धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकार रहदासम्म आफ्नै नेतृत्वको प्रदेश सरकार तलमाथि नहुने दाबी गरेका छन् । कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवाका भतिजा प्रकाश देउवाले मुख्यमन्त्री बन्न हतारो गरेको चर्चा चलेका बेला शाहले संघमा गठबन्धन सरकार रहेसम्म प्रदेशमा पनि रहने दाबी गरेका हुन् ।
प्रदेश अनुुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको समृद्ध प्रदेश निर्माणमा प्रदेश सभा सदस्यहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले अहिलेकै सरकारले अगामी आर्थिक वर्षको बजेट ल्याउने बताए ।
‘एउटा कुुरा मैले तपाईहरुलाई भन्नैपर्छ । संघमा गठबन्धन सरकार जसरी अगाडी बढेको छ । जुन मितिसम्म त्यो सरकार अघि बढ्छ प्रदेशको सरकार पनि त्यही मिती सम्म अगाडी बढ्छ,’ शाहले भने, ‘त्यसकारण अहिलेकै सरकारले बजेट निर्माण गर्छ । कोही पनि माननीय ज्यूहरु भ्रम र दुुविधामा नरहनुुहोला ।’
शाहले सम्बोधन गरेको उक्त कार्यक्रममा प्रदेश सभाका सांसदहरुको सहभागीता रहेको थियो तर कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा भने उपस्थित थिएनन् । देउवाले मुख्यमन्त्री बन्न हतारो गरेका कारण शाह र उनको सम्बन्धमा चिसोपन आएको छ । स्रोतकाअनुसार देउवाले चैतभित्रै मुुख्यमन्त्री बनेर अगामी वर्षको बजेट समेत आफै निर्माण गर्ने इच्छा राखेका छन् तर मुख्यमन्त्री शाह भने पद छाड्ने पक्षमा छैनन् ।
सोही कारण पनि शाह पछिल्लो समय सार्वजनिक मञ्चमा चर्को सुनिन थालेका छन् । बजेट निर्माणको जिम्मा समेत आफूूहरुकै काँधमा भएको बताउँदै उनले विगतमा उठेका प्रश्नलाई सैद्धान्तिक, कानुनी, व्यवहारिक र राजनीतिक पाटोबाट समाधान खोजिने प्रतिबद्धता जनाएका छन् ।
‘फरक–फरक विचार र सैद्धान्तिक आधार भएका राजनीतिक दलहरुबीच पनि हामीले एउटै आधार निर्माण गरेर अघि बढ्नुपर्ने अवस्था छ । ३१ अर्ब ६० करोडको घाटा बजेट ल्याउनुुपर्ने मेरो बाध्यता थियो,’ शाहले भने, ‘सबै कुरालाई आकलन गरेर प्रक्रिया अघि बढाइएको छ । सुधारका कुराहरु पनि अघि बढाइएका हुन् ।’
तीन तहको सरकारमा आ–आफ्नै राजनीति रहेको बताउँदै उनले आर्थिक वर्ष २०८२-८३ को बजेट निर्माणको बाटोमा प्रवेश गरिसकेकाले विगतमा जस्तो बजेटमा विभेद नगरि सामूहिक रुपमा छलफल गरेर अघि बढ्ने बताए ।
प्रतिक्रिया दिनुहोस