धनगढी : नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले राजतन्त्र फर्काउने हल्लाका पछि नलाग्न आग्रह गरेका छन् । भुकम्प पीडितलाई अनुदान रकम हस्तान्त्रण गर्न डोटी पुगेको लेखकले राजतन्त्रका नाममा भइरहेको होहल्ला काम नलाग्ने बताए ।
लेखक डोटी पुग्दा नेपाल प्रेस युनियनले पत्रकार सम्मेलन आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले पछिल्लो समय राजसंस्था फर्काउनु पर्ने माग गर्दै गरिएका प्रदर्शन र ¥यालीहरुको कुनै अर्थ र प्रभाव नहुने धारणा राखे ।
केही साथीहरुबाट भइरहेको होहल्ला काम लाग्दैन् । त्यो व्यवस्था विरोध र लोकतन्त्र विरोधी अभ्यास हो, अराजकता हो, बढाउन दिनु हुदैन्, उनले भने । गृहमन्त्री लेखकले नेपालमा लोकतन्त्र विरुद्ध पहिलेदेखि नै षडयन्त्र भइरहेकाले त्यसप्रति सजग हुनुपर्ने बताए । गणतन्त्रको विकल्प राजतन्त्र नहुने गृहमन्त्री लेखकको धारणा थियो ।
गृहमन्त्री लेखकले भने, ‘क्रान्तिबाट फालिएको राजा त्यसै देशमा बसेको उदाहरण संसारमा कमै छ । देशभित्र उन्नत लोकतन्त्र भइरहेकाले पूर्वराजा ज्ञानेन्द्र नागरिक सरह नेपालमै बसेर अधिकारहरु उपभोग गरिरहेका छन् ।’ नेपाली समाज निरंकुशताबाट लोकतन्त्रमा आएकाले राजतन्त्र फर्कने भ्रममा नपर्न उनको सुझाव छ । पूर्वराजालाई पार्टी खोलेर खुला राजनीतिमा आउन समेत उनले चुनौती दिएका छन् ।
भुकम्प पीडितको आवास निर्माणको पहिलो किस्ता वापतको अनुदान दिन डोटी पुगेका गृहमन्त्री लेखकले आवास निमार्ण तथा प्रबलीकरण कार्य अगाडि बढिरहेको बताए । देश विभिन्न प्राकृतिक प्रकोप, भूकम्प, बाढी पहिरो, आगलागी, शितलहरबाट जोखिम पूर्ण अवस्थामा रहँदै आएकोमा सुदूरपश्चिम बढी जोखिममा रहेको समेत बताए ।
आवास पुन निमार्ण र प्रबलीकरण कार्य अगाडी बढाएको छ । त्यसका लागि आवश्यक बजेटको व्यवस्थापन, मापदण्ड, नियम कानुन निमार्ण कार्य पुरा गरी देशका तीन स्थानमा इकाई कार्यालय स्थापना गर्ने कार्य अगाडि बढेको समेत उनले बताए ।
केन्द्रमा रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मातहतमा रहने गरी शुक्रवार बझाङमा आज शनिवार अछामको साँफेबगरमा र आइतबार जाजरकोटमा इकाई कार्यालय स्थापना गरिने समेत गृह मन्त्री लेखकले बताए ।
प्रतिक्रिया दिनुहोस