धनगढी : नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशको सम्मेलनमा प्राय सबैजसो केन्द्रीय नेताहरु देखिए । तर शेखर कोइराला देखिएनन् । पार्टी सभापति शेरबहादुर देउवादेखि पूर्णबहादुर खड्कासम्म, कृष्ण सिटौला देखि गगन थापासम्म मञ्च अगाडिको एउटै लस्करमा अटाउँदा शेखरको अनुहार बाहिररह्यो ।
दुई महिना पहिला तामझाम सहीतको बाजागाजाको स्वागत पाएर सुदूर आएका शेखर पार्टीको आधिकारी सम्मेलनमा नदेखिनुलाई सामान्य मानिएको छैन् । काँग्रेसकै नेता कार्यकर्तामबीच नै चासोको विषय बनेको छ । सम्मेलन नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको हो । आयोजकका तर्फबाट प्रदेश सभापति वीरबहादुर बलायर सहीत पदाधिकारीको टिमले सबै केन्द्रीय नेताहरुलाई आमन्त्रण गरिएको थियो ।
तर आमन्त्रण गरिएका सबैजसो शिर्ष नेताहरु मञ्चमा देखिएपनि शेखर कोइराला वहिष्कार शैलीमा बाहिर नै रहे । अर्थात प्रदेश सम्मेलनमा आएनन् । एकथरिले शेखरले वहिष्कार नै गरेको विश्लेषण गर्न थालेका छन्, भने केहीले कामको व्यवस्ता नै उपस्थित नहुनुको कारण भनेका छन् । तर आन्तरिक श्रोतको दाबी अनुसार शेखरले सम्मेलन वहिष्कार नै गरेको बुझिएको छ ।
जुन मञ्चमा नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवा पार्टी भित्रको एकतालाई जोड दिएरहेका थिए, त्यही कार्यक्रममा पार्टीकै शिर्ष नेता, भावी पार्टी सभापतिको उम्मेदवारी घोषणा गरिएका शेखरकै उपस्थिति नहुनु काँग्रेसकै लागि सोचनीय विषय बनेको छ । भावी सभापतिका उम्मेदवार नै प्रदेशको सम्मेलनमा नआउनुले काँग्रेस भित्रको गुटराजनीतिको प्रष्ट चित्र देखिएको छ ।
सम्मेलनमा सभापति देउवासँगै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापालगायतको उपस्थिति छ । नेताहरू डा. शशाङ्क कोइराला, कृष्ण सिटौला, गोपालमान श्रेष्ठ, वीरबहादुर बलायर, डिना उपाध्यायलगायत पनि धनगढी आएका छन् ।
१४ औं महाधिवेशनमा सभापतिमा देउवासँग पराजित कोइरालाले आगामी महाधिवेशनमा सभापतिको प्रमुख दाबेदारको रूपमा आफूलाई उभ्याइरहेका उनी पछिल्लो समय कांग्रेसका भेला र सम्मेलनहरू प्रति रुष्ट देखिन्छन् । यसअघि पोखरा र लुम्बिनीमा भएको प्रशिक्षण कार्यक्रममा पनि अधिकांश नेता पुग्दा उनी गएनन् । उनले कहिँ निम्तो नगरिएको त कहिँ आधिकारिक व्यक्तिबाट खबर नआएको आरोप लगाउने गरेका छन् ।
तर सुदूरपश्चिम प्रदेशमा भने आमन्त्रण गर्दा पनि नआएको प्रदेश महामन्त्री मेघराज खड्काले बताए । ‘हामीले निम्तो पनि दिएका थियौँ फोन पनि गरेका थियौँ तर, उहाँ (शेखर कोइराला) आउनुभएन ’, उनले भने ‘किन आउनु भएन भन्ने कुरा त उहाँलाई नै थाहा होला ।’
पार्टी सभापति देउवाले एकतामा जोड दिइरहेका बेला शेखरको वहिष्कार भित्रैदेखि बलियो काँग्रेस बन्न कुरामा आशंका उब्जाएको छ । प्रदेश सम्मेलनमा सभापति देउवाले कांग्रेस सच्चा मानेमा एक भए आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउन सकिने र त्यसैमा लाग्न भनिरहेका थिए । केही नेता कार्यकर्ता शेखरको अनुहार खोजिरहेको अवस्था थियो ।
‘एक भएर लागेको खण्डमा, सच्चा मानेमा एक हुन सकेको खण्डमा एक्लै बहुमत प्राप्त गर्न सक्दछ,’ देउवाले सम्मेलनमा भने, ‘त्यसकारण सबै साथीभाइलाई आफ्नो मतभेद, आपसी असमझदारीलाई, प्रतिस्पर्धालाई एउटा पाटोमा राखेर, प्रतिस्पर्धा हुन आवश्यक छ । तर, त्यसैबाट पार्टीलाई हानी हुने काम गर्नु हुँदैन । पार्टीलाई एक गर्न सकेको खण्डमा हाम्रो पार्टी बहुमत प्राप्त गर्न सक्छ ।’
शेखर कोइराला वर्तमान एमाले काँग्रेस सत्ता गठबन्धनसँग पनि सन्तुष्ट छैनन् । उनले खुलेर विरोध नगरेपनि असन्तुष्टीका बाछिटा ठाउँ ठाउँमा पोखिरहेका हुन्छन् । उनीसँगै देउवाले अघि सारेको पात्र र एउटै गुट भनिएका गगन थापा समेत सभापतिमा लड्ने देखेपछि शेखरले आफ्नै समूह निर्माण गर्दै देश दौडाहमा छन् । उनको देश दौडाहको यात्रा पार्टीका आधिकारीक कार्यक्रम बाहेक र फरक शैलीको देखिन्छ ।
यी प्रकारका गतिविधीले काँग्रेस भित्रैदेखि एक हुने स्थिति कमै देखिन्छ । अपवाद बाहेक देउवा र शेखरको एकता संभावना छैन् । आन्तरिक लडाइलाई पनि उनीहरु बीचको ठूलो खाडल बनेको देखिन्छ । २०८४ को चुनावमा एक्लै लड्ने घोषणा गरेको काँग्रेसलाई पार्टी भित्रकै गुटको लडाइले प्रत्यक्ष असर पार्ने देखिन्छ । देउवाले पटक पटक एक हुन, एक भएर जाने विषयमै जोड दिइरहेका छन् । तर संभव हुने संभावना न्यून मात्रै छ ।
सम्मेलनमै आउने क्रममा सभापति शेरबहादुर देउवाले धनगढी विमान स्थलमा राजवादीको आन्दोलनले कुनै असर नपार्ने बताएपनि, लोकतन्त्र कमजोर पार्ने र पार्टी भित्रै केही हलचल हुने शंका उनको अनुहारमा पनि देखिन्थ्यो । त्यो उनले दिएका अभिव्यक्तिबाट पनि केही झलक दिन्छ ।
उनले सम्मेलनमै एकल बहुमत प्राप्त गर्ने अवस्था नभएका कारण कसै न कसैसँग चुनावी गठबन्धन गर्नुपर्ने अवस्था आउने समेत बताए । तर काँग्रेसले यस अघि नै कसैसँग चुनावी गठबन्धन नगर्ने घोषणा गरेका थिए । ‘हाम्रो संविधान समावेशी संविधान छ ।
समानुपातिक प्रणालीको आधारमा समावेशी संविधान छ । राष्ट्र नै समावेशी पद्धतिमा चलेको छ,’ सभापति देउवाले भने, ‘यस कारण कुनै पनि पार्टीको प्रत्यक्ष बहुमत प्राप्त गर्न धेरै सजिलो छैन । कुनै न कुनै पार्टी सित गठबन्धन गर्नुपर्ने हुन्छ । ठूलो भएता पनि हामीसित बहुमत छैन । भोलि पनि हुने सम्भावना कम छ ।’
सभापति देउवाले पार्टीलाई एकताबद्ध बनाउने कामको सुरुवात गृह प्रदेश सुदूरपश्चिमबाट होस् भन्ने आफ्नो चाहना रहेको पनि बताए । ‘सुदूरपश्चिमबाट यसको सुरुवात होस् भन्न चाहन्छु,’ उनले भने । काँग्रेसको धनगढी प्रदेश सम्मेलनले सबैजसो नेताहरुलाई उभ्याएर एकताको सन्देश दिएपनि शेखरको खोजीले केही फरक विषयलाई प्रवेश गराएको छ ।
प्रतिक्रिया दिनुहोस