धनगढी : बझाङको खापरदेव क्याम्पसमा स्ववियू निर्वाचन स्थगित गरिएको छ । स्ववियू निर्वाचनको कार्यक्रम अर्को सूचना प्रकाशित नहुँदा सम्मका लागि स्थगित गरिएको क्याम्पस प्रमुख रमेशबहादुर सिंहले जानकारी दिए । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा आगामी चैत ५ गते स्ववियु निर्वाचन हुदैछ ।
खापरदेव क्याम्पसमा विद्यार्थीहरूले समयमै भर्ना नगरेपछि स्ववियू निर्वाचनको तयारी पूरा हुन नसकेको सिंहको भनाइ छ । क्याम्पस व्यवस्थापन समितिको फागुन २४ गतेको बैठकमा स्ववियू निर्वाचनलाई वैधानिक र नियमअनुसार सम्पन्न गर्न अर्को सूचना प्रकाशित नगरी निर्वाचनको कुनै कार्यक्रम अगाडि बढाउन नसकिने जनाएको छ ।
सोही निर्णयको आधारमा स्ववियू निर्वाचन सम्बन्धी क्याम्पसका सबै कार्यक्रमहरू स्थगित गरिएको क्याम्पस व्यवस्थापन समिति अध्यक्ष दीपेन्द्रबहादुर सिंहले बताए । क्याम्पस प्रमुख रमेशबहादुर सिंह र क्याम्पस व्यवस्थापन समिति अध्यक्ष दीपेन्द्रबहादुर सिंहद्वारा फागुन २४ गते जारी गरिएको सूचनामा, भर्ना प्रक्रिया पूर्ण नभएका कारण क्याम्पसको स्ववियू निर्वाचन स्थगित गरिएको उल्लेख गरिएको छ ।
बझाङमा त्रिवेणी क्याम्पस, सुनकुडा क्याम्पस, झोता क्याम्पस, सेती क्याम्पस, शान्ति क्याम्पस र थलारा क्याम्पस गरी ६ वटा क्याम्पसमा भने चैत ५ गते नै स्ववियू निर्वाचन हुने भएको छ । विद्यार्थी यतिबेला स्ववियु निर्वाचन केन्द्रीत छलफल र बहसमा छन् ।
प्रतिक्रिया दिनुहोस