धनगढी : स्वामिकात्र्तिक खापर गाउँपालिका २ फयाल गाउँका पुसे भण्डारी माछा मार्न प्रत्येक दिन कर्णाली नदी जाँन्थ्ये । झरेउला हाल्ने र जाल खेल्ने उनको दैनिकी जस्तै थियो । आइतबारपनि उनी जाल सहीत कर्णाली पुगे । आफूले हालेको झर्उलाँको माछा संकलन गरे, केही माछा जाल हानेर मारे । पीठ्यूँमा माछा मार्ने जाल, हातमा माछा बोकेर उनी फर्किने बेला एक्कासी चिप्लीएर त्यही लडेँ र कर्णाली नदीको किनारामा खसे ।
घाइते भएका उनले आफन्तलाई फोन गरे । हातखुट्टा भाँचिएको र उठ्न नसक्ने अवस्थामा पुगेका भण्डारीले फोन गरेर आफन्तलाई उद्दारको अपिल गरे । गाउँबाट ४ जना पुरुष, एक महिला र ३ जना बालबालिका हतार हतार उद्दारका लागि घटना स्थल पुगे । ४ बजेतिर उनी लडेका हुन् । साँझ पर्दै थियो । ५ बजेपछि आफन्त पुगे । त्यहाँ पुग्दा ३८ वर्षका भण्डारी अचेल भइसकेका थिए ।
तर उद्दारका लागि गएका आफन्त पुसे खसेको स्थान नपुग्दै बीचै फसे । पुसे भण्डारीको ज्यान गइसकेको छ । अरु उद्दारका लागि गएका आठ जना पनि आइतबार साँझदेखि बीचमै अड्कीएका छन् । तल झर्दा कर्णाली नदी छ । माथि आउन भीर । जता गएपनि जोखिममा उनीहरु छन् ।
उद्दारका लागि सहज हुनेभएपछि ३ जना १२।१३ वर्षका बालबालिका पनि साथमा लिएर गएको देखिन्छ । उनीहरुपनि खानापानी विनै हिजैदेखि भीरमै अड्कीएको भन्छन्, स्वामिकात्र्तिक खापर गाउँपालिका २ का वडा अध्यक्ष विष्णुबहादुर बुढा । पुसे भण्डारी र भीरमा अड्कीएका स्थानीय सबै बुढाकै गाउँका आफन्त हुन् ।
साँझदेखि नै प्रहरीको टोली घटना स्थलमा छ । तर उद्दारको कुनै विकल्प नभएपछि सबैजना जागराम देखिन्छ । भीरबाट खसेको मान्छेको ज्यान गइसक्यो, उद्दारका लागि गएकोहरुको उद्दारमा थप समस्या देखिएको वडाध्यक्ष बुढाले जानकारी दिए । उनका अनुसार हिमाली गाउँपालिकाबाट बोट ल्याउने तयारी भइरहेको छ ।
कर्णालीमा बोट मार्फत उद्दारको तयारी गरिएको छ । त्यो पनि तत्काल उद्दार हुने अवस्था देखिदैन् । भीरमै अड्कीएकाहरु भोकभोकै छन् । पानी समेत खान पाएका छैनन् । रातभरिको चिसोले उनीहरुको स्वास्थ्य पनि कमजोर हुँदै गएको देखिन्छ । भीरमा अड्कीएकाहरुले आफूहरुको उद्दारको अपिल गरिरहेका छन् । डोरी अड्काएर तान्ने अवस्था समेत नरहेको स्थानीयको भनाई छ । उनीहरुलाई पनि कर्णाली नदी किनारमै खसाएर बोट मार्फत नै उद्दार गर्नु पर्ने अवस्था देखिन्छ ।
यता बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले मृतकको शव नदीको खोचमा रहेको र अड्कीएका स्थानीय पनि भीरको बीच स्थानमा रहेकोले हेलिकप्टर मार्फत उद्दारको संभावना नरहेको बताउँछन् । हिजैबाट प्रहरीको उद्दारटोली घटनास्थलमै रहेकोले कर्णालीमा बोट मार्फत शव र अड्कीएका स्थानीयलाई उद्दारको उपाय निकालिएको जानकारी दिए ।
माछा पर्ने सिजन भएकोले यतिबेला स्थानीय कर्णाली नदीमा झरेउलाँ हाल्ने, जाल खेल्ने गर्दछन् । माछा मारेर उनीहरुले दैनिक आम्दानी गर्ने गरेको देखिन्छ । नदीमा जाल खेल्ने क्रममै चिप्लीएर घाइते हुने, ज्यान समेत जाने घटनाहरु वर्षेनी घट्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस