश्चित भएको छ । क्षेत्रगत समितिहरुले संकलन गरी महोत्सव सञ्चालक समितिले अनुमोदन गरेको विवरण अनुसार स्थानीय मौलिक कला सँस्कृतिका अन्तर्गत १५ देखि २५ वटा विभिन्न नाचहरु प्रदर्शन हुनेछ ।

साँस्कृतिक बाजागाजा तर्फ ३६ बाजा प्रदर्शनी हुनेछ । स्थानीय तथा रैथाने बालीबाट बनेका विभिन्न स्थानीय खाजाका परिकार प्रदर्शनी हुनुका साथै स्थानीय तथा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुतिहरुको अवलोकन गर्न सकिनेछ ।

बडीमालिकाको संस्कार र भेषभुषा प्रदर्शनी, शैक्षिक प्रदर्शनी एक, विभिन्न प्रदर्शनी, मूर्ति र मूर्तिकला प्रदर्शनी, बाजागाजासहित क्षेत्रगत परिक्रमा एक, खानाका स्टल, पुस्तक प्रदर्शनी, परम्परागत खेल प्रदर्शनी अन्य झाँकी प्रदर्शनी रहनेछ ।

घरेलु तथा साना उद्योगका उत्पादन र हस्तकलाका उत्पादनहरुको पनि प्रदर्शन हुनेछ । साथै स्थानीय भुवा नाच, अनन्ते, हुड्केली, गौरा लगायत नगरपालिका भरिका परम्परागत नाच सहित उत्कृष्ट प्रतिभाको खोजि गरि जसको प्रतिभा समेत प्रस्तुत गरिनेछ ।

महोत्सवका आकर्षणहरुमा स्थानीय साँस्कृतिक प्रदर्शनका साथै राष्ट्रिय तथा स्थानीय स्तरका सम्भाव्य कलाकारहरु खेम सेन्चुरी, प्रमोद खरेल, मेलिना राई, शान्ती श्री परियार, शान्ता रानी परियार, शिव परियार, शोभा त्रिपाठी, एलिना चौहान, बिनोद बाजुराली, राजेन्द्र शाह (विपि),प्रकाश थापा, दुर्गेश थापा, अन्जली अधिकारी, राजु परियार, बद्रि पंगेनी सहीत सहभागि हुने बताइएको छ । 
 

प्रतिक्रिया दिनुहोस