धनगढी : प्रधानमन्त्री केपीशर्मा ओलीको सुदूरपश्चिम भ्रमण पूर्व निर्धारित नै थियो । करिब महिनादिन पहिलादेखि नै प्रधानमन्त्री ओली फागुन २५ गते सुदूरपश्चिम आउने तयारी थालिएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह र प्रदेश सभाको संवोधन कार्यक्रम जुराएर ओलीको भ्रमणको तालिम बनाइएको थियो । संयोग ओली राजधानी बाहिर सुदूरपश्चिम गएकै दिन फरक सन्देश दिने गरि राजधानी काठमाडौंमा पूर्व राजाको भव्य स्वागत गरियो ।
अपेक्षा गरिएका, अनुमान लगाइएका भन्दा बढी जनताको साथ समर्थन सहीत पूर्व राजा ज्ञानेन्द्रलाई हर्षबढाई, अभिनन्दन सहीतको स्वागत गरिएको छ । ओलीको राजधानी बाहिर जाने दिन र पोखरामा रहेका पूर्व राजालाई दरबार भित्र्याउने उद्घोष सहीत स्वागत गर्ने दिन एकै पर्यो । यो संयोग भएपनि पूर्व योजना र राजनीतिक रुपमा फरक सन्देश दिने गरि भयो ।
त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट पूर्व राजाको स्वागत भइरहँदा ओली सुदूरपश्चिम आइसकेका थिए । उनी त्यो बेला सुदूरपश्चिम विश्वविद्यालयको पाँचौ दीक्षान्त समारोहलाई संवोधन गर्दै थिए । शैक्षिक सुधार, विकास र समृद्धिको योजना र सरकारले गरिरहेको काम बारे जानकारी दिँदै थिए । जतिबेला ओली विरुद्ध, वर्तमान सत्ता गठबन्धन विरुद्ध नाराबाजी थियो । काठमाडौंका सडकहरु पूर्व राजाका समर्थनहरुको ठूलो भीडले ढाकेको अवस्था थियो ।
ओली लगत्तै सुदूर पश्चिम प्रदेश सभामा बिशेष संवोधनका लागि धनगढी आए । उनले संवोधनबाटै काठमाडौंको दृश्य बारे सांकेतिक प्रहार गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्रलाई राजनीतिमा आउन चुनौती दिए । संविधान संवद राजतन्त्रको माग भइरहेको बेला ओलीले राजनीतिमा आए स्वागत गर्ने बताए ।
सुदूरपश्चिमको संसदबाट पूर्व राजालाई ओलीको प्रश्न थियो, देश के भएको छ र, बचाउनु राजा चाहियो ? ओलीले भने– ‘राजनीतिमा हो भने ’यु आर वेलकम’ । नत्र संविधान माथि हुने सपना स्वीकार्न नसकिने प्रष्ट सन्देश ओलीको थियो । तर काठमाडौंमा उर्लिएको जनसमर्थनबाट पूर्व राजा र राजावादी हौसियका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज इतिहासकै खुसीको दिन भनेर सामाजिक सञ्जाल फेसबुकमा लेख्न भ्याएका छन् ।
थापा स्वयम विमानस्थल पूर्वराजाको स्वागतका लागि खादा सहीत पुगेका थिए । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देल सहीतको टोली पनि विमान स्थल पुगेको थियो । राजा ल्याउने अभियान चलाइरहेका दुर्गा प्रसाई स्वयम राजाकै शैलीमा ज्ञानेन्द्र शाहको गाडी पछि आफ्नै गाडी हिँडाएर छोटे राजाकै छाँट देखाउन भ्याए । प्रष्ट बोल्न नसकेपछि गणतन्त्रवादीहरुको निद हराम भएकै देखिन्छ ।
सुदूरपश्चिम प्रदेश सभाको १७ औ बैठकलाई सम्बोधन गरिरहँदा ओलीले प्रष्ट बुझीने भाषामा सन्देश दिएपनि राजावादीको समर्थनबारे त्रास सबैनेताहरुको पलाएकै देखिन्छ । फालिसकेको, हटाइसकेको राजतन्त्रलाई बिझाउने कुरा बहसको विषय नै नबन्नु पर्ने हो । त्यसैमा प्रधानमन्त्रीले पूर्वराजाकै बारेमा सिंगो संसदमा बिशेष महत्वका साथ बोलिरहनु नपर्ने हो । त्यही त्रासकै कारण ओलीले बेला बेला बोल्नु पर्ने, जवाफ दिनु पर्ने अवस्था आएको देखिन्छ । त्यसमा काँग्रेस, एमाले र माओवादी सबै दलका नेताहरुलाई बाध्यता आइलागेको छ ।
ज्ञानेन्द्र शाहले गएको ‘फागुन ६ गते देशबासीका नाममा संवोधन गरेका थिए । उनले आफ्नो छोटो संवोधनका क्रममा मलाई साथ दिनुस, म आउछु, देश बनाउछु,समेत भन्न भ्याए । बढ्दो बेरोजगारी, विदेश पलायन जस्ता गतिविधीले युवाहरुमा निराशा बढीरहेको बेला उनीको मागलाई क्याच गर्न पूर्वराजादे बोलेको विषय रणनीति र कुटनीतिक थियो । तर त्यही बोल अहिले राजावादीको चलखेलका लागि प्रयाप्त जस्तै देखिन्छ ।
यही विषयलाई ओलीले आफू आएर बचाउने कुरा गरिराछन्, देश के भएको छ ? भन्दै प्रश्न गरेका थिए । ओलीले ‘यस्ता अस्थिरताका क्रियाकलापहरुले, अराजकताका क्रियाकलापहरुले देशलाई सभ्य ढंगले, सुसंस्कृत ढंगले अगाडि बढ्न दिदैन, रोकिनु पर्ने प्रष्ट सन्देश समेत दिए ।
ओलीले पूर्व राजालाई राजनीति आए स्वागत गरिने बताए । ‘अराजनीतिमा आउने की राजनीतिमा ? राजनीतिमा आउने हो भने युआर वेलकम । स्वागत छ । उम्मेदवार हुनुहुन्छ साथ माग्न हुनुहुन्छ, मजाले माग्न पाईन्छ । तर अराजनीतिक कुरा गरेर देशमा अस्थिरता ल्याउन पाईदैन ।’ प्रधानमन्त्री ओलीको सुदूरपश्चिमको संसदबाट प्रष्ट सन्देश थियो ।
जनसर्मथनलाई देखाएर राजावादीहरुले आफ्नो हैसियत खोज्न थालेका छन् । विदेशी शक्तिको साथ लिएर पुन राजतन्त्र फर्कियोस्, भन्ने चाहना उनीहरुको प्रष्ट देखिन्छ । तर ओलीले भने पूर्वराजा र उनका समर्थकलाई लक्षित गर्दै कडा शब्दमा ‘मनलाई टुक्राटुक्रा पारेर देशलाई विभाजित नगर्न’ भनेका छन् । नरोकिए राम्रो नहुने सन्देश ओलीको छ ।
रिस पोख्न, आक्रोश ओकल्न र केही सस्तो सुविधा भोगका लागि आन्दोलनमा हिँड्नेहरुको बाक्लो उपस्थिति देखिएपनि खुलेआम गरिएको समर्थन र चलखेल गणतन्त्रवादीका लागि चुनौति अवश्य नै हुनेछ । आज पनि पूर्वराजालाई लगेर सिंहासनमा बसाउने भन्ने, नारायणहिटीमा छिराउने भन्ने, के भन्या त्यो ?,’ उनले भने ‘कुर्सीमा लगेर राख्दा शासक हुन्छ मान्छे ?, मानिदिनु परेन ?, अनि राष्ट्रपति रामचन्द्र पौडेलजीलाई के गर्नुहुन्छ उहाँ एउटा कुर्सीमा बसेपछि । ?’ बसाएर मात्रै शासक कोही बन्दैन्, त्यही थाह नभएर व्यवस्था विरोधी गतिविधी गरिनु राम्रो हुदैन्, ओलीले भने ।
प्रधानमन्त्री ओलीले यो देशमा निर्वाचित राष्ट्रपति भएको उल्लेख गर्दै भने, ‘म निर्वाचित भएको छु । प्रतिनिधिसभाको अत्यधिक बहुमतले छानेको प्रधानमन्त्री छु । मैले बनाएको दुई दलको सहमतिको मजबुत सरकार छ । यो केही थाहा पाउनुहुन्न कि उहाँहरू ?’ ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लागेको बताए ।
देशलाई फेरि पछाडि फर्काउने प्रयासहरू पनि देखा परेको प्रधानमन्त्री ओलीले बताए । ‘देशलाई टुक्राटुक्रा पार्ने, जातका नाममा भूगोलका नाममा, अनेक नाममा देशलाई टुक्राटुक्रा पार्ने काम भइरहेको छ,’ उनले भने ‘मनलाई टुक्राटुक्रा पारेपछि देश त यसै विभाजित भएन, टुक्रिएन, जनताको मनलाई भाँड्ने प्रयास भइरहेको छ । मनैदेखि जनतालाई टुक्र्याउन प्रयास भइराख्या छ । यी बाटोहरू सही होइन ।’ रोकिनु पर्छ ।
राजावादी प्रवृत्ति, देशलाई पछाडि धकेल्न खोज्ने प्रवृत्तिलाई देखेर नै कांग्रेस र एमालेको सरकार बनेको समेत प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई ट्य्राकमा लैजाने पनि बताए । प्रधानमन्त्री ओलीले देशमा विग्रेको आर्थिक अवस्थामा सुधार आईरहेको बताए । ‘मैले प्रधानमन्त्री हुुँदाको बेलाको अर्थब्यवस्था नाजुक थियो । गतवर्ष २५ प्रतिसत कम राजश्व संकलन भएको थियो । यो वर्ष ३० प्रतिसत बढी राजश्व संकलन गर्ने लक्ष्य लिएका छौं, अर्थब्यवस्था छिट्टै लयमा आउछ’ उनले भने ।
प्रदेश सभालाई सम्बोधन गर्दै ओलीले यो सरकार २०८४ सालको चुनाव गरेर मात्र ढल्ने बताए । ‘अहिले सरकार आजै ढल्छ भोली ढल्छ, भरे ढल्छ भनेर रमाउनेहरु बढी छन, म के आश्वस्त पार्न चाहन्छु भने यो सरकार ८४ को चुनाव गरेर मात्र ढल्छ ।
उनले अन्तिम १८ महिनाका लागि काँग्रेसले नेतृत्व लिने सहमति भएको बताए । ‘१८ महिनाका लागि शेरबहादुर जि को नेतृत्वमा सरकार चल्छ । उहाँले नै २०८४ सालको चुनाव गराउनुहुन्छ । त्यसपछि कसको सरकार बन्छ ? त्यो कुरा परिणाले देखाउने भयो’ प्रम ओलीले भने ।
प्रदेश सभा सम्बोधन पछि ओलीले संघ सरकारको लगानीमा बनेको धनगढी सिटि हलको पनि उद्घाटन गरेका थिए । नारायणहिटी पुर्याउने उद्घोष गरेका राजावादीले पूर्व राजा ज्ञानेन्द्रलाई नागार्जुन पुर्याउँदा ओली सुदूरपश्चिमबाट आईतबार नै राजधानी फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस