बुधबार, २८ फागुन २०८१

कर्णाली भीरमा अड्किएका सात जनाको १८ घण्टापछि उद्दार

उद्दारमा गएका आफै अड्किएपछि आफन्तकै अघि त्यागे पुसेले प्राण

बाजुरा : कर्णाली नदी किनारको भीरमा अड्किएका सात जनाको १८ घण्टा पछि उद्दार गरिएको छ । आइतबार साँझ ६ बजेदेखि अड्किएका स्थानीयको हिमाली गाउँपालिकाको बोट मार्फत उद्दार गरिएको प्रहरीले बताएको छ । माछा मार्न गएका आफन्त पुसे भण्डारी भीरबाट खसेर घाइतेभएपछि उनीहरु उद्दारका लागि गएका थिए । 

उद्दारका लागि पुगेका सातै जना भीर पार गर्न नसकेपछि बीचमै अड्किएका थिए । भण्डारीको आइतबार राती नै मृत्यु भइसकेको थियो । मृतक भण्डारीले भीरबाट चिप्लीएर घाइते भएको र ज्यान बचाउन अपिल गरेपछि उनीहरु घटनास्थल गएका थिए । फोन सम्पर्क गरेपनि रातको बीचमा कुनै विकल्प नै थिएन्, उनीहरुपनि मृतकसँगै रातभर भीरमै बसेको स्थानीय जीवन बुढाले जानकारी दिए । 

मृतक भण्डारीले करिब ५ बजेतिर आफन्तलाई फोन गरेका थिए । स्थानीय गणेश बुढाका अनुसार पुसे जहिल्यै जोखिम मोलेर माछा मार्न जान्थे । गाउँलेहरू पनि उनलाई भीर चढ्ने मान्छे भनेर चिन्थे । साँझ पर्न लाग्दा उनी घर फर्किने तयारी गर्दै थिए । अचानक उनी भीरमाबाट तल खसेछन् । लड्दै तल पुगेका पुसे अर्धचेत अवस्थामा थिए । अर्धचेत अवस्थामै आफन्तलाई फोन गरेका थिए । 

काँपिरहेको हातले उनले घरमा फोन गरे– ‘म भीरबाट खसेँ । घाइते भएँ । छिटो आउनु भनेपछि फोन उठाउने परिवारको मन काम्यो । उनीहरूले गाउँलेलाई खबर गरे । गाउँलेहरू दौडिए। समूह बनाएर कर्णाली नदीतर्फ लागे । तर भीर झरिनसक्नु थियो, उता पुसेको आवाज कमजोर हुँदै गयो । 

‘म अब सक्दिनँ,’ फोनमै बोल्दै–बोल्दै उनको प्राण गयो । जतिबेला आफन्त नजिक पुगिसकेका थिए । रातीको समय, घाइतको उद्दार गर्नुपर्ने हतार । उनीहरु पनि झर्ने बेला झरे । पछि उक्लीनै सकेनन् । बीचमै अड्किए । रातभर आफन्त गुमाउँदाको पीडामा भीरमा अड्किएर अर्को पीडा भोग्न बाध्य भए । 

गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, प्रहरी र प्रशासनलाई राती नै जानकारी भइसकेको थियो । वडा अध्यक्ष विष्णुबहादुर बुढा रातभर उद्दारको प्रयासमा लागे । तर बोट हिमालीको धुराचौरबाट ल्याउनै समस्या, राती अन्य विकल्प पनि थिएन्, विहानै उद्दार गर्ने गरि तयारी थालियो र उद्दार संभव भयो, भन्छन्, नागरिक अगुवा समेत रहेका स्थानीय जनेश भण्डारी ।

प्रशासनले जिम्मेवार जवाफ नदिएको र असहयोग गरेको आक्रोश आफन्तको छ । शव सहीत अड्किएका सातै जनाको सोमबार विहान साढे ११ बजेतिर उद्दार गरिएको छ । आफन्तले शब दाहसंस्कार पनि गरिसकेका थिए । 

बोटकै साहरामा शव र अड्किएका सातै जनाको उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले जानकारी दिए । रातभरि प्रहरी र गाउँलेहरू पनि नदी किनारमा आगो बालेर बसेका थिए । रातीको समय र ढिलो खबर भएकै कारण लामो समय भीरमै अड्किनु परेपनि विहान सहजै उद्दार गरिएको प्रहरीले बताएको छ । 

माछा पर्ने सिजन भएकोले यतिबेला स्थानीय कर्णाली नदीमा झरेउलाँ हाल्ने, जाल खेल्ने गर्दछन् । माछा मारेर उनीहरुले दैनिक आम्दानी गर्ने गरेको देखिन्छ । करिब ४० वर्षका मृतक पुसे भण्डारी माछा मार्न अनुभवी मानिन्थे । गाउँबाट करिब दुई घण्टाको बाटो पार गरेर उनी कर्णाली नदीको किनारमा माछा मार्नकै लागि दैनिक पुग्ने गथ्र्ये । 

जेठी छोरी अहिले एसइइ परीक्षा दिँदै छन् । तीन सन्तानको पालनपोषणका लागि पनि पुसेलाई माछा आम्दानीको श्रोत थियो । झरेउला हाल्ने र जाल खेल्ने उनको दैनिकी जस्तै थियो । उद्दार गरिएका सात जना मध्ये केहीको हात खुट्टामा सामान्य चोट लागेको अवस्था छ । भीरमा उक्लीने, ओर्लिने प्रयास गर्दा उनीहरुलाई सामान्य चोट लागेको हो । 

उद्दारपछि उनीहरुले नयाँ जीवन पाएको बताएका छन् । एक ज्यानका पछि सात ज्यान फाल्नु पर्ने अवस्था आएको भन्दै उनीहरु खुसी देखिन्छन् । जति आफन्त गुमाउँदा पीडा छ, त्यो भन्दा बढी सिंगो सात जनाको ज्यान जोगिदा खुसी छौं, उनीहरुले बोटबाट झर्दै भने । अड्किएको भीर पर्ने कणाली नदी किनारमा आफन्त र स्थानीयको आइतबार राती देखि नै रुवाबासी चलेको थियो । 

प्रतिक्रिया दिनुहोस